×

माधवलाई नेता तथा कार्यकर्ताले मरेको लासलाई जुम्रा, उपियाँले छाडेको जसरी नै छाडछन-एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ

images

काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले पार्टीभित्र अन्तर्घातको शृङ्खला बढ्दै गएको बताएका छन् । सञ्चार तथा सुचना प्रविधिमन्त्री एवं सरकारको प्रवक्ता समेत रहेका गुरुङले पार्टीभित्र अन्तर्घातीहरु छ्याप्छ्याप्ती रहेको बताएका हुन् । उनले भीडमा हिड्दा अहिले अन्तर्घातीहरु कुमकुममा ठोकिने गरेको टिप्पणी गरे ।

‘चुनावमा आफूले टिकट पाएन भने आफ्नो पार्टीको उम्मेदवारलाई हराउन लाग्ने अहिले हाम्रो पार्टीभित्र छ्याप्छ्याप्ती पाइन्छ । हुलमा हिँड्यो भने त्यस्ता अराजक मान्छेहरु कुमकुमा ठोकिन्छन् । संगठनभित्र यस्तो भएपछि चुनाव जितिन्छ ? आजको हाम्रो सबैभन्दा ठूलो लडाइँ त चुनाव हो । त्यो चुनावमा हामीले जनताको अभिमत पाएर मात्र राजकीय र शासकीय सत्ता प्राप्त गर्न सक्छौं । शक्ति र सत्ता त्यहीनेर छ । जनताले विश्वास गरेनन् भने के हुन्छ । या जनताले गरेको विश्वासलाई हामीले सुरक्षित राख्न सकेनौं भने वा हाम्रो आफैंभित्रको अराजकताले जनताले प्रदान गरेको विश्वासलाई पुँजीकृत गर्न सकेनौं भने हाम्रो हार निश्चित छ,’– उनले भने ।

साथै, उनले आज मोहन विक्रम, नारायणमान विजुक्छेको पछाडि मान्छेहरु नलागेको जस्तै गरी अब माधव नेपालको पछि पनि कोही मान्छे नलाग्ने उनको दाबी छ । माधवलाई नेता तथा कार्यकर्ताले मरेको लासलाई जुम्रा, उपियाँले छाडेको जसरी नै छाड्ने उनको टिप्पणी छ ।

साथै, पार्टीभित्र अहिले संकीर्णवादी विचारको रहेको पनि उनले बताए । पार्टीमा कांग्रेस, राप्रपा, माओवादीबाट कुनै मान्छेलाई ल्याउनै नचाहने र ल्याइहाले पनि यथोचित जिम्मेवारी नदिने प्रवृत्ति बढ्दै गएको उनले बताए । एमालेले आफूलाई मात्रै शुद्ध ठान्न नहुने उनको सुझाव छ । ‘अहिले हाम्रो पार्टीमा एउटा विचार छ, त्यो संकीर्ण विचार हो, त्यो पनि दक्षिणपन्थी अवसरवादतिर लैजाने विचार हो । त्यो के भन्दाखेरी अरु पार्टीका मान्छेहरुलाई किन ल्याउने ? हामी सबैभन्दा राम्रो पार्टी, कांग्रेसलाई ल्यायो भने त्यसले पार्टीलाई खत्तम पार्र्छ, राप्रपा त झन ल्याउनै हुँदैन, माओवादीलाई किन ल्याउने ? यतिधेरै भ्रष्ट भइसकेको छ । आफूलाईमात्रै शुद्ध ठान्ने, अरुलाई ल्याउन नचाहने, ल्याउँदाखेरी पनि यथोचित जिम्मेवारी नदिने, हेपिराख्ने, पूर्वाग्रह राखिराख्ने यो संकीर्णवादले आजको कम्युनिष्ट आन्दोलन कमजोर बनाएको छ,’– उनले भने ।

बुधबार ७ फागुन २०८१ ०८:३५ PM मा प्रकाशित

प्रतिक्रिया