×

काठमाडौँको कार्यक्रममा प्रचण्डको आक्रोश: 'देश विवेक र विचारले होइन, आवेग र निरङ्कुशताले चल्दैछ'

images

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान राज्यसत्ता र सरकारको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्नुभएको छ । शनिबार काठमाडौँमा आयोजित एक सार्वजनिक समारोहलाई सम्बोधन गर्दै उहाँले देशमा लोकतान्त्रिक मूल्य-मान्यता र विधिको शासनलाई मिच्दै निरङ्कुशता तर्फ लैजाने प्रयास भइरहेको आरोप लगाउनुभयो ।

विशेष गरी पछिल्ला केही दशकमा भएका परिवर्तन र सुशासनका कामहरूलाई अवमूल्यन गर्ने गिरोहहरू सक्रिय भएको उहाँको दाबी छ।

'३५ वर्षमा केही भएन भन्नु राजनीतिक अराजकता'

संयोजक प्रचण्डले विगतका वर्षहरूमा सुशासन, पूर्वाधार विकास र सामाजिक न्यायका क्षेत्रमा भएका ऐतिहासिक कामहरूलाई पूर्ण रूपमा नकार्ने प्रवृत्ति बढेको उल्लेख गर्नुभयो । “विगतका वर्षहरूमा देशमा सुशासन र विकासका क्षेत्रमा केही पनि काम भएन भन्दै भ्रम छर्ने विवेकहीन, अराजक र निरङ्कुश प्रवृत्ति राज्यमा हाबी भएको छ,” वर्तमान राजनीतिक परिदृश्यप्रति लक्षित गर्दै उहाँले भन्नुभयो।

उनले इतिहासको जगमा उभिएर मात्रै समृद्धिको यात्रा तय गर्न सकिने भन्दै राजनीतिक नेतृत्व र राज्य सञ्चालकहरूमा विचार र सिद्धान्तभन्दा आवेग र पूर्वाग्रह बढी हाबी भएको टिप्पणी गर्नुभयो।

सुशासनको पक्षमा उभिँदा सरकारबाट हटाइएको दाबी

सम्बोधनका क्रममा पूर्वप्रधानमन्त्री प्रचण्डले आफू नेतृत्वको अघिल्लो सरकारले चालेका सुशासनका कदमहरूको स्मरण गर्नुभयो। उनले आफ्नो कार्यकालमा भ्रष्टाचार विरुद्ध, बेथिति र तस्करीका विरुद्ध कडा अभियानहरू सञ्चालन गरिएको दाबी गर्नुभयो।

तर, ती सुशासनका फाइलहरू खुल्न थालेपछि र शक्तिशाली भ्रष्टाचारीहरू कानुनी दायरामा आउने डरले ठुला दलहरू मिलेर आफ्नो सरकारलाई अपदस्थ गरेको उहाँले जिकिर गर्नुभयो। “हाम्रो नेतृत्वको सरकारले भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षमा देशभरी महाअभियान चलाउँदा अत्तालिएका तत्त्वहरूले हामीलाई सरकारबाट बाहिरिन बाध्य पारे,” प्रचण्डले थप्नुभयो।

बृहत् मोर्चा र आन्दोलनको चेतावनी

पछिल्लो समय देशमा प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप, प्रतिपक्षको आवाज दबाउने हर्कत र कानुनी शासनको उपहास भइरहेको भन्दै प्रचण्डले यसका विरुद्ध आफ्नो पार्टी मूकदर्शक बनेर नबस्ने चेतावनी दिनुभएको छ। संविधान, सङ्घीय लोकतान्त्रिक गणतन्त्र र नागरिक स्वतन्त्रता रक्षाका लागि समान विचार राख्ने शक्तिहरूसँग मिलेर बृहत् मोर्चा बनाउने र आवश्यक परे सडक आन्दोलनमा जाने तयारी भइरहेको समेत उहाँले सङ्केत गर्नुभयो।


शनिबार २२ कात्तिक २०८३ ०४:३३ PM मा प्रकाशित

प्रतिक्रिया