×

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

images

काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

१- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीबीच भेटवार्ता भएको छ । देउवा निवास बुढानिलकण्ठ आइतबार उनीहरूबीच भेटवार्ता भएको हो । उनीहरूबीच दुई देशबीचको आपसी हित र सम्बन्धका बारेमा छलफल भएको बताइएको छ । बैठकमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव पनि सहभागी थिए । परराष्ट्रसचिव अमृतबहादुर राईको निमन्त्रणामा मिस्री दुई दिने भ्रमणका लागि काठमाडौं आएका हुन् । उनले आज राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका थिए । भेटका क्रममा उनले प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको औपचारिक निम्तो दिएको परराष्ट्र स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री ओली भदौ ३१ गते भारत भ्रमणमा जाने गरी तयारी भइरहेको बताइएको छ ।

२- नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भारतीय विदेशसचिव विक्रम मिस्रीले शिष्टाचार भेट गरेका छन् । नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आज काठमाडौँ आइपुगेका सचिव मिस्रीले अध्यक्ष निवास खुमलटारमा अध्यक्षसंग भेट गरेका हुन् । भेटमा नेपाल -भारत -द्विपक्षीय हितका विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।

३- आज नेप्सेमा परिसूचकमा गिरावट आएको छ । नेप्से आइतबार २७.१४ अंकले घटेर २७६१.२२ विन्दुमा पुगेको हो । आजको कारोबारमा विभिन्न ३१७ कम्पनीका २ करोड ५ लाख १३ हजार ६२५ कित्ता शेयर ७ अर्ब ७३ करोड ५१ लाख ९५ हजार ९४ मा किनबेच भएको नेप्सेले जनाएको छ । आज आरबीबी म्युचल फन्डको शेयर सबैभन्दा बढी ७.९३ प्रतिशतले बढेको छ भने अपर स्याँगे हाइड्रोको शेयर ६.२९ प्रतिशतले बढेको छ । त्यस्तै सम्पदा लघुवित्तको शेयर अबैभंदा बढी ७.०६ प्रतिशतले घटेको छ ।  आज सबै भन्दा बढी कारोबार नेपाल रिइन्सुरेन्सको ५१ करोड ६७  लाख र हिमालायन रिइन्सुरेन्सको ३५ करोड ५४ लाखको कारोबार भएको नेप्सेले जनाएको छ ।

४-  पाकिस्तान क्रिकेट बोर्डले बाबर आजमलाई बाहिर राख्दै एसिया कप २०२५ खेल्ने पाकिस्तानी क्रिकेट टिमको घोषणा गरेको छ । आइतबार बोर्डले सलमान अली आघाको कप्तानीमा १७ सदस्यीय टिमको घोषणा गरेको हो । पाकिस्तानले आफ्ना स्टार खेलाडी बाबर आजम र विकेटकिपर ब्याट्सम्यान मोहम्मद रिजवानलाई बाहिर राखेको छ । एसिया कप अघि यस पाकिस्तानी टिमले युएईमा अफगानिस्तान र युएईसँग त्रिकोणात्मक टी-२० सिरिज खेल्ने तालिका रहेको छ । पाकिस्तानको टिम- सलमान आघा (कप्तान), अबरार अहमद, फहीम अस्रफ, फखर जमान, ह्यारिस राउफ, हसन अली, हसन नवाज, हुसैन तलत, खुर्शदिल शाह, मोहम्मद ह्यारिस (विकेटकिपर), मोहम्मद नवाज, मोहम्मद वसीम जुनियर, साहिबजादा फारहान, साइम अय्युब, सलमान मिर्जा, शाहिन शाह अफ्रिदी र सुफयान मोकीम रहेका छन् ।  एशिया कपमा पाकिस्तान भारत, ओमान र युएईसँगै समुह ए मा रहेको छ । पाकिस्तानले पहिलो खेल ओमानसँग १२ सेप्टेम्बरमा, दोस्रो खेल भारतसँग १४ सेप्टेम्बरमा र तेस्रो खेल युएईसँग १७ सेप्टेम्बरमा खेल्ने तालिका रहेको छ ।

५- राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहेका भारतीय विदेशी सचिव विक्रम मिस्रीले शिष्टाचार भेट गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आइतबार  भएको भेटमा राष्ट्रपति पौडेलले एक मित्र एवं निकट छिमेकीका नाताले भारतले गरेको प्रगतिहरूबाट नेपालले लाभ हासिल गरेको र अझ बढी लाभान्वित हुन चाहेको बताए । उनले नेपाल र भारतबीच शताब्दिऔंदेखि सामाजिक, सांस्कृतिक, धार्मिक, आध्यात्मिक, आर्थिक तथा जनस्तरको निकट सम्बन्ध रही आएको बताए। दुई मुलुकबीचको सम्बन्ध सार्वभौमिक समानता, मैत्रीपूर्ण सहयोग, आपसी सम्मान एवं विश्वासमा आधारित रहेको उनले बताए । भारतीय विदेश सचिव मिस्रीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको छिमेकी देशसँगको सम्बन्धलाई प्राथमिकता दिने नीति अनुसार नेपाल प्राथमिकताको उच्च स्थानमा रहेको बताएको उनको भनाई उद्धृत गर्दै राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । साथै, विदेश सचिव मिस्रीले आफ्नो भ्रमणका अवसरमा आधुनिक युगमा दुवै देशबीचको प्रगति एवं विकासका लागि कनेक्टिभिटी कसरी बढाउने भन्ने विषयमा छलफलको अवसर मिल्ने तथा भ्रमणबाट दुवै देशको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास पनि व्यक्त गरेका छन् ।

६-  गृहमन्त्री रमेश लेखकले राष्ट्रको हित र आम नागरिकलाई थप सुविधा हुने गरी काम गर्न मातहतका कर्मचारीलाई निर्देशन दिएका छन् । आइतबार गृहमन्त्रालयमा आर्थिक बर्ष २०८२\०८३ को लागि मन्त्रालयका गृह सचिव एवं संगठन प्रमुख, महाशाखा र विभागीय प्रमुखहरुसित कार्यसम्पादन सम्झौता गर्दै गृहमन्त्री लेखकले लागूऔषध, सडक दुर्घटना, आत्महत्या र साइबरक्राइम नियन्त्रणमा पहिलो बर्ष काम भएपनि परिणाम आउन समय लाग्ने बताए । उनले भने- 'लागूऔषध, सडक दुर्घटना, साइबरक्राइम, आत्महत्या गरी चार वटै विषय अहिलेका नयाँ चुनौती हुन । विशेष रुपमा काम भएको छ परिणाम आउन थोरै समय लाग्ला । यो वर्ष परिणाम दिनेगरी काम गर्नुपर्छ ।' त्यसैगरी पश्चिम नेपाल भूकम्पको विस्तृत क्षति आँकलन भइरहेको भन्दै चालु आर्थिक बर्षभित्र पुर्ननिर्माण सक्ने गरी काम गर्न निर्देशन समेत दिए । उनले गत आर्थिक बर्षमा तोकिएको माइलस्टोनमा गृह मन्त्रालयले ८८ प्रतिशत प्रगति गरेकोप्रति बधाई एवं धन्यवाद ज्ञापन गरे । उनले भने- 'अहिलेको आवश्यकता अनुसार थप नयाँ कुरा के गर्न सकिन्छ, नीति, योजना तयार गरेर अघि बढ्नुस । सिमित स्रोत साधन, जनशक्ति र बजेटको सिमाभित्र बसेर काम गर्नुपर्छ ।

