काठमाडौैं । नेपाली कांग्रेसले उपसभामुख पदमा मुक्ताकुमारी यादवलाई उम्मेदवार बनाउने तयारी गरेको छ । यादवलाई उप सभामुखको उम्मेदवार बनाउन लागिएको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।
सभापति शेरबहादुर देउवा निवासमा शुक्रबार विहान बसेको शीर्ष नेताहरुको बैठकले यादवको नाममा सहमति गरेको थियो । धनुषाकी यादव समानुपातिक सांसद हुन् । १४ औं महाधिवेशनमा यादवले केन्द्रीय सदस्यमा सर्वाधिक मत ल्याएकी थिइन् । संसद सचिवालयले उपसभामुखको मनोनयन दर्ता गर्ने समय शुक्रबार तोकेको छ। उपसभामुखको चुनाव भोलि हुँदैछ ।
यसअघि कांग्रेसले सभामुखमा ईश्वरी न्यौपानेलाई उम्मेदवार बनाएको थियो । विपक्षी गठबन्धनमा सम्बद्ध एकीकृत समाजवादी, लोसपा र राष्ट्रिय जनमोर्चासँग महिला सांसद नभएकाले कांग्रेसले नै उपसभामुखमा उम्मेदवारी दिन लागेको हो । सभामुखमा घिमिरे निर्वाचित भएकाले महिला नै उम्मेदवार बनाउनुपर्ने अवस्था छ । त्यसलाई मध्यजर गरी कांग्रेसबाटै उम्मेदवार खडा गरिएको ती पदाधिकारीले बताए ।
प्रतिक्रिया