×

रैथाने बाली जोगाउँदै मकवानपुरका स्थानीय तह

images

 


    मनहरी(मकवानपुर), ७ चैत : किसानलाई रैथाने बाली खेतीतर्फ आकर्षित गर्नका लागि मकवानपुरगढी र भीमफेदी गाउँपालिकाले कृषकलाई प्रोत्साहन गर्न थालेका छन् । । 

    रैथाने बाली बिक्री गर्दा पालिकाले थप रकमसमेत दिने गरेको मकवानपुरगढीका अध्यक्ष दोर्जे लामा स्याङतानले बताउनुभयो । किसानलाई नयाँ प्रविधिसँग जोड्न र पुराना खेतीलाई पनि संरक्षण गर्ने गरी कार्यक्रम सञ्चालन गर्दै आएको उहाँले बताउनुभयो । 

    स्वादिष्ट र स्वास्थ्यका लागि फाइदाजनक पुरानो बाली संरक्षण तथा बजारीकरणका लागि बजेट विनयोजन गरेर किसानलाई प्रोत्साहित गर्दै आएको भिमफेदीका अध्यक्ष हिदम लामाले बताउनुभयो । पालिकाले यस्तो अभियान सुरु गरेपछि रैथाने बाली तर्फ उनीहरु आर्कर्षित भएको उहाँको भनाइ छ । 

    मकवानपुरका ग्रामीण क्षेत्रबाट बजार झर्ने बढेपछि रैथाने बाली संरक्षण गर्न नसकिएको जनाउँदै उहाँले यसको संरक्षणका लागि प्रोत्साहन रकम गाउँपालिकाले सहयोग गर्दै आएपछि उनीहरु यो बालीतर्फ आर्कषित भएका बताउनुभयो ।  रैथाने बाली जोगाउनका लागि आफुहरुले बजेट विनियोजन गरेर लागिपरेको उहाँको भनाइ छ । 

    रैथाने बाली जोगाउनका लागि मकवानपुरगढी र भीमफेदी गाउँपालिका मात्र होइन मकवानपुरका अन्य गाँउपालिका पनि लागिपरेका छन् । मकवानपुरको मनहरी गाउँपालिका र बकैया गाउँपालिकाले पनि रैथाने बालीमा जोड दिन थालेका छन् । आधुनिक प्रविधिको विकास र बसाइँसराइका कारण मकवानपुरमा रैथाने बाली संरक्षणमा चुनौती बढेकाले पनि स्थानीय सरकारको पहलमा रैथाने बाली जोगाउन स्थानीय सरकार लागिपरेको बकैयाँका अध्यक्ष धर्मराज लामिछानेले बताउनुभयो । 

    एक दशक अगाडिसम्म मकवानपुरका ग्रामीण क्षेत्रमा खेती हुने कोदो, सिमी, फापर, जौँ लगायतका खाद्य बालीको खेती पछिल्लो समय निकै कम हुने गरेको छ । खेती कम हुन थालेसँगै उत्पादन पनि घटेको छ । यसैले गर्दा पालिका स्तरबाट आफुहरुले यसलाई जोगाउन बजेट विनियोजन गरेको उहाँले बताउनुभयो । 

    रैथाने बालीले बजार र उत्पादनअनुसारको मूल्य नपाउँदा किसान मर्कामा पर्दै आएका थिए । उन्नत जातका खाद्य बाली फस्टाउन थालेपछि कृषकले पनि रैथाने बालीको खेती गर्न छाड्दै गएका हुन् । परम्परागत बाली गाउँका पाखो बारीमा उत्पादन हुने गर्थे । पछिल्लो समय ती बाली उत्पादन हुने बारी वनमाराले ढपक्क ढाकिएका छन् । खेती भइरहेका बारीमा पनि फलफूललगायत अन्य नगदेबाली लगाइएको छ ।

बुधबार ७ चैत २०८० ११:५९ AM मा प्रकाशित

प्रतिक्रिया