×

निर्वाचनमा अन्तरघात गरेको भन्दै कांग्रेसका दुई केन्द्रीय सदस्य र क्षेत्रीय सभापतिलाई कारबाही गर्न सिफारिस

images

काभ्रे । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा अन्तरघात गरेको भन्दै नेपाली कांग्रेस काभ्रेले दुई जना केन्द्रीय सदस्य र क्षेत्रीय सभापतिलाई कारबाही गर्न सिफारिस गरेको छ । नेपाली कांग्रेस काभ्रेको शनिबार बसेको बैठकले पार्टीका कुनै पनि जिम्मेवारीमा नरहने गरी केन्द्रीय सदस्य मधुप्रसाद आचार्य, गणेश लामा र प्रतिनिधि सभा क्षेत्र नम्बर- २ का सभापति महेश खरेललाई कारबाही गर्ने निर्णय गरी सिफारिस गरेको हो ।

पार्टीको कुनै पनि जिम्मेवारीमा नरहने गरी केन्द्रीय सदस्यद्वय आचार्य, लामा र प्रतिनिधिसभा क्षेत्र नम्बर २ का सभापति खरेललाई कारबाही गर्न सिफारिस गरेको जिल्ला सभापति तीर्थ लामाले विज्ञप्ति निकालेर जानकारी गराएका छन्।

काभ्रे २ मा शिवप्रसाद हुमागाईं कांग्रेसबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार थिए। उनी नेकपा एमालेका उम्मेदवार गोकुलप्रसाद बाँस्कोटासँग पराजित भएका थिए। हुमागाईं र तीर्थ लामालाई भोट नमागेर विपक्षी उम्मेदवारलाई भोट मागेको आरोप लगाउँदै उनीहरूमाथि कारबाहीको सिफारिस भएको छ। तीर्थ प्रदेश सभातर्फ जितेका थिए।

केन्द्रीय सदस्य आचार्य निर्वाचन अभियानमा सहभागी नभएको र आफू निकटका वडा सभापति र वडाध्यक्षको बैठक नै बोलाएर एमालेका उम्मेदवारलाई मतदान गर्न दबाब दिएको आरोप उनीहरूको छ।

केन्द्रीय सदस्य गणेश निर्वाचन अभियानमा अनुपस्थित भई आफू निकटका साथीहरूलाई सार्वजनिकरूपमा नै सूर्यमा मतदान गर्न भनेको पाइएको आरोपसमेत लगाइएको छ। पार्टी सभापति तीर्थ लामालाई हराउने अभियान सञ्चालन गरेको भन्दै लामामाथि उजुरी पनि परेको थियो।

प्रतिनिधिसभा क्षेत्र नम्बर २ का सभापति महेश खरेल क्षेत्रीय सभापतिको जिम्मेवारीमा रहेर निर्वाचन परिचालनको कुनै पनि जिम्मेवारी नलिएको क्षेत्रीय सभापतिको तर्फबाट वडा, नगर र प्रदेश कार्यसमिति परिचालन नगरेको आफू निकटका नेता–कार्यकर्तालाई समेत बोलाई एमालेका उम्मेदवारलाई भोट हाल्न दबाब दिई पैसासमेत बाँडेको भन्दै उजुरी परेको थियो। बनेपा नगरपालिकाबाट प्रदेश सभा सदस्य उम्मेदवारलाई भन्दा प्रतिनिधि सभा सदस्य उम्मेदवारलाई तीन हजार भन्दा बढी मत कम आउनुको कारणबारे स्पष्ट पार्न प्रदेश सांसद कञ्चनचन्द्र बादे र बनेपा नगर समितिलाई कांग्रेस काभ्रेले निर्देशन दिने निर्णयसमेत गरेको छ ।

हेर्नुस् विज्ञप्ति:

आइतबार​ ३ पुस २०७९ ०९:५० AM मा प्रकाशित

प्रतिक्रिया