काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- भारतका विदेश सचिव विक्रम मिस्री आफ्नो दुई दिने भ्रमण पुरा गरि स्वदेश फर्किएका छन् । नेपालका विदेश सचिव अमृत बहादुर राईको निमन्त्रणामा,आइतबार बिहान काठमाडौँ आइपुगेका मिश्रीले भ्रमण पुरा गरि सोमबार स्वदेश फर्किएका हुन् । भ्रमणको क्रममा, भारतका विदेश सचिव मिश्रीले आइतबार राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग भेट वार्ता गरेका थिए । विदेश सचिव मिश्रीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको प्रधानमन्त्री ओलीलाई भारतको औपचारिक भ्रमणको लागि औपचारिक निमन्त्रणा हस्तान्तरण गरेका थिए । त्यस्तै नेपालका विदेश सचिव र भारतका विदेश सचिवले नेपालका प्रधानमन्त्रीको आगामी भारत भ्रमणको लागि सम्भावित उपलब्धिहरूलाई अधिकतम बनाउनमा केन्द्रित हुँदै भौतिक सम्पर्क, ऊर्जा सहयोग, डिजिटल सम्पर्क र विकास सहयोगका विभिन्न पक्षहरूमा व्यापक छलफल गरेका थिए ।
२- रुपन्देही प्रहरीले ठूलो परिमाणमा नक्कली शैक्षिक प्रमाणपत्रहरुसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको कानपुरस्थित नौवस्तीका २५ वर्षीय अभिषेक यादव रहेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देही र इलाका प्रहरी कार्यालयको संयुक्त टोलीले गोप्य सूचनाको आधारमा आइतबार बेलहियास्थित होटल मुक्तिनाथमा प्रवेश गर्न लागेको अवस्थामा यादवलाई नक्कली शैक्षिक प्रमाणपत्रहरुसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।रुपन्देहीका एसपी प्रदीप बहादुर क्षेत्रीले घटना बारे जानकारी दिदै नेपाल र भारतका विभिन्न शैक्षिक संस्था तथा विश्वविद्यालयहरूको नक्कली शैक्षिक प्रमाणपत्रहरू, स्ट्याम्प, होलोग्राम, स्टिकर लगायतको सामग्रीसहित यादवलाई सीमावर्ती क्षेत्र बेलहियाबाट पक्राउ गरिएको बताए । उनले पक्राउ परेका यादवको साथबाट नेपालको त्रिभुवन विश्वविद्यालयको ट्रान्सक्रिप्ट एक सय थान, प्रमाणपत्र ३६ थान, स्ट्याम्प ३ थान, स्ट्याम्प प्याड ५ थान बरामद भएको बताए । उनीसँगबाट त्रिभुवन विश्वविद्यालय (२०१२) लिखित होलोग्राम ४ हजार ४० थान, उच्च माध्यमिक शिक्षा परिषद् (अंग्रेजीमा एचएसईबी) लिखित होलोग्राम २ हजार थान, राष्ट्रिय परिक्षा बोर्ड (अंग्रेजीमा एनईबी) लिखित होलोग्राम १ हजार ६ सय थान, अंग्रेजीमा सीटीईभीटी लिखित होलोग्राम १ हजार ९ सय थान बरामद भएको छ । त्यसैगरी भारतको एमिटी विश्वविद्यालय, जवाहारलाल नेहरु टेक्नोलोजिकल विश्वविद्यालय हैदराबाद, छत्रपति शिवाजी महाराज विश्वविद्यालय कानपुर, असम हाईर सेकेण्डरी एजुकेशन काउन्सिल, कुरुक्षेत्र विश्वविद्यालय, आन्ध्र विश्वविद्यालयको विभिन्न प्रकारका १२ सय बढी प्रमाणपत्रहरु, लेटरप्याड, एडमिट फर्म लगायतका नक्कली कागजात बरामद भएको प्रहरीले जानकारी दिएको छ ।
३- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको स्वास्थ्यमा समस्या देखिएको छ । रास्वपा प्रवक्ता मनिष झाका अनुसार लामिछानेलाई भैरहवा कारागारबाट नख्खु कारागारमा स्थान्तरण गरेपश्चात नियमित स्वास्थ्य जाँच गर्ने क्रममा उनको स्वास्थ्य अवस्था सामान्य नरहेको भेटिएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि आवश्यक जाँचका लागि ट्रमा सेन्टरका डाक्टर जितेन्द्रप्रसाद यादवको नेतृत्वमा रहेको चिकित्सक टोलीले जाँचको लागि प्रक्रिया थालेको झाले जानकारी दिएका छन् ।
४- डिभिजन वन कार्यालय, कैलालीमा कार्यरत वरिष्ठ वन अधिकृत पूर्ण शंकर यादवविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्धा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यादवलाई कैलालीको चुरे गाउँपालिका-६ स्थित ग्वासी सामुदायिक वनको घाटगद्दी गरेको काठको बिमार्का र छोडपूर्जीको लागि सेवाग्राहीसँग लिएको ७ लाख ३१ हजार घुस रकमसहित नियन्त्रणमा लिएको थियो । अख्तियारले अनुसन्धानको सिलसिलामायादवले सो घुस रकम लिएको स्थापित भएको भन्दै सोमबार विशेष अदालतमा मुद्धा दायर गरेको जनाएको छ ।
५- सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले भाद्र २ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा विभिन्न तहमा बढुवा भएका अधिकृतहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक पदमा ६ जना, सशस्त्र प्रहरी उपरीक्षक पदमा २२ जना, प्राविधिक सशस्त्र प्रहरी उपरीक्षक पदमा १ जना, सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा ४८ जना र प्राविधिक सशस्त्र प्रहरी निरीक्षक पदमा १ जना तथा अनिवार्य अवकाश पूर्व एक तह विशेष बढुवा भएका प्राविधिक सशस्त्र प्रहरी नायव उपरीक्षकलाई दज्र्यानी चिन्ह प्रदान गरेका हुन् । महानिरीक्षक अर्यालले संगठनमा सेवारत रहँदा पदोन्नतीको विशेष महत्व हुने र पदोन्तीसँगै प्राप्त जिम्मेवारी, सकारात्मक, सोच, दृष्टिकोण र कार्यशैलीकासाथ कार्यक्षेत्रमा संगठनप्रति निष्ठावान हुँदै कार्यसम्पादन गर्न निर्देशन दिए ।
६- पोखरा महानगरकी वडा सदस्य भावना श्रेष्ठविरुद्ध दुई लाख घुस लिएको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा महानगर- ९ की वडा सदस्य भावना श्रेष्ठले न्यायिक समितिमा बाटोको विवाद विषयको निर्णय गर्दा आफ्नो पक्षमा पार्नको लागि रविन कुमार श्रेष्ठबाट २ लाख घुस लिएको आरोपमा श्रेष्ठलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा त्यति नै बिगो माग गर्दै मुद्दा दायर गरेको जानकारी दिएको छ ।
७- युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की वाशिंटन पुगेका छन । अमेरिकी राष्ट्रपति दोनाल्दो ट्रम्पसँग वार्ता गर्न जेलेन्स्की वाशिंटन पुगे सँगै सामाजिक सञ्जाल इन्स्टाग्राममा पोस्ट गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ह्वाइट हाउसमा आमन्त्रित गरेकोमा धन्यवाद दिएका छन् । उनले लेखेका छन्- 'हामी सबै चाहन्छौं कि यो युद्ध चाँडै र भरपर्दो रूपमा समाप्त होस् र शान्ति दिगो होस् । म विश्वस्त छु कि हामी युक्रेनको