×

नवनिर्वाचित एमाले अध्यक्ष ओलीले लिए सपथ, भन्छन झूटा मुद्दामा एमाले र नेतृत्वलाई छोए सरकार ढालिदिन्छौँ

images

काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनबाट निर्वाचित अध्यक्ष केपी शर्मा ओलीले सपथ लिएका छन्। केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले नवनिर्वाचित अध्यक्ष ओलीलाई पद तथा गोपनियताको सपथग्रहण गराएका हुन्।

शपथपछि निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले ओलीलाई पुष्पगुच्छा प्रदान गर्दै बधाई तथा शुभकामना दिए ।

यसअघि उनी २०७८ मा चितवनको सौराहामा आयोजित दशौं महाधिवेशनमा निर्वाचित भएका थिए। त्यसअघि उनी २०७१ मा काठमाडौंमा सम्पन्न नवौँ महाधिवेशनमा पहिलोपटक अध्यक्षमा निर्वाचित भएका थिए। बाँकी पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई भने अध्यक्ष ओलीले सपथ खुवाएका छन्। 

शपथ कार्यक्रमलाई सम्बोधन गर्दै उनले ‘एमालेको अध्यक्षको हैसियतले भन्दैछ, ६ दशकमा जे अनुभव हाँसिल गरेको छु’, उनले भने, ‘सिंगो पार्टीलाई एकताबद्ध गरेर गणतन्त्र केन्द्रित र निर्णायक राष्ट्रिय शक्ति बनाउँछु।’

उनले सम्बोधनका क्रममा एमालेको राजनीतिबाट बिदा भएका अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र केशव बडाललई धन्यवाद दिए । ‘हामी प्रतिस्पर्धा गरेर नयाँ केन्द्रीय कमिटी बनाएका छौँ’, उनले भने, ‘बिदा भएर जानु भएका उहाँहरूको राजनीतिक योगदानको हामी सधैँ सम्मान गर्छौँ।’

कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एमालेमाथि भौतिक आक्रमण, जाली मुद्दा र पञ्चायतकालीन शैलीका गतिविधि भइरहेको आरोप लगाए। ‘एमाले नेतृत्वलाई छोएका दिन देश खत्तम हुन्छ,’ उनले भने, ‘यदि झूटा मुद्दामा एमाले र नेतृत्वलाई छुने काम भएमा सरकार ढल्छ, हामी ढालिदिन्छौँ।‘

अध्यक्ष ओलीले एमालेमाथि हुने कुनै पनि आक्रमणको देशव्यापी रूपमा कडा जवाफ दिने चेतावनी दिए। ‘एमालेलाई छोयो भने संसारमै महंगो पर्ने गरी जवाफ दिन तयार छौँ,’ उनले भने, “फेरि पनि आक्रमणको प्रयास भयो भने प्रतिकार हुन्छ।’ उनले लोकतन्त्रका लागि जीवनभर संघर्ष गरेको पार्टीलाई बदनाम गर्ने प्रयास भइरहेको भन्दै त्यसमा संलग्न शक्तिहरूको आलोचना गरे।

ओली वर्तमान सरकार चुनाव गराउनेतर्फ नभई षड्यन्त्रको तयारीमा लागेको बताए। जेन–जीसँग गरिएको सम्झौतालाई उनले षड्यन्त्रको संज्ञा दिँदै यो सरकार संविधान संशोधनका लागि नभई निर्वाचन गराउन बनेको सरकार भएको बताए।

ओलीले वर्तमान सरकारले निर्वाचन गराउने अवस्था नरहेको दाबी गर्दै प्रतिनिधिसभा पुनर्स्थापना हुने विश्वास व्यक्त गरे। ‘मलाई विश्वास छ, सम्मानित अदालतले राष्ट्रको जटिलता बुझेर संसद् फर्काउनेछ,’ उनले भने।

देशमा अराजकता फैलाउने प्रयास भइरहेको आरोप लगाउँदै अध्यक्ष ओलीले पार्टी कार्यकर्ता र नागरिकलाई सतर्क रहन आग्रह गरे।

उनले राज्य संयन्त्रमाथि मात्रै भर पर्न नहुने भन्दै टोल–टोलमा सुरक्षा समिति गठन गर्न आह्वान गरे। ‘एक हप्ताभित्र टोल सुरक्षा समिति बनाउनुहोस्,’ ओलीले सरकारप्रति आक्रोशित हुँदै भने, ‘यो सरकार र राज्यसंयन्त्रको हामीलाई भरोसा छैन । त्यसैले हामीले आफ्नो सुरक्षा आफैँ गर्नुपर्छ।’

बिहीबार ३ पुस २०८२ ०७:१८ PM मा प्रकाशित

प्रतिक्रिया