×

गठबन्धनको शीर्ष नेतृत्वद्वारा ओलीको खरो आलोचना

images

काठमाडौं । नेपाली कांग्रेस, माओवादी र नेकपा (एकीकृत समाजवादी)सहितको गठबन्धनले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रवृतिको खरो आलोचना गरेका छन् । मंगलबार लललितपुरमा संयुक्त चुनावीसभामा गठबन्धनका शीर्ष नेताहरूले ओलीको अलोकतान्त्रिक, असंवैधानिक र प्रतिगमनकारी कमदका विरुद्ध अग्रगनका पक्षपातीहरू एक ठाउँमा उभिएको बताउँदै प्रतिपक्ष गठबन्धनप्रति आक्रोश व्यक्त गरेका थिए ।

चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको रक्षा र आर्थिक समृद्धिका लागि सत्ता गठबन्धनका उम्मेदवारहरूलाई मतदान गर्न आग्रह गरे । उनले पूर्वप्रधानमन्त्री ओलीले दुई–दुई पटकसम्म संसद् भंग गरेर संविधान मिच्ने काम गरेको र आवधिक निर्वाचनको चक्रलाई समेत मिच्न खोजेको आरोप लगाउँदै भने– ‘जनताले चुनेको संसद्लाई मनपरी गरेर भंग गर्न मिल्दैन ।

यो–यो अवस्थामा बाहेक संसद् भंग गर्न पाइँदैन भन्ने व्यवस्था हामीले गरेका थियौं । राति २ बजे राष्ट्रपतिलाई उठाएर संसद् भंग गर्ने ओली नै अहिले तीनै जनतामाझ मत माग्न जानु लाजको विषय हो ।’ रातारात राष्ट्रपतिकहाँ जानु आवश्यक नभएको टिप्पणी गर्दै देउवाले भने, ‘त्यही काम बिहान ६/७ बजे गरेको भए पनि हुन्थ्यो । लहडमा भंग गरिदिनुभयो । लहडमा उहाँले के गर्नुहुन्छु, के गर्नुहुन्न के थाहा?’

प्रधानमन्त्री देउवाले पूर्वप्रधानमन्त्री ओलीले दुई वर्षअघि नै संसद् विघटन गरेर संविधान र लोकतन्त्रलाई मास्ने प्रयास गरेको आरोप लगाउँदै भने– ‘अहिलेको यो संविधान राम्रो संविधान छ, यो संविधान बचाएर सबैले मिलेर देशको विकास गर्नुको विकल्प छैन । अहिले गठबन्धन छ, जहाँ जो उम्मेदवार छ, त्यहीँ भोट हालौँ । जहाँ रूख छ, त्यहाँ हालौं । कलम भए पनि हालौँ, हँसिया हथौडा भए पनि हालौं ।’ अहिले सत्ता गठबन्धन राम्रोसँग चलिरहेको र चुनावपछि पनि गठबन्धनकै सरकार बन्ने विश्वास व्यक्त गर्दै उनले गठबन्धनलाई स्थायी लोकतन्त्र, शान्ति र विकासका लागि मतदान गर्न आग्रह गरे ।

सोही कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले एमाले नेतृत्वमा राजावादी, अलगाववादी र देशलाई विखण्डन गर्न चाहनेको प्रतिगमनकारी गठबन्धन भएको आरोप लगाए । सत्ता गठबन्धनले चुनावी तालमेल गर्ने भन्नासाथ प्रतिपक्षीले अपवित्र गठबन्धन गरेको टिप्पणी गर्दै दाहालले भने– ‘केपी ओलीसँगको गठबन्धनमा राजावादीहरू, अलगाववादीहरू, देशलाई विखण्डन गर्न चाहने तत्वहरू र प्रतिगमनकारीहरूको गठबन्धन प्रष्ट देखिएको छ ।’ नेपाल समाचारपत्र दैनिकबाट

बुधबार २ कात्तिक २०७९ ०८:३६ AM मा प्रकाशित

प्रतिक्रिया