काठमाडौं — भारतको नयाँदिल्लीमा हालै आयोजित 'एनडीटीभी वल्ड समिट २०२६' मा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिएको एक अभिव्यक्तिको विषयलाई लिएर नेपाली राजनीतिक वृत्तमा चर्को बहस र आलोचना सुरु भएको छ। सोही क्रममा नेता प्रदीप ज्ञवालीले अर्थमन्त्री वाग्लेलाई लक्षित गर्दै कडा प्रश्न तेस्रो गरेका छन्।
अर्थमन्त्री वाग्लेले आफ्नो सम्बोधनका क्रममा "नेपालमा राष्ट्रवादलाई भारतविरोधी भावनासँग जोड्ने युग समाप्त भइसकेको छ" भन्ने आशयको अभिव्यक्ति दिएका थिए। उक्त अभिव्यक्तिलाई लिएर प्रतिपक्ष दल तथा विभिन्न राजनीतिक नेताहरूले आपत्ति जनाएका छन्।
नेकपा (एमाले) का नेता एवम् पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अर्थमन्त्री वाग्लेको उक्त भनाइप्रति कडा आपत्ति जनाउँदै प्रश्न गरेका छन्— "कुन ‘युग’को कुरा गर्नुभएको? के नेपालको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र छिमेकीसँगको समन्यायिक सम्बन्धको मुद्दा कुनै खास युगसँग मात्र सम्बन्धित हुन्छ?"
नेता ज्ञवालीले नेपालमा राष्ट्रवाद वा राष्ट्रिय हितको कुरा गर्नु भारत विरोध नभएर आफ्नै देशको स्वाभिमान र स्वतन्त्र विदेश नीतिको पक्षमा उभिनु रहेको स्पष्ट पारेका छन्। उनले कूटनीतिक मर्यादाविपरीत छिमेकी देशको भूमिमा गएर नेपाली राष्ट्रवादको मर्ममाथि प्रहार गर्ने किसिमका अभिव्यक्ति दिनु अशोभनीय र अपरिपक्व भएको टिप्पणी गरेका छन्।
अर्थमन्त्री वाग्लेको यस भनाइलाई केवल नेता ज्ञवालीले मात्र नभई अन्य राजनीतिक दलका नेताहरू र बुद्धिजीवीहरूले पनि देशको कूटनीतिक हितविपरीत रहेको भन्दै आलोचना गरेका छन्। राष्ट्रिय स्वाभिमानका मुद्दाहरूलाई हल्का रूपमा लिइएको भन्दै संसददेखि सार्वजनिक मञ्चहरूसम्म यस विषयमा सरकारको आधिकारिक धारणा माग गरिएको छ।
परराष्ट्र मामिलाका विज्ञ तथा राजनीतिक विश्लेषकहरूले पनि अन्तर्राष्ट्रिय मञ्चमा मन्त्रीस्तरबाट जिम्मेवार र दूरदर्शी अभिव्यक्ति आउनुपर्नेमा जोड दिएका छन्। यस विवादले हाल नेपाली राजनीतिमा कूटनीतिक आचरण र राष्ट्रिय हितका विषयलाई फेरि एकपटक केन्द्रमा ल्याएको छ।
प्रतिक्रिया