रक्षा गर्नेछौं, यसको सुरक्षा सुनिश्चित गर्नेछौं र हाम्रा जनता राष्ट्रपति ट्रम्प, अमेरिकाका सबै जनता र प्रत्येक साझेदारको समर्थन र सहयोगको लागि सधैं आभारी रहनेछन् ।' ट्रम्पसँग जेलेन्स्कीसहित बेलायती प्रधानमन्त्री केयर स्टारमर र धेरै युरोपेली नेताहरू पनि सहभागी हुदैछन् । ट्रम्प-जेलेन्स्की बैठकमा बेलायती प्रधानमन्त्री केयर स्टारमर, इटालीका प्रधानमन्त्री जर्जिया मेलोनी, जर्मन चान्सलर फ्रेडरिक मर्ज, फिनल्याण्डका राष्ट्रपति अलेक्ज्याण्डर स्टब, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन, नेटो महासचिव मार्क रुट र युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयन सहभागी हुदैछन् ।
८- आज नेप्सेमा परिसूचकमा वृद्धि भएको छ । नेप्से सोमबार ९.१६ अंकले बढेर २७७०.३९ विन्दुमा पुगेको हो । आजको कारोबारमा विभिन्न ३२० कम्पनीका एक करोड ५२ लाख २९ हजार ८२१ कित्ता शेयर ६ अर्ब १७ करोड ९८ लाख ५५ हजार २०९ मा किनबेच भएको नेप्सेले जनाएको छ ।
९- डोल्पा जिल्ला काइके गाउँपालिका–३ निवासी माल बहादुर बुढा नेकपा (एमाले) परित्याग गरी नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् । बुढालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीमा स्वागत गरेको माओवादी केन्द्रले जनाएको छ ।
१०- मेडिकल व्यवसायी दुर्गा प्रसाईले राजनीतिक दल गठन गर्ने घोषणा गरेका छन् । जेलबाट धरौटीमा रिहा भएपछि पहिलो पटक पत्रकार सम्मेलन गर्दै प्रसाईले उनले अब राजनीतिक दल गठन गरेर अगाडी बढ्ने घोषणा गरेका हुन् । उनले राष्ट्र र राष्ट्रियता निर्माणको अभियानमा अब दल गठन गरेर अगाडी बढ्ने बताए । उनले अभियान मात्र संचालन गरेर एउटा अध्याय सकिएको बताउदै अब नेपालको संबिधान अनुसार दल दर्ता गरेर अगाडी बढ्ने जानकारी गराएका हुन् । उनले अब उनले छिट्टै नयाँ दल दर्ता गर्ने र दलको नाम पनि केहि दिनमा टुंगाउने बताएका छन् ।
११- भारतका ७४ वर्षीय सुपरस्टार अभिनेता रजनीकान्तको फिल्म 'कुली' रिलिज भएको केही दिन मात्र भएको छ, यो फिल्मले भारतमा मात्र आइतबारसम्म १९४ करोड कमाई गरेको छ । फिल्म कुलीको निर्माण पक्षले अब ओटीटी रिलिजको लागि पनि सम्झौता गरेको छ । टाइम्स अफ इन्डियाको रिपोर्ट अनुसार, रजनीकान्तको फिल्म 'कुली' को डिजिटल अधिकार १२० करोड भारुमा बिक्री भएको छ । यो तमिल सिनेमामा सबैभन्दा ठूलो सम्झौता साबित भएको छ । अहिले यो फिल्म थिएटरहरूमा छ, तर चाँडै नै ओटीटीमा पनि रिलिज हुनेछ । फिल्म 'कुली' को ओटीटी अधिकार अमेजन प्राइम भिडियोले किनेको छ । लगभग एक महिना पछि, यो फिल्म दर्शकहरूले ओटीटीमा हेर्न सक्नेछन् । वास्तवमा, कुनै पनि फिल्म हलमा रिलिज भएको कम्तिमा एक महिना पछि ओटीटीमा आउने भएको छ ।
