×

विश्वकप विजेताले पाउनेछ साढे ५ अर्ब, अन्यले कति पाउँछन् पुरस्कार ?

images

 काठमाडौं । कतार विश्वकपको फाइनल खेल आइतबार हुँदैछ । पहिलो पटक कतारमा भएको विश्वकप फाइनलमा अर्जेन्टिना र फ्रान्स भिड्दैछन् । अर्जेन्टिना तेस्रो पटक विश्वकप फुटबलको उपाधि जित्ने लक्ष्यमा छ । यता फ्रान्स पनि लगातार दोस्रो पटक गरी समग्रमा तेस्रो पटक उपाधि जित्ने योजनामा छ ।

फिफाले कतार विश्वकपका लागि पुरस्कार, प्रोत्साहन र अन्य विषयमा खर्च गर्ने रकम सार्वजनिक गरिसकेको छ। यस पटक कुल राशिमा २९ प्रतिशतले वृद्धि गरी फिफाले एक अर्ब अमेरिकी डलर पु-याएको छ। विश्वकपमा सहभागी ३२ टिमले प्राप्त गर्ने स्थानका आधारमा ४४ करोड डलर वितरण गरिने छ भने बाँकी रहेको ६६ करोड डलर फुटबल कम विकसित भएका राष्ट्रिय सङ्घहरू, क्लबहरूको हित तथा क्लबको बीमा र खेलाडी सुरक्षा योजनामा फिफाले खर्च गर्ने छ । 

यस हिसाबले वास्तविक पुरस्कार रकम ४४ करोड डलर मात्र हो, जुन सन् २०१८ को दाँजोमा चार करोड डलर बढी छ। विश्वकप विजेताले फिफा विश्वकप ट्रफी पाउनेछन्। जसको मूल्य २० मिलयन अमेरिकन डलर बराबरको भएको बताइएको छ। १८ क्यारेट सुन जडित उक्त ट्रफी ३६.८ सेन्टिमिटर अग्लो छ भने ६.१ किलोग्राम तौलको छ। यद्यपी विश्वकप जसले जिते पनि सक्कली ट्रफी लैजान भने पाउँदैनन्।

विश्वकप विजेताले उपाधिसँगै ठूलो मात्रामा नगद रकम पाउनेछन्। विश्वकप विजेताले पाउने रकम आश्चर्यजनक छ। र, हरेक संस्करणमा विजेताले पाउने रकममा वृद्धि हुँदै आइरहेको छ।

कतारमा हुने विश्वकपको विजेताले अहिलेसम्मकै सबैभन्दा धेरै ४२ मिलियन अमेरिकी डलर पाउनेछन्। जुन चार वर्षअघि रुसमा भएको विश्वकप विजेता फ्रान्सले पाएको भन्दा ४ मिलियन बढी हो। यस्तै २०१४ को ब्राजिल विश्वकप भन्दा ७ मिलियनले बढी हो। अब बन्ने विश्वकप विजेताले पाउने रकम नेपालीमा हिसाव गर्दा करिव ५ अर्ब ४४ करोड हुन आउँछ।

विश्वकप विजेताले ५ अर्ब ४४ करोड २३ लाख ६० हजार (नेपाल राष्ट्र बैंकअनुसार आइतबार अमेरिकी डलरको बिक्री मूल्य) पाउनेछन्। यस्तै उपविजेताले ३० मिलियन डलर अर्थात नेपाली रकम ३ अर्ब ८८ करोड ७४ लाख पाउनेछन्।

तेस्रो हुने टिमले २७ मिलियन अर्थात ३ अर्ब ४९ करोड ८६ लाख ६० हजार र चौथो हुने टिमले २५ मिलियन अर्थात ३ अर्ब २३ करोड ९५ लाख रुपैयाँ पाउनेछन्। क्वाटरफाइनल पुग्ने टिमले १७ मिलियन अर्थात २ अर्ब २० करोड २८ लाख ६० हजार रुपैयाँ पाउनेछन्।

अन्तिम १६ मा पुग्ने टिमहरुले १३ मिलियन डलर अर्थात १ अर्ब ६८ करोड ४५ लाख ४० हजार पाउनेछन्। समूह चरणमा खेल्ने टिमले ९ मिलियन अर्थात १ अर्ब १६ करोड ६२ लाख २० हजार रुपैयाँ पाउनेछन्।

कतार विश्वकपको कूल पुरस्कार राशी ४४० मिलियन अर्थात ५७ अर्ब १ करोड ५२ लाख रुपैयाँ छ।

कतार विश्वकपमा पुरस्कार राशी

विजेता: ४२ मिलियन डलर

उपविजेता: ३० मिलियन डलर

तेस्रो स्थान: २७ मिलियन डलर

चौथो स्थान: २५ मिलियन डलर

क्वाटरफाइन: १७ मिलियन डलर

अन्तिम १६ : १३ मिलियन डलर

समूह चरण: ९ मिलियन डलर

शनिबार २ पुस २०७९ १०:५३ AM मा प्रकाशित

प्रतिक्रिया