×

गायक वैद्यलाई गीतसङ्गीतमार्फत श्रद्धाञ्जली

images

काठमाडौँ, ५ माघ : गायक तथा साहित्यकार योगेश वैद्यलाई सङ्गीतकर्मीले गीतसङ्गीतमार्फत अन्तिम श्रद्धाञ्जली दिएका छन् । उहाँको आज ७७ वर्षको उमेरमा सुन्धारास्थित काठमाडौँ भ्याली अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । 

 नेपाल सङ्गीतकार सङ्घको आयोजनामा नक्सालस्थित सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा भएको श्रद्धाञ्जली सभामा उहाँको पार्थिव शरीरलाई सङ्गीतकार शम्भुजीत बास्कोटा, चेतन सापकोटा, वसन्त सापकोटा, महेश खड्कालगायतले श्रद्धाञ्जली दिनुभयो । 

‘सपना भुलाई सारा’ गीतमार्फत अन्तिम श्रद्धाञ्जली दिइएको सङ्गीतकार सङ्घका अध्यक्ष चेतन सापकोटाले जानकारी दिनुभयो । “उहाँको निधनले हामीलाई ठूलो क्षति भएको छ । केही दिन अगाडि मात्र नोर्बू छिरिङ्ग दाईलाई बिदाइ गरेका थियौँ, अहिले योगेश दाईलाई बिदाइ गर्दैछौँ । हामी मर्माहित छौँ”, अध्यक्ष सापकोटाले भन्नुभयो ।    

सङ्गीतकार शम्भुजीत बाँस्कोटाले दिवङ्गत गायक वैद्यसँग तीन दिन अगाडि मात्रै कुरा भएको बताउनुभयो । उहाँले भन्नुभयो, “उहाँले कविता, गीत लेख्नुहुन्थ्यो । सङ्गीत गर्नुहुन्थ्यो । उहाँ मखमली आवाजको धनी हो । मेरा केही गीतहरु पनि गाउनुभएको थियो ।”

वैद्यको आज नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उहाँको पार्थिव शरीरलाई छोरा लोकेस नन्दन वैद्यले दागबत्ती दिनुभयो । करिब पाँच सय नेपाली गीत तथा झण्डै एक सयभन्दा बढी नेपाल भाषाको गीतमा स्वर दिनुभएका वैद्य पछिल्लो समय पक्षघातसम्बन्धी समस्या झेलिरहनुभएको थियो । गायक वैद्यको केही समयअघि मिर्गौलासमेत प्रत्यारोपण गरिएकामा केही दिनदेखि रुघाखोकीबाट ग्रसित हुनुहुन्थ्यो । 

 विसं २००३ मा नरदेवीमा जन्मनुएका उहाँको पहिलो रचना ‘कति प्यासी छ जिन्दगी’ बोलको नेवारी र ‘सपना भुलाई सारा’ बोलको गीत गीत निकै लोकप्रिय छन् । राष्ट्रिय गीत सम्मेलनमा प्रथम तथा छिन्नलता गीत पुरस्कार, विख्यात त्रिशक्तिपट्ट प्राप्त गर्नुभएका साहित्यकार वैद्यका विभिन्न कृति प्रकाशित छन् । उहाँका श्रीमती, दुई छोरी र एक छोरा हुनुहुन्छ । 

शुक्रबार​ ५ माघ २०८० ०९:४७ PM मा प्रकाशित

प्रतिक्रिया