×

आज विश्व फोटोग्राफी दिवस, नेपालमा पनि मनाइँदै

images

काठमाडौँ । आज विश्व फोटोग्राफी दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइँदैछ । प्रत्येक वर्ष अगस्त १९ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । नेपालमा भने सन् २०१० बाट मात्रै औपचारिक रुपमा यो दिवस मनाउन थालिएको हो । यस बर्षको 

विश्व फोटोग्राफी दिवसको नारा 'मेरो मनपर्ने तस्बीर' रहेको छ । 

हजारौँ शब्दले भन्न नसक्ने कुरा एउटै तस्बिरले प्रस्ट पारिदिन्छ’ सम्भवतः यो विश्वविख्यात अवधारणालाई पछ्याउँदै पत्रकारितामा फोटोको प्रयोग व्यापक हुँदै आएको हो । पछिल्लो समय नेपालमा पनि फोटो पत्रकारिताको विकास हुँदै गएको पाइन्छ । संसारलाई बुझ्न फोटोग्राफीले निकै सहज बनाएकोले यसको सुरुआत भएको दिनलाई विशेष रूपमा स्मरण गर्दै मनाउने गरिन्छ ।

इतिहास: 

फोटोग्राफी क्यामेराको जननी मानिने ‘क्यामेरा अब्स्क्युरा’ बाट सुरु भएको थियो । विश्वमा श्यामश्वेत छविचित्र अनि फोटो ट्रान्समिटरका ती उदेकलाग्दा पर्खाइ छिचोल्दै फोटोग्राफी हरेक मान्छेको पहुँचमा आइपुगेको छ । विश्वमा फोटोग्राफीसम्बन्धी कल्पनाको उदय भएको झन्डै दुई सय वर्ष हुँदा फ्रान्समा यस क्षेत्रमा निकै अनुसन्धान र प्रयोगहरू भएका थिए । अँध्यारो कोठामा झ्यालढोकाको मसिनो प्वालबाट बाहिरको घामको किरण छिरेपछि उत्पन्न आकृति देखेका वैज्ञानिकहरूले ती आकृति सधैँका लागि कैद गर्ने प्रयासमा लागे । 

यसैबीच, सन् १८२६ मा जोसेफ निसेफोर नियप्सले आफ्नो घरको कौसीबाट देखिने दृश्यको फोटो करिब आठ घण्टा लगाएर खिचे । त्यही फोटो विश्वको पहिलो फोटोग्राफिक आकृति बन्यो । अस्पष्ट देखिने त्यो फोटोमा केही आकार र प्रकार मात्र देखिन्छ । पछि आएर सन् १८३८ मा लुइस डेगुरेले अझ प्रस्ट देखिने फोटोको आविष्कार गर्न सफल भए । त्यसबेलाको फोटो अहिलेको झैँ स्थायी रूपमा रहिरहने खालको थिएन । त्यो कालखण्डमा तस्बिर खिच्न आठ घण्टा लाग्थ्यो ।

सन् १८३९ मा मात्र व्यावहारिक रूपमा सफल फोटोको आविष्कार भयो । त्यसबेला खिचिएको सडकको दृश्यचित्रलाई प्रथम प्रस्ट चिनिने आकृतिसहितको सही फोटो मान्न सकिन्छ । वीरशमशेरका पालामा डम्बरशमशेरले नेपालमा फोटोग्राफीको सुरुआत गरेको मानिन्छ । बालकृष्ण समका छोरीपट्टिका नाति नवीनप्रकाशजङ्ग शाहका अनुसार, डम्बरशमशेरलाई वीरशमशेरले पुरस्कारस्वरूप बेलायत र जर्मनीबाट जति पनि सामान भन्सार छुट गरी झिकाउने सुविधा दिएका थिए । त्यो बेलादेखि सुरु भएको नेपाली फोटोकारिता अहिले धेरै अगाडि बढिसकेको छ । यसमा नेपालका धेरै फोटोग्राफरहरूको महत्वपूर्ण भूमिका छ ।

 

मङ्गलबार ३ भदौ २०८२ ०९:३६ AM मा प्रकाशित

प्रतिक्रिया