७-  बलिवुडमा गत विहिबार दुई ठुला बजेटका फिल्म रिलिज भएका छन् ।  ऋतिक रोशन र जूनियर एनटीआरको वार- २ रिलिज भएको छ भने सुपरस्टार रजनीकान्तको कुली पनि एकसाथ रिलिज भएको छ । रजनीकान्तको फिल्मको लागि दर्शकहरूमा ठूलो क्रेज देखिएको छ । रिलिजको तीन दिनमा रजनीकान्तको फिल्म कुलीले भारतमा १५०.९६ करोड कमाई गरेको छ । फिल्मले भारतीय बक्स अफिसमा पहिलो दिन ६५ करोड कमाई गरेको थियो भने दोस्रो दिन शुक्रबार ५४.७५ करोड कमाई गरेको थियो । त्यस्तै कुलीले तेस्रो दिन भारतमा ३१.२१ करोड कमाई गरेको थियो । त्यसैगरी वार-२ ले पनि बक्सअफिसमा जबर्जस्त कमाई गरिरहेको छ । फिल्मले तीन दिनमा १४२.३५ करोड कमाई गरेको छ । फिल्मले भारतमा पहिलो दिन ५२ करोड कमाई गरेको थियो भने दोस्रो दिन शुक्रबार ५७.३५ करोड कमाई गरेको थियो । त्यस्तै तेस्रो दिन शनिबार फिल्मले ३३ करोड कमाई गरेको छ । सुपरस्टार रजनीकान्तकोको फिल्म कुलीले दक्षिण भारतमा आफ्नो दबदबा कायम गरेको छ भने ऋतिक र जुनियर एनटीआरको फिल्म वार-२ ले हिन्दी भाषामा दबदबा कायम गरेको देखिएको छ ।

८- नेपाल विद्युत् प्राधिकरणको नाफामा गिरावट आएको छ । प्राधिकरणको ४०औँ वार्षिकोत्सवका अवसरमा कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरणको आर्थिक वर्ष २०८१/८२ को  करअघिको नाफा ९ अर्ब ६ करोड ७० लाख भएको छ । आर्थिक बर्ष २०८०/८१ मा भएको नाफाको तुलनामा यो ३७.३२ प्रतिशत कम हो । आर्थिक वर्ष २०८०/८१ मा प्राधिकरणको कर अघिको नाफा १३ अर्ब ३० करोड थियो । २०७२/७३ मा ८ अर्ब ८९ करोड रुपैयाँ घाटा बेहोरेको प्राधिकरण त्यसयता लगातार नाफामा छ । प्राधिकरणले निर्यातसहित विद्युत् बिक्रीबाट १ खर्ब २५ अर्ब २७ करोड ७० लाख आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ८.४६ प्रतिशत बढी हो । अन्य स्रोतबाट प्राप्त आम्दानीसहित २०८१/८२ मा कुल आम्दानी १ खर्ब ३८ अर्ब ८७ करोड र खर्च १ खर्ब २९ अर्ब ८१ करोड रुपैयाँ भएको जानकारी दिइएको छ । प्राधिकरणको कुल सम्पत्ति ६.२ प्रतिशतले बढेर ६ खर्ब ८४ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ । 

९- काठमाडौँ महानगरमा सार्वजनिक स्थानमा धुम्रपान गर्नेलाई जरिवाना गर्न शुरु गरिएको छ । आइतबार महानगर प्रहरी बलद्वारा पूर्व सूचना बमोजिम सार्वजनिक स्थानमा धुम्रपान गर्ने व्यत्तिलाई पाँच सय जरिवाना गर्न शुरु गरिएको छ । महानगरपालिकाले सार्वजनिक स्थलमा धुम्रपान गर्ने व्यक्तिलाई प्रत्येकपटक ५ सय रुपैयाँ जरिवाना गर्ने प्रावधान चालु आर्थिक वर्ष २०८२/८३ देखि लागु हुने गरि व्यवस्था गरेको छ । नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार सार्वजनिक स्थानमा अत्यधिक धुम्रपान र जनगुनासो बढेपछि कडाइ गर्न आर्थिक ऐनमा नयाँ जरिवाना व्यवस्था गरिएको हो ।

१०-  काठमाडौँ उपत्यकाको विभिन्न स्थान र मितिमा चोरी भएका ४१ ओटा दुई पाङ्ग्रे सवारी साधन (मोटरसाइकल र स्कुटर) खोजतलास गरी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बिच कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले १९ ओटा मोटरसाइकल र २२ ओटा स्कुटर सम्बन्धित धनीलाई आज हस्तान्तरण गरेका हुन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्‍त निवेदनका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा  काठमाडौँ उपत्यका स्थित जगाती, ठिमी, थली, नरेफाँट, काडाँघारी,लैनचौर,चापागाउँ नयाँबानेश्वर, हात्तिसार,एयरपोर्ट,सिफल,पुरानोबसपार्क, स्वयम्भू, गोकर्ण, सुन्दरीजल, कपन, धापाखेल, गल्फुटार, नेपालटार,नयाँबसपार्क र बालाजु लगायतका स्थानबाट उक्त सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको थियो ।  आज बुझाइएका ४१ ओटा सहित ५२ ओटा सवारी साधन गत साउन महिनादेखी आजसम्म ट्राफिक प्रहरीले धनीलाई जिम्मा लगाइसकेको छ ।  चोरीका २ ओटा दुई पाङ्ग्रे सवारी साधन सहित चोरीमा संलग्न ३ जना व्यक्तिहरूलाई पनि नियन्त्रणमा  लिएर आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ । 

११-  प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय विदेशसचिव विक्रम मिस्रीले शिष्टाचार भेट गरेका छन् । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपालको दु ईदिने औपचारिक भ्रमणका लागि आज काठमाडौँ आइपुगेका सचिव मिस्रीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन् । भ्रमणका क्रममा नेपाल र भारतका परराष्ट्र सचिवबीच नेपाल–भारत साझेदारीका विभिन्न पक्षमा छलफल हुने जनाइएको छ । प्रधानमन्त्री ओलीको आसन्न भारत भ्रमणको तयारी बारे छलफल गर्न विदेश सचिव मिश्री नेपाल आएको बुझिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली भदौ ३१ मा भारत भ्रमणमा जाने तयारी गरेका छन् । सवारी साधन जिम्मा लिए पश्चात सवारी धनिहरुले खुसी ब्यक्त गर्दै सामुहिक रुपमा ट्राफिक प्रहरीलाई धन्यवाद समेत दिएका थिए ।

१२- भारतको जम्मू कश्मीरमा फेरी बादल फाटेको छ । जम्मु कश्मीरको कठुआ जिल्लाको एक दुर्गम गाउँमा बादल फुटेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । बादल फुटेपछि आएको बाढीबाट चार जनाको मृत्यु भएको छ भने छ जना घाइते भएको रिपोर्टमा उल्लेख गरिएको छ । जानकारी अनुसार, कठुआको सोफेनमा रहेको गुज्जर बस्तीमा पहाड खसेको छ । त्यसमा चार घर पुरिएका छन् । सडकको ८० प्रतिशत भाग बगाएको छ । यो घटना गएराती भएको बताइएको छ । गाउँमा बादल फुटेका कारण बाटो अवरुद्ध भएको छ भने अहिलेसम्म चार जनाको शव निकालिएको छ । भारी वर्षाका कारण अधिकांश जलाशयहरूको पानीको स्तर द्रुत गतिमा बढेको छ र उज नदी खतराको चिन्ह नजिक बगिरहेको छ ।  यसअघि गत साता जम्मु कश्मीरमा बादल फाटेपछि आएको बाढीले ६५ जना भन्दा बढीको मृत्यु भएको थियो ।

१३- रुपन्देही ३ मा कार्तिक १७ गते हुन लागेको उपनिर्वाचनको लागि राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट हुने उम्मेदवारको चयन प्रक्रिया जारी रहेको छ । यसैबीच आज नौ जना आवेदकहरूको छलफलमा आज भैरहवास्थित रामादा होटलमा हुदैछ ।  उम्मेदवार हुन निवेदन दिनेहरूसँग प्यानलमा छलफलको लागि राष्ट्रिय स्वतन्त्र पार्टीको सह महामन्त्री विपिन आचार्य, पार्टी प्रवक्ता तथा सांसद मनिष झा, सांसद तथा पूर्व शिक्षा मन्त्री शिशिर खनाल र सांसद प्राध्यापक डाक्टर चन्दा कार्कीलगायत उपस्थित रहने भएका छन् । त्यस्तै उम्मेदवारी दिएकाहरुसँग पार्टीका उपसभापति तथा सांसद डा. स्वर्णिम वाग्लेले वान अन वान छलफल गर्ने प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । यस प्रक्रियाको उद्देश्य राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवारीको लागि निवेदकहरूले संविधान, देशको वर्तमान चुनौती र अवस्था, देशको राजनीतिक परिवेश, स्थानीय मुद्दा, कानुनी प्रक्रिया, संसदीय अभ्यास तथा जनचासोको विषयहरूमा कति जानकारी राख्छन भन्ने भुझ्नु रहेको प्रवक्ता झाले बताएका छन् ।

१४- पाकिस्तानमा बाढीमा मृत्यु हुनेको संख्या ३५० नाघेको छ । पाकिस्तानी मिडिया जियो न्यूजका अनुसार सबैभन्दा धेरै मृत्यु खैबर पख्तुनख्वा प्रान्तमा भएको छ, जहाँ नदीको बाढी र घरहरू भत्किँदा ३२८ जनाको मृत्यु भएको छ । त्यस्तै गिलगित बाल्टिस्तान मा १२ जना र पाकिस्तान प्रशासित जम्मू कश्मीरमा ११ जनाको मृत्यु भएको छ । बाढीमा परेर अझै १३४ जना बेपत्ता रहेको बताइएको छ । त्यस्तै १५९ भन्दा बढी घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको स्थानीय मिडियाहरुले उल्लेख गरेका छन् । अहिलेसम्म बाढीबाट प्रभावित ३५ सय भन्दा बढीको उद्धार गरिएको छ ।  भारी वर्षाका कारण शुक्रबार पाकिस्तानका विभिन्न जिल्लाहरूमा अचानक बाढी आएको थियो । विभिन्न नौ जिल्लाहरूमा लगभग २ हजार उद्धारकर्मीहरू उद्धारमा संलग्न रहेको र अझै पनि सबै ठाउमा उद्धार गर्न नसकेको बताइएको छ ।

१५-  नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुन तोलाको ७ सयले घटेर तोलाको एक लाख ९५ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको एक लाख ९६ हजार २ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५ रुपैयाँले घटेर २३१० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको २३१५ मा कारोबार भएको थियो ।

१६- अमेरिकाले गाजाबाट आउने मानिसहरूका लागि सबै आगन्तुक भिसा निलम्बन गरिरहेको घोषणा गरेको छ । अमेरिकी विदेश मन्त्रालयले हालका दिनहरूमा अस्थायी उपचार र मानवीय आधारमा केही भिसा जारी गर्न आवश्यक प्रक्रियाको गहन समीक्षाको लागि आगन्तुक भिसा स्थगित गरेको जानकारी दिएको हो । केही प्यालेस्टिनी अधिकार समूहहरूले अमेरिकी निर्णयको निन्दा गरेका छन् । प्यालेस्टिनी बाल राहत कोषले एक विज्ञप्ति जारी गर्दै यो निर्णयले गाजाबाट घाइते र गम्भीर बिरामी बालबालिकाहरूलाई उपचारको लागि अमेरिका पठाउनु पर्ने अवस्थालाई गम्भीर प्रभाव पार्ने बताएको छ ।

१७- भारतीय क्रिकेट नियन्त्रण बोर्डले क्रिकेटमा हुने इन्जुरीका विषयमा केहि नियम परिवर्तन गरेको छ । आगामी घरेलु सिजनदेखि लागु हुने गरि खेलका क्रममा चोट लागेर खेल्न नसक्ने भएमा खेलाडीलाई परिवर्तन गर्न सकिने नियम ल्याएको छ । यदि कुनै खेलाडी गम्भीर चोटपटक लागेर खेलमा थप खेल्न सक्ने अवस्थामा छैन भने, उसको ठाउँमा अर्को खेलाडीले मौका पाउने भएको छ । यो नियम बहु-दिवसीय घरेलु खेलहरूमा लागू हुनेछ । अर्थात्, एक दिनभन्दा बढी समयसम्म चल्ने खेलहरूमा यो नियम लागु हुने छ ।

१८- बायर्न म्युनिखले यस बर्षको डिएफएल सुपरकप जितेको छ । गएराती सम्पन्न खेलमा बायर्न म्युनिखले भिएफबी स्टुटगार्टलाई २-१ गोल अन्तरले पराजित गर्दै यस बर्षको डिएफएल सुपरकप जितेको हो । बायर्न म्युनिखको जितमा ह्यारी केन र लुइस डियाजले एक एक गोल गरेका थिए । त्यसैगरी भिएफबी स्टुटगार्टका लागि एक गोल जामी लेवेलिंगले गरेका थिए । डिएफएल सुपरकप हरेक बर्ष गत सिजनको बुन्डेसलिगा र डिएफबि पोकल विजेता टिमबीच खेल्ने गरिन्छ । कुनै बर्ष दुवै उपाधि एकै क्लबले जितेमा डिएफबि पोकलको उपविजेताले सुपर कप खेल्ने गर्दछ । डिएफएल सुपरकपको उपाधि अहिलेसम्म बायर्न म्युनिखले सबैभन्दा बढी ११ पटक जितेको छ ।  त्यस्तै बोरुसिया डोर्टमण्डले ६ पटक यो उपाधि जितेको छ । बायर्न म्युनिखले यो उपाधि २०२२ पछि यस बर्ष जितेको हो । 

१९- यस सिजनको स्पेनिस ला लिगा शुरु भएको छ । ला लिगाको शुरुवाती खेलमा बार्सिलोनाले शानदार शुरुवात गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले मल्लोर्कामाथि ३-० को जित निकाल्दै नयाँ सिजनको शानदार शुरुवात गरेको हो । बार्सिलोनाको जितमा राफिन्हा, फेरान टोरेज र लामिन यमलले एक एक गोल गरेका थिए । यस खेलमा मल्लोर्काका दुई खेलाडीले रातो कार्ड पाएका थिए । खेलको ३३औं मिनेटमा मानु मोर्लनेज र ३९औं मिनेटमा भेडाट मुरीकीले रातो कार्ड पाएपछि मल्लोर्का ९ खेलाडीमा सिमित भएको थियो । गएराती नै भएका अनु खेलमा डिपोर्टिभो आल्भेजले लेभान्तेलाई २-१ ले पराजित गरेको छ भने भलेन्सिया र रियल सोसियडाड १-१ गोलको बराबरी खेलेका छन् । त्यस्तै भिल्ला रियलले आफ्नो पहिलो खेलमा रियल ओभिएडोलाई २-० गोल अन्तरले पराजित गरेको थियो ।

२०- अस्ट्रेलियाले दक्षिण अफ्रिकाविरुद्धको टी-२० सिरिज जितेको छ । सिरिजको तेस्रो खेल २ विकेटले जितेसँगै अस्ट्रेलियाले ३ खेलको सिरिज २-१ ले जितेको हो । यस खेलमा दक्षिण अफ्रीकाले दिएको १७३ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले १९.५ ओभरमा ८ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । अस्ट्रेलियाको जितमा ग्लेन म्याक्सवेलले ३६ बलमा ६२ रन अविजित बनाएका थिए । त्यस्तै कप्तान मिचेल मार्शले ५४ रन बनाए भने ट्राभिस हेडले १९ रन बनाएका थिए । यस अघि यस हारेर पहिला ब्याटिंग गरेको दक्षिण अफ्रीकाले २० ओभरमा ७ विकेट गुमाउदै १७२ रन बनाएको थियो । यस खेलको प्लेयर अफ द म्याच अस्ट्रेलियाका ग्लेन म्याक्सवेल बने भने प्लेयर अफ द सिरिज अस्ट्रेलियाकै टिम डेभिड बनेका थिए । अब दुवै देशबीच तीन खेलको एकदिवसीय सिरिज हुदै छ । एक दिवसीय सिरिजको पहिलो खेलअगस्त १९ देखि शुरु हुदैछ ।

आइतबार​ १ भदौ २०८२ ०७:३४ PM मा प्रकाशित

प्रतिक्रिया