×

उच्च ओहदामा बसेका सवै व्यक्तिको सम्पत्ति छानविन गर्नुपर्छ : ज्ञानेन्द्र शाही

images

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले सरकार पक्षको मात्र नभई प्रतिपक्षको पनि कुरा सुन्ने सांसद चाहिएको बताएका छन् । बिहीबार प्रतिनिधिसभामा सभामुखका उम्मेदवार नेकपा एमालेका देवराज घिमिरेलाई समर्थन गर्दै उनले सभामुखले प्रतिपक्षको कुरा पनि सुन्नुपर्ने बताएका हुन् ।

 सांसद शाहीले २०४७ सालपछि उच्च ओहदामा बसेका सबैको सम्पत्ति छानविन यहि सदनले गर्नुपर्ने बताए ।  प्रतिनिधिसभामा बोल्दै शाहीले अहिले पनि भ्रष्टाचारका कुरा धेरै गरिए पनि काम गरेर देखाउनुपर्ने बताए । ‘अहिले पनि हामीले भ्रष्टाचारका धेरै कुरा गरिरहेका छौ । २०४७ सालदेखि अहिलेसम्म उच्च ओहदामा बसेका सबै सार्वजनिक पद धारण गरेका व्यक्तिहरुको सम्पत्ति छानविन यही सदनबाट गर्नका लागि सभामुखले सहयोग गर्नुहुनेछ भन्ने आशा गर्छु’ शाहीको भनाइ छ ।


उनले वर्तमान संविधानको काम नभएको पनि बताए । ‘आज हामीले बनाएको संविधान जनताका दैनिक जीवनसँग जोडिए कि जोडिएनन् ? यो सदनभित्र वाइडबडी, एनसेल, मेलम्चीजस्ता भ्रष्टाचारका काण्डमा अघिल्ला सभामुखले कुरा उठाएकी उठाएनन् ? यो विषयबस्तु बनेको छ’, शाहीले प्रश्न गर्दै भने, ‘आज हामी सदनमा आइरहँदा हामीजस्ता हजारौ युवाहरु अर्काको देशमा काम गर्न बाध्य छन् । सरकार प्रमुख र माननीहरुले लगाएको कोटमाथिको संसदको चिन्हलाई पनि हेरेर गौरव गर्नुपर्ने त्यति धेरै कारण देख्दिनँ ।’

उनले सरकारमाथि सरकार बनिरहेका  तर  खाडीमा तड्पिरहेका युवाहरुका बारेमा कसैले निर्णय नगरेको पनि बताए । ‘आदेशमाथि आदेश र परमादेशमाथि परामादेश होइन र राजनीतिका लागि जीवन होइन, जीवनका लागि राजनीति गर्न आवश्यक छ’, शाहीको भनाइ छ । ‘सभामुखहरुमा आफूलाई चयन गरेको, सरकारको पक्ष छ भने मौन भएर बस्ने प्रतिपक्षले जस्तो राम्रो प्रस्ताव ल्याए पनि अवज्ञा गनेै प्रवृत्ति देखिएको छ’ उनले भने, ‘अब बन्ने सभामुखबाट हामीले त्यस्तो अपेक्षा गर्दैैनौं, र सभामुखले सबैको कुरा सुन्नुहुनेछ ।’

उनले संसदमा नागरिकको पीरमर्काका विषय उठाउनुपर्ने, हाल प्रचलनमा रहेका कतिपय कानुन संशोधन गर्नुपर्ने बताए । सांसद शाहीले भने, ‘अब आउने संसदमा हामीले अगाडि जस्ता काण्ड भोग्न नपरोस् ।’

बिहीबार ५ माघ २०७९ ०२:०७ PM मा प्रकाशित

प्रतिक्रिया