१२- विद्यादेवी भण्डारीले आफू नेकपा एमालेको सक्रिय तथा संगठित सदस्य भएको दाबी गरेकी छन् । विराटनगर विमानस्थलमा सोमबार पत्रकारसँग कुरा गर्दै उनले पार्टी केन्द्रीय कमिटीको पछिल्लो निर्णयबारे औपचारिक जानकारी नपाएको बताउदै आफु एमालेको सक्रिय तथा संगठित सदस्य भएको दाबी गरेकी हुन् । भण्डारीले भनिन्- 'म ४५ वर्षदेखि एमालेको संगठित सदस्य हुँ। हिजो पनि म एमाले भएरै राष्ट्रपति निर्वाचित भएकी हुँ र आज पनि त्यहीँ छु।’
१३- रुसले युक्रेनका शहरहरूमाथि आक्रमण गरेको छ । खार्किभको एक अपार्टमेन्ट ब्लकमा रुसी ड्रोन आक्रमणमा एक बच्चा सहित कम्तिमा चार जनाको मृत्यु भएको युक्रेनका मिडियाहरुले उल्लेख गरेका छन् । आक्रमणबाट भवनको एक भाग भत्किएको छ र धेरै मानिसहरू भग्नावशेषमा फसेको आशंका गरिएको छ । स्थानीय अधिकारी इभान फेडोरोभले जापोरिजिया क्षेत्रमा ग्लाइड बम प्रयोग गरेर रुसी आक्रमणमा एक जनाको मृत्यु भएको र छ जना घाइते भएको बताएका छन् । युक्रेनी वायुसेनाले रातभरि रुसले युक्रेनमा चार वटा मिसाइल र १४० वटा ड्रोनले आक्रमण गरेको बताएको छ । वायुसेनाले २५ विभिन्न स्थानमा ८८ वटा ड्रोन खसालेको दाबी गरेको छ ।
१४- प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटल नेपाल फ्रेमवर्क, २०७६ लाई समयसापेक्ष विस्तार र नेपाल टेलिकमको कार्यप्रगतिबारे आज ब्रिफिङ लिएका छन् । सूचना तथा सञ्चार प्रविधिको उपयोग गरेर सुशासन, विकास र समृद्धिको गतिलाई तीव्रता दिनुुपर्नेमा जोड दिँदै आएका प्रधानमन्त्री ओलीले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, सचिव राधिका अर्याल, टेलिकमका निमित्त प्रबन्ध निर्देशक सबिना मास्के प्रधानसहितसँग ब्रिफिङ लिएका हुन् । नेपाल सरकारबाट हालै राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआइ) नीति, २०८२ स्वीकृत भएको सन्दर्भमा डिजिटल नेपाल फ्रेमवर्कलाई थप विस्तार र समयसापेक्ष परिमार्जनका लागि मन्त्रालयले गृहकार्य सुरु गरेकाबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराइएको छ । प्रस्तावित डिजिटल नेपाल फ्रेमवर्क २.० (फास्ट) ढाँचामा तयार गरिएको छ । उक्त प्रस्तावमा डिजिटल इकोसिस्टमको पूर्वाधार, पहुँच, क्षमता विकास र रुपान्तरणको अवधारणा समावेश गरिएको छ ।
१५- नेपाली सेनालाई भारत सरकारले ६ वटा स्ट्राइकिङ भेइकल उपहार दिएको छ । नेपाल भ्रमणमा रहेका भारतीय विदेशसचिव विक्रम मिश्रीले सोमबार नेपाली सेनालाई ६ वटा स्ट्राइकिङ भेइकल उपहारस्वरुप हस्तान्तरण गरेका हुन् । विदेश सचिव मिश्री नेपाली सेनाको मुख्यालय जंगीअड्डा पुगेर ‘लाइट स्ट्राइकिङ भेइकल’ हस्तान्तरण गरेका हुन् । साथै ६ वटा सैनिक घोडा र २ वटा सैनिक कुकुरसमेत उनले हस्तान्तरण गरेको भारतीय दुताबासले जानकारी दिएको छ ।
१६- नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुन तोलाको ८ सयले बढेर तोलाको एक लाख ९६ हजार ३ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको एक लाख ९५ हजार ५ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५ रुपैयाँले बढेर २३१५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको २३१० मा कारोबार भएको थियो ।
