काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण (सिजन-३) को उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्सले शानदार जित दर्ता गर्दै सुखद सुरुवात गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार भएको लिगको पहिलो प्रतिस्पर्धामा लुम्बिनीले साविक उपविजेता सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले सहजै पराजित गरेको हो।
सुदूरपश्चिमले दिएको ८८ रनको सामान्य लक्ष्य लुम्बिनी लायन्सले मात्र ९.५ ओभर (५९ बल) मा ३ विकेट गुमाएर ६१ बल बाँकी छँदै सजिलै पूरा गर्यो
८८ रनको झिनो लक्ष्य पछ्याएको लुम्बिनीलाई ओपनर द्वयले विष्फोटक सुरुआत दिलाए । अस्ट्रेलियाली ब्याटर डार्सी शर्टले मात्र १८ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै सर्वाधिक ४० रनको विस्फोटक इनिङ्स खेले ।
त्यस्तै, अर्का ओपनर आसिफ शेखले २५ बलमा २ चौका र २ छक्काको मद्दतले ३२ रन जोडे । पहिलो विकेटका लागि शर्ट र शेखबीच ७.१ ओभरमा ७१ रनको बलियो साझेदारी भएको थियो। निरोशन डिकवेला ७ रन र कप्तान रोहितकुमार पौडेल ५ रनमा अविजित रहे । सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले २ तथा अनिल खरेलले १ विकेट लिए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम रोयल्सको ब्याटिङ अर्डर लुम्बिनीका बलरहरूको घातक प्रहारसामु पूर्ण रूपमा निरिह बनेको थियो । सुदूरपश्चिम १७.२ ओभरमा जम्मा ८७ रनमा अलआउट हुन पुग्यो।
सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले २३ बलमा सर्वाधिक २७ रन बनाए। अनिल खरेलले अविजित १५ रन र सैफ जइबले १३ रन जोड्नु बाहेक टोलीका अन्य कुनै पनि ब्याटरले दोहोरो अङ्कको योगफल समेत छुन सकेनन् । आरिफ शेख, स्कट कुगेलेइन र हेमन्त धामी शून्य रनमै पभेलियन फर्किएका थिए।
सुदूरपश्चिमको इनिङ्सलाई ध्वस्त पार्न लुम्बिनीका तीव्र गतिका बलर किशोर महतोले घातक बलिङ गर्दै ४ ओभरमा २२ रन खर्चेर ४ विकेट चटकाए।
त्यस्तै, स्पिनर शेर मल्लले ४ ओभरमा मात्र ११ रन दिएर ३ महत्त्वपूर्ण विकेट हात पारे। शेड्ली भान शाल्कविक, तिलक भण्डारी र कप्तान रोहित पौडेलले समान १-१ विकेट लिँदै टोलीको जितको आधार तय गरेका थिए।
प्रतिक्रिया