काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं प्रतिनिधि सभा सदस्य जनार्दन शर्माले बजेटले ठूला कुर्सीमात्रै देखेको टिप्पणी गरेका छन् । आज (बिहीबार) प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले मन्त्रीहरुको निर्वाचन क्षेत्रमा मात्रै बजेट खन्याएर अन्यत्र चारो छरेको जस्तोमात्रै गरिएको बताएका हुन् ।
बजेटको असमान वितरणको संकेत गर्दै उनले भने, ‘यो बजेटले ठूला कु्र्सीमात्रै देख्यो । ठूला कुर्सी देख्यो, ठूला कुर्सीलाई मात्रै बजेट हाल्यो । अन्त त यसो चारो छरेको त हो । मुख्य बजेट ठूला कुर्सीहरुमा केन्द्रीत भएको छ ।’
साथै, नेपाली कांग्रेसका स्वर्गीय नेता गणेशमान सिंह सबैको सम्मानित र आदर्श नेता रहेको उनले बताए । आदर्श व्यक्तिको नाममा सरकारले योजना बनाएर दुरुपयोग र अपमान गरेको उनको आरोप छ ।
बजेटले औद्योगीकरणलाई प्रोत्साहित गर्न नसकेको, स्वास्थ्य र शिक्षाको क्षेत्र विकराल रहेको उनले बताए । उपमहासचिव शर्माले अहिले गरिबले उपचार गर्नसक्ने अवस्था नरहेको र सरकारी अस्पतालमा उपचारको पालो पाउन गाह्रो रहेको बताए ।
प्रतिक्रिया