×

मुम्बईमा नेपाललाई १० स्वर्ण, नानुलाई एमएमए बेल्ट

images

भारतको मुम्बइमा सम्पन्न अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा नेपालले १० स्वर्ण र २ रजत पदक प्राप्त गर्न सफल भएको मुम्बइबाट प्रतियोगिता रेफ्रि एवं नरहरीपुर डोजो, मच्छेगाउँका प्रशिक्षक रविन्द्र मानन्धरले जानकारी गराएका छन् ।

मिक्स मार्सल आर्ट फेडेरेशन इन्डियाको आयोजनामा पौष ३ गते सम्पन्न च्याम्पियनसिपमा नेपालकी नानु शाक्यले वेष्ट अफ द वेष्ट फिमेल फाइटको उपाधी सहित मिक्स मार्सल आर्टको एमएमए बेल्ट प्राप्त गर्न सफल भएको टोली नेता समेत रहेका मानन्धरले जानकारी गराए ।

नेपालले राजकुमार श्रेष्ठ, अमृत थोकर र मनिष कार्की सम्मिलित पुरुष टिम काता तर्फ स्वर्ण जित्न सफल भएको हो । पुरुष तर्फ टिममा स्वर्ण जित्न सफल अमृत थोकरले ५५ केजी कुमिते र मनिष कार्कीले जुनियर ब्यक्तिगत कातामा स्वर्ण जित्न सफल भएका थिए ।

यसै गरि श्रीजना महतारा, नानु शाक्य र सञ्जु देसार सम्मितिल टोलीले नेपालका लागि महिला टिममा पनि स्वर्ण जिते । श्रद्धा थापाले सिनियर काता तथा ६१ केजी कुमिते तर्फ स्वर्ण जितिन् । श्रीजना महताराले क्याडेट ब्यक्तिगत कातामा स्वर्ण तथा ५५ केजी कुमिते तर्फ रजत जोडिन् ।

नानु शाक्यले ५० केजी कुमितेमा स्वर्ण र जुनियर ब्यक्तिगत कातामा रजत प्राप्त गरिन् । नेपालका लागि स्वर्ण जोड्ने क्रममा टिममा स्वर्ण प्राप्त गरेकी सञ्जु देसारले जुयिनर ब्यक्तिगत काता र ४५ केजी कुमितेमा पनि स्वर्ण जित्न सफल भईन् ।

नेपालको टिम प्रशिक्षकमा राकेश श्रेष्ठ र ब्यवस्थापकमा सानुभाई थापा मगर रहेका थिए । च्याम्पियनसिपमा नेपाल, भारत र रशियाका गरि ४२५ खेलाडीहरुको सहाभागिता रहेको थियो ।
सोहि प्रतियोगिताका दौरान भएको प्रशिक्षक सेमिनारमा नेपाली करातेका बरिष्ठ प्रशिक्षक हिरा सिंह डङ्गोलले भारतका सिनियर तथा जुनियर प्रशिक्षकहरुलाई प्रशिक्षण प्रदान गरेको मुम्बईबाट प्रशिक्षक डङ्गोलले जानकारी गराए ।

सोमबार ४ पुस २०७९ ०९:४८ PM मा प्रकाशित

प्रतिक्रिया