काठमाडौँ । भारतीय क्रिकेट नियन्त्रण बोर्डले क्रिकेटमा हुने इन्जुरीका विषयमा केहि नियम परिवर्तन गरेको छ ।
आगामी घरेलु सिजनदेखि लागु हुने गरि खेलका क्रममा चोट लागेर खेल्न नसक्ने भएमा खेलाडीलाई परिवर्तन गर्न सकिने नियम ल्याएको छ । यदि कुनै खेलाडी गम्भीर चोटपटक लागेर खेलमा थप खेल्न सक्ने अवस्थामा छैन भने, उसको ठाउँमा अर्को खेलाडीले मौका पाउने भएको छ । यो नियम बहु-दिवसीय घरेलु खेलहरूमा लागू हुनेछ । अर्थात्, एक दिनभन्दा बढी समयसम्म चल्ने खेलहरूमा यो नियम लागु हुने छ ।
इङ्ल्यान्डमा हालै भएको एन्डरसन-तेन्डुलकर सिरिजका क्रममा भारतका ऋषभ पन्त र इङ्ल्यान्डका तीव्र गतिका बलर क्रिस वोक्स घाइते भएका थिए । तर नियम अनुसार, टाउकोमा चोट लागेमा मात्र खेलाडीलाई प्रतिस्थापन गर्न सकिने हुनाले पन्तले फ्र्याक्चार खुट्टासहित र वोक्सले आफ्नो भाँचिएको हातसहित खेलेका थिए । सोहि अवस्थालाई ध्यानमा राख्दै भारतको घरेलु क्रिकेटको लागि, बोर्डले अन्य चोटपटकमा पनि प्रतिस्थापनलाई अनुमति दिने निर्णय गरेको छ ।
यदि कुनै खेलाडीलाई खेलको समयमा गम्भीर चोट लागेको छ भने, प्रतिस्थापनलाई अनुमति दिन सकिन्छ। यो चोट खेलको समयमा र मैदान भित्र हुनुपर्छ ।
नयाँ खेल अवस्थाको बारेमा जानकारी बीसीसीआईले अहमदाबादमा चलिरहेको अम्पायरहरूको कार्यशालामा दिएको थियो । बीसीसीआईले यो नियम सेतो बल क्रिकेट (सय्यद मुश्ताक अली, विजय हजारे) मा लागू नहुने स्पष्ट पारेको छ ।
प्रतिक्रिया