काठमाडौँ — नेपाली बजारमा सुन र चाँदीको मूल्यमा लगातार दोस्रो दिन पनि वृद्धि भएको छ। अघिल्लो दिन (आइतबार) तोलामा ३ हजार ६ सय रुपैयाँले बढेको सुनको मूल्य सोमबार पनि उकालो लागेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा १ हजार ६ सय रुपैयाँले बढेर ३ लाख ६ हजार ८ सय रुपैयाँ पुगेको छ। गत शुक्रबार तोलामा ४ हजार ६ सय रुपैयाँ घटेको सुनको भाउ आइतबार र सोमबार गरी दुई दिनमै कुल ५ हजार २ सय रुपैयाँले बढिसकेको छ।
सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। सोमबार तोलामा ६० रुपैयाँले बढेर चाँदीको मूल्य प्रतितोला ४ हजार ७ सय ७० रुपैयाँ पुगेको महासंघले जनाएको छ।
यसअघि गत माघ १५ गते सुनको मूल्य एकैदिन तोलामा २० हजार ५ सय रुपैयाँ बढेर ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो, जुन नेपाली बजारमा सुनको हालसम्मकै उच्च मूल्य (अलटाइम हाई) हो। सोही दिन चाँदीको भाउ पनि हालसम्मकै उच्च बिन्दु प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँ पुगेको थियो।
अन्तर्राष्ट्रिय बजारमा भइरहेको उतारचढाव र आन्तरिक मागका कारण नेपाली बजारमा सुनचाँदीको मूल्य प्रभावित भइरहेको व्यवसायीहरू बताउँछन्।
प्रतिक्रिया