१७- नेपालले जारी टप इन्ड टी-२० सिरिजमा लगातार तेस्रो हार बेहोरेको छ । सोमबार बिहान सम्पन्न खेलमा नेपाल मेलवर्न स्टार्ससँग ३१ रनले हार बेहोरेको हो । मेलवर्न स्टार्सले दिएको १७६ रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा ७ विकेट गुमाउदै १४४ रन बनाएको थियो । यो सिरिजमा नेपालको लगातार तेस्रो हार हो । नेपालले यस अघि बंगलादेश ए र एनटी स्ट्राइकसँग हार बेहोरेको थियो । त्यस्तै मेलवर्न स्टार्सको भने तीन खेलमा यो दोस्रो जित हो । नेपालले अब अर्को खेल भोली होबर्ट हुरिक्यान्ससँग खेल्ने तालिका छ भन २० अगस्तमा मेलवर्न रेनेगेड्स र २२ अगस्तमा पाकिस्तान ए सँग खेल्ने तालिका रहेको छ ।
१८- पिएसजीले फ्रेन्च लिग वानको नयाँ सिजनमा विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न खेलमा पिएसजीले नानटेजलाई १-० गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको हो । पिएसजीको जितमा खेलको ६७औं मिनेटमा भिटिन्हाले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । यो जितपछि पिएसजीले महत्वपूर्ण ३ अंक हासिल गरेको छ र सिजनको राम्रो शुरुवात गरेको छ ।
१९- इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा आर्सनलले म्यानचेस्टर युनाइटेडलाई १-० गोल अन्तरले पराजित गरेको हो ।आर्सनलको जितमा खेलको १३औ मिनेट रिकार्डो कालाफियोरीले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । यो जितपछि आर्सनलले महत्वपुर्ण ३ अंक हासिल गर्दै नयाँ सिजनमा शानदार शुरुवात गरेको छ भने म्यानचेस्टर युनाइटेडले हारबाट आफ्नो नयाँ सिजनको शुरुवात गरेको छ ।
२०- प्रधानमन्त्री केपी शर्मा ओलीले विपिन जोशीको रिहाईको पहल गर्नु सरकारको जिम्मेवारी भएको बताएका छन् । प्रधानमन्त्री ओलीले विपिनकी आमा र बहिनिले इजरायलका राष्टपति र संसद अध्यक्षसँग भेटेर रिहाईको पहलका लागि आग्रह गरेको उल्लेख गर्दै यसअघि आफुले टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग गत चैत ७ गते र इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुुसैन खालिलसँग गत फागुन २८ गते मैले यस विषयमा ध्यानाकर्षण गर्दै फोन संवाद गरेको बताएका छन् । उनले भनेका छन्- इजरायलमा हमास समूहले बन्धक बनाएका बिपिन जोशीको शीघ्र रिहाइको पहल गर्नु हाम्रो जिम्मेवारी हो। इजरायलस्थित हाम्रो दूतावासको समन्वयमा बिपिनकी आमा पद्मा र बहिनी पुष्पाले महामहिम राष्ट्रपति H.E. Mr. Isaac Herzog र संसद अध्यक्ष H.E. Mr. Amir Ohana सँग भेटेर बिपिनको रिहाइको लागि पहल गर्न आग्रह गर्नु भएको छ । यसअघि मध्यपूर्वको शान्तिका लागि पहल गरिरहेका टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग गत चैत ७ गते र इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुुसैन खालिलसँग गत फागुन २८ गते मैले यस विषयमा ध्यानाकर्षण गर्दै फोन संवाद गरेको थिएँ। सरकार बिपिनको सुरक्षालाई प्राथमिकता दिंदै हर सम्भव पहलमा जुटिरहेको छ ।
प्रतिक्रिया