×

वीर अस्पतालका १२ जना डाक्टर र नर्स सम्पर्कविहीन

images

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) र कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल अन्तर्गतको वीर अस्पतालका केही कर्मचारी सम्पर्कविहीन भएका छन् । लामो समयदेखि बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित रहेकाले अस्पतालको सम्पर्कमा नआएका डाक्टर, नर्स र अनमीको खोजी सुरु गरेको हो ।

वीरका अनुसार बिदा स्वीकृत नगराई विना जानकारी काममा नआउनेमा एक चिकित्सक, ९ जना स्टाफ नर्स र २ जना अनमी छन् । उनीहरूलाई बीचमा आफन्त तथा अन्य साथीभाइमार्फत सम्पर्क गर्न खोज्दासम्म कोही नआएपछि बाध्य भएर सूचना निकाल्नुपरेको अस्पताल प्रशासनले जनाएको छ ।

वीरद्वारा जारी सूचनामा अबको ३० दिनभित्र हाजिर हुन नआए चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को कर्मचारी सेवाका सर्त तथा सुविधासम्बन्धी नियमावली र स्वास्थ्य सेवा ऐनअनुसार कारबाही गरिने उल्लेख छ । न्याम्सले सूचना जारी गरेका स्टाफहरुमा रजिष्ट्रार÷ट्युटर डा.सृष्टि शाह र स्टाफ नर्सहरु (पाँचौँ तहका) जमुना सिटौला, ओमदेवी पुन, शान्ति लम्साल, सम्झना श्रेष्ठ र सुशीला ढकाल रहेका छन् ।

यस्तै युनिफाइड केन्द्रीय अस्पताल अन्तर्गतको वीरमा कार्यरत अन्य ६ जनाको नाममा पनि तीस दिनभित्र हाजिर हुन आउन सूचना जारी गरेको छ । त्यसैगरी, सूचना जारी भएका स्वास्थ्यकर्मीमा अनमीद्वय छैटौं तहका साहिदा सुब्बा र अनिता बसेल छन् । यस्तै पाँचौं तहका स्टाफ नर्सहरु सकिला चौलागाईं, अञ्जुकला राई, सरस्वती अर्याल र रेणुका अधिकारी छन् । 

आइतबार​ ३ पुस २०७९ ०२:३२ PM मा प्रकाशित

प्रतिक्रिया