स्याङ्जा — नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर अहिलेदेखि नै तयारीमा जुट्न पार्टी पङ्क्तिलाई निर्देशन दिनुभएको छ । स्याङ्जामा आयोजित स्वागत तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले अब विगतको जस्तो चुनावको मुखमा मात्र टिकटका लागि दौडधुप गर्ने वा नेताको चाकरी गरेर टिकट हत्याउने प्रवृत्तिको