×

निर्वाचन सुरक्षा : मतदान केन्द्रलाई गुगल म्यापबाट निरीक्षण गरिने

images

तौलिहवा। यही मङ्सिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित बनाउन कपिलवस्तुका सबै मतदान केन्द्रलाई गुगल म्यापबाट निरीक्षण गरिने भएको छ । जिल्लाको २३५ वटै मतदान केन्द्रलाई गुगल म्यापमा राखिएको छ ।

जिल्ला सुरक्षा समितिले निर्वाचनलक्षित विशेष सुरक्षा योजना बनाउँदै २३५ वटा मतदान स्थल र ४७३ वटै केन्द्रलाई गुगल म्यापमा राखेको हो । नेपाली सेनाका प्राविधिकको सहयोगमा जिल्लामै पहिलो पटक कायम गरिएका मतदान स्थललाई गुगल म्यापमा राखिएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बताए ।

उनले ढुक्कसँग मतदान अधिकृत र कर्मचारीलाई कार्यस्थलमा खट्न निर्देशन दिइएको बताए । शान्ति सुरक्षाको स्थिति बलियो बनाइएको उनको भनाइ छ । उनले भने, “हरेक मतदान केन्द्रमा सूचना पाएको १० मिनेटमै सुरक्षाकर्मीको टोली पुग्ने गरी प्रबन्ध गरिएको छ ।” गुगल म्यापका आधारमा सुरक्षाकर्मीलाई खट्न सजिलो हुने उनको भनाई छ ।

म्यादी, प्रहरी, नेपाली सेना तथा राष्ट्रिय अनुसन्धानका कर्मचारी परिचालित भइसकेका छन् । जिल्लामा करिब पाँच हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । सुरक्षा स्थितिलाई हेरेर २८ मतदान स्थललाई अति संवेदनशील, १०७ लाई संवेदनशील र बाँकीलाई सामान्यमा वर्गीकरण गरी सुरक्षा व्यवस्था मिलाइएको आजको गोरखापत्र दैनिकमा खवर छ ।

शनिबार ३ मंसिर २०७९ ०६:५३ AM मा प्रकाशित

प्रतिक्रिया