×

संयुक्त राष्ट्रसङ्घले सन् २०२४ मा पृथ्वीको तापक्रम थप वृद्धि हुने चेतावनी

images

काठमाडौं । संयुक्त राष्ट्रसङ्घले सन् २०२४ मा पृथ्वीको तापक्रम थप वृद्धि हुने चेतावनी दिएको छ । राष्ट्रसङ्घको विश्व मौसम विज्ञान सङ्गठन, डब्ल्युएमओको प्रारम्भिक प्रतिवेदनले सन् २०२३ हाल सम्मकै तातो वर्ष रहेको पुष्टि गरेको छ । गत वर्ष नजिकको सतहको औसत तापक्रम पूर्वऔद्योगिक स्तरभन्दा एक दशमलव ४५ डिग्री सेल्सियस बढी रहेको डब्ल्युएमओले बताएको छ । यो एक दशमलव पाँच डिग्री सेल्सियसको सीमा नजिक हो ।

सन् २०१५ को पेरिस जलवायु सम्मेलनका सहभागी मुलुकहरू एक दशमलव पाँच डिग्री सेल्सियसको सीमाबाट बच्न सहमत भएका थिए । “सन् २०२४ ले सन् २०२३ को रेकर्ड तोड्ने उच्च सम्भावना रहेको डब्ल्युएमओका जलवायु अनुगमन प्रमुख ओमान बद्दुरले बताए। राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले पृथ्वी सङ्कटमा रहेको सङ्केत गर्दै जीवाष्म इन्धन प्रदूषणले जलवायु अराजतकता निम्त्याएको बताएको छ । डब्ल्युएमओको केन्द्रीय कार्यालय रहेको स्विट्जरल्यान्डले विगत दुई वर्षमा आफ्नो अल्पाइन हिमनदीहरुको १० प्रतिशत मात्रा गुमाएको छ । अन्टार्कटिका समुद्रमा पनि बरफको मात्रा सबैभन्दा कम रेकर्ड भएको थियो ।

जलवायु परिवर्तनले बाढी, पहिरो, जैविक विविधतामा क्षति, खाद्य असुरक्षाजस्ता चरम मौसमी घटना तथा समस्याहरू निम्तिरहेका छन् । विश्वभर खाद्य असुरक्षित मानिसको सङ्ख्या दोब्बरले बढ्दै गइरहेको छ । यो सङ्ख्या कोभिड–१९ अघि १४ करोड १९ लाख थियो भने सन् २०२३ को अन्त्यमा ३३ करोड ३० लाख पुगेको पनि डब्ल्युएमओले जनाएको छ । डब्ल्युएमओले बढ्दै गरेको नवीकरणीय ऊर्जा उत्पादनलाई भने आशाको किरणका रूपमा प्रस्तुत गरेको छ । सन् २०२२ को तुलनामा गत वर्ष नवीकरणीय ऊर्जा उत्पादन क्षमता– विशेषतः सौर्य, वायु र जलविद्युत्मा ५० प्रतिशतले वृद्धि भएको थियो ।

बुधबार ७ चैत २०८० ११:४६ AM मा प्रकाशित

प्रतिक्रिया