×

सरकारको बचाउ गर्दै रविको घोषणा: जनहितविपरीतका विवादित निर्णय रातारात सच्याउन सकिन्छ

images

काठमाडौं, २ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान सरकारको नियतमा शङ्का नगर्न नागरिकहरूसँग आग्रह गरेका छन् । रौतहटबाट पार्टीमा प्रवेश गरेका नयाँ नेता तथा कार्यकर्ताहरूलाई स्वागत गर्ने क्रममा शनिबार आयोजित अन्तरक्रियामा सभापति लामिछानेले व्यावहारिक रूपमा कुनै निर्णयले जनतालाई लाभको सट्टा हानि पुर्‍याएमा त्यस्ता विवादित निर्णयहरू तत्कालै परिवर्तन वा परिमार्जन गर्न सकिने स्पष्ट पारेका हुन्.।

उनले हजारौं सही निर्णय गर्ने क्रममा दुई-चारवटा निर्णयहरू व्यावहारिक कठिनाइका कारण विवादमा आउन सक्ने तर्क गरे । तर, नियत सफा भएमा जुनसुकै त्रुटिलाई समयमै सुधार्न सकिने उनको भनाइ छ ।

सरकारका निर्णयहरूमा कहिलेकाहीँ समस्या आउन सक्छ र देशलाई ठूलो क्षति ('ड्यामेज') पुग्ने देखिएमा त्यसलाई रातारात परिवर्तन गर्नुपर्छ । "नियत खराब भए पो कहाँ करेक्सन गर्ने? नियत करेक्सन गर्न गाह्रो हुन्छ, निर्णय त सच्याउन सकिन्छ," लामिछानेले भने ।

किसान वा विपन्न वर्गको पक्षमा काम गर्ने उद्देश्यले ल्याइएका कतिपय नीतिहरू कार्यान्वयनका क्रममा व्यावहारिक रूपमा उनीहरूकै विपक्षमा पुगेको पाइएमा त्यस्ता नीतिहरू अपरिवर्तनीय नरहेकाले तत्कालै परिमार्जन गरिने उनले आश्वासन दिए ।

 विगतमा सुरु गरिएको मादक पदार्थ सेवन (मापसे) जाँचको उदाहरण दिँदै उनले सुरुमा व्यापक विरोध र विवादमा आएका कैयौं योजना तथा नीतिहरू कालान्तरमा नागरिकको जीवन रक्षा र हितका लागि सही प्रमाणित भएको दाबी गरे ।

नयाँ कार्यकर्ताहरूलाई पार्टीमा स्वागत गर्दै उनले रास्वपा गलत बाटोमा लागेमा ताली मात्रै बजाउने नभई औंला उठाएर खबरदार गर्ने जिम्मेवारी र अधिकार पनि उनीहरूकै काँधमा आएको स्मरण गराए ।


नेपालको शासकीय सुधारका लागि सरकारले दीर्घकालीन भिजनसहित निर्णयहरू अघि सार्ने गरेको भए पनि सुरुवाती चरणमा कार्यान्वयनका केही प्राविधिक चुनौतीहरूका कारण नागरिकमा भ्रम पैदा हुने गरेको लामिछानेको विश्लेषण छ। उनले सरकारका नीतिगत प्रयासहरूको परिणाम देखिन केही समय लाग्ने भएकाले आम नागरिकलाई केही समय धैर्य गर्न अपिलसमेत गरे ।

साथै, मन्त्रालयहरूबाट जनअपेक्षाअनुसार काम नभएमा वा जनविरोधी निर्णयहरू सच्याउन मन्त्रीहरू तयार नभएमा पार्टी आफैंले अभिभावकीय भूमिका लिँदै त्यस्ता कदमलाई रोक्ने प्रतिबद्धता उनले व्यक्त गरे ।

शनिबार २ साउन २०८३ ०७:५९ PM मा प्रकाशित

प्रतिक्रिया