×

अन्नपूर्णमा आरोही आउन थाले

images


म्याग्दी, ६ चैत : म्याग्दीस्थित अन्नपूर्ण प्रथम हिमाल आरोहणका लागि पर्वतारोहीको टोली आउन थालेका छन् । 

    बसन्त याममा आठ हजार ९१ मिटरको अन्नपूर्ण हिमाल आरोहणका लागि आएका चार आरोहीसहितको टोली आज आधार शिविर पुगेको छ । जङ्गे अल्टिच्युडमार्फत आएका उनीहरु म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाबाट हेलिकप्टर चढेर आधार शिविर गएका स्थानीय पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले जानकारी दिनुभयो । 

    “यो यामको पहिलो टोली आधार शिविर पुगेको छ,” उहाँले भन्नुभयो, “म्याग्दीमा रहेको धवलागिरि हिमाल चढ्ने टोली पनि केही दिनमा आउदैछन् ।” अष्ट्रेलिया, स्विजरल्यान्ड, बेलायत र युक्रेनका एक÷एकजना आरोही शेर्पा र सहयोगीको टोलीसहित आधार शिविर पुगेका हुन् । 

    अन्नपूर्ण प्रथम हिमाल अन्नपूर्ण–४ नारच्याङको भूगोलमा पर्छ । गत बसन्त याममा पाँच समूहका ५४ जनाले अन्नपूर्ण हिमाल आरोहणको अनुमति लिएका थिए ।  शरद्याममा भने कसैले पनि अन्नपूर्ण आरोहण गर्ने अनुमति नलिएका पर्यटन विभागले जनाएको छ । 

    यसपालि अष्ट्रेलियन पर्वतारोही एली पेपरले अक्सिजनबिना अन्नपूर्ण हिमाल चढ्ने तयारी गर्नुभएको छ । सन् २०२६ भित्र बिना अक्सिजन विश्वका आठ हजार मिटर अग्ला १४ हिमाल आरोहण गर्ने एलीको लक्ष्य रहेको छ । 

    सेभेन समिट ट्रेक्समार्फत बिना अक्सिजन अन्नपूर्ण हिमालको आरोहण गर्न लागेकी पेपरले सन् २००७ मा तिब्बतको माउन्ट चोयु हिमाल बिनाअक्सिजन आरोहण गर्नुभएको थियो । पेपरले सन् २०२३ को जुलाई १५ मा ब्रोडपिक र सन् २०२३ को सेप्टेम्बर २८ मा मनास्लु हिमालको सफल आरोहण गर्नुभएको थियो ।  

    विश्वमा हालसम्म छजना आरोहीले मात्र बिना अक्सिजन आठ हजार मिटरभन्दा अग्ला १४ हिमालको सफल आरोहण गरिसकेका छन् । फ्रान्सेली नागरिक मौरिस हर्गोजले सन १९५० जुन ३ मा अन्नपूर्ण प्रथम हिमालको पहिलोपटक आरोहण गरेका थिए । अन्नपूर्ण आठ हजार मिटरभन्दा अग्लो पहिलो मानव पाइला परेको जेठो हिमाल हो । 

    विसं २०६८ मा नारच्याङका अगुवाहरुले पहिचान गरेको नारच्याङ–अन्नपूर्ण आधार शिविर जोड्ने पदमार्ग प्रथम आरोही मौरिजका नाममा नामकरण गरिएको छ । नारच्याङबाट दोस्रो दिनमै आधार शिविर पुग्न सकिन्छ । 

मङ्गलबार ६ चैत २०८० ०४:१७ PM मा प्रकाशित

प्रतिक्रिया