×

लघुकथा- आमा

images

‘ह्याप्पी बर्थडे आमा ! आज तपाईंको जन्मदिन । शुभकामनाको केही शब्द सहित तपाईको फोटो फेसबुकमा राखेको छु । मेरा साथीहरु र केही आफन्तहरुले लाइक र कमेन्ट गर्ने छन् ।’ एक एनआरएनले फोनबाट आमालाई भन्यो ।  ‘फेसबुक भनेको के हो बुझ्दिन बाबु । यता बृद्धाश्रममा पनि मेरो जन्मदिन मनाए ।’ आमाले सुनाइन् ।

बृद्धाश्रमको नाम सुन्ने बित्तिकै मुख अँध्यारो पारेर फोन काट्यो । र आमाको बर्थ भनेर बोलाएको पार्टीमा साथीहरुसँग रमाउन थाल्यो । आधारातमा नाचगान र खानपिन सकिएपछि सिधै ओच्छ्यानमा लम्पसार पर्यो । ‘तँ बाबु नभएको टुहुरो । तरुनी उमेरमै विधुवा भएकी म अवला  । तँलाई गाँस काटेर खुवाएँ । सामान्य मजदूरी गर्दै हुर्काएँ । गरगहना बेचेर पढाएँ ।

सम्पत्तिको नाममा रहेको सानो घर बैंकमा धितो राखेर अमेरिका पठाएँ । उतै बिहे गरिस् । छोराछोरी जन्माइस् । उतै रमाईस् । बैंकले घर लिलाम गरेपछि मैले बृद्धाश्रममा शरण लिनु परेको छ । वर्षमा एकपटक मेरो जन्मदिनमा बृद्धाश्रममा फोन गर्छस् । तेरो आवाज सुनेर खुसी हुन्छु । भगवानले मेरो बाँकी आयु पनि तलाईं थपिदिउन् ।’ उक्त आवाज सुनेपछि आमा....ऽऽऽ भनेर चिच्यायो ।

उ चिच्याएको सुनेर के भयो भन्दै सँगै सुतेकी श्रीमती जुरुक्क उठी । ‘केही भएको छैन । सपना देखेर आत्तिएको हुँ ।’ लामो सास तानेर भन्यो ।  ‘भर्खर सुतेको थिएँ । निद्रा कचमचियो । सुतौं अब ।’ यति भनेर श्रीमती कोल्टे फर्केर सुती । तर उसलाई निद्रा लागेन । त्यसपछि आमालाई जन्मदिनको उपलक्ष्यमा दिएको शुभकामनामा कति जनाले ‘लाइक’ र ‘कमेन्ट’ गरे भनेर गन्ती गर्न फेसबुक खोल्यो । 

अपसोच ! उसले आमालाई जन्मदिनको शुभकामना लेखेको तलतिर ‘कमेन्ट बक्स’मा साथीहरु र आफन्तहरुले आमालाई हार्दिक श्रद्धाञ्जली, समवेदना आदि लेखेका शोक सन्देशहरु मात्र देख्यो । आत्तिदै आमा....ऽऽऽ  भनेर फेरि चिच्यायो । त्यसपछि उ बेहोस भयो ।  

                                                                                                                                                                                                     बेलायत  
 

शुक्रबार​ ६ माघ २०७९ ०४:५७ PM मा प्रकाशित

प्रतिक्रिया