×

नेकपा एमालेका देवराज घिमिरे सभामुखको उम्मेदवार

images

काठमाडौं । नेकपा एमालेले झापाका देवराज घिमिरेलाई सभामुखको उम्मेदवार बनाएको छ । घिमिरे झापा–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद हुन् । एमालेमा उनको नाम सर्वसम्मत भएको छ ।

घिमिरेले अहिले केहीबेरमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा पुगेर मनोनयन दर्ता गर्नेछन् । प्रतिनिधिसभाका सभामुखको निर्वाचन बिहीबार बिहान ११ बजे तय भइसकेको छ । त्यसका लागि आज दिउँसो १ देखि अपरान्ह ४ बजेसम्म मनोनयन छ ।

सभामुखका लागि एमालेबाट उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र सचिव छविलाल विश्वकर्मा पनि दाबेदार थिए । तर, यसपटक अध्यक्ष केपी शर्मा ओलीले पार्टीका पुराना नेता तथा स्थायी कमिटी सदस्य देवराज घिमिरेलाई अघि सारेका छन् । संवैधानिक व्यवस्था अनुसार संघीय संसद बैठक सुरु भएको १५ दिनभित्र प्रतिनिधि सभा सदस्यमध्येबाट सभामुख चयन गर्नुपर्ने हुन्छ ।

उक्त समय घर्किन लागेपछि प्रतिनिधि सभामा सभामुख चयन गर्ने तयारी गरिएको हो । माओवादीसँग आधा कार्यकालका लागि सभामुख र प्रधानमन्त्रीमा समझदारी भएअनुसार सहमति कार्यान्वयन हुँदा घिमिरेले अढाई वर्षपछि सभामुख पद छाड्नुपर्नेछ । सभामुखको निर्वाचन बिहीबार हुने प्रतिनिधि सभा बैठकमा हुनेछ । प्रतिनिधि सभा बैठक बिहीबार बिहान ११ बजेका लागि बोलाइएको छ ।

बुधबार ४ माघ २०७९ १२:१० PM मा प्रकाशित

प्रतिक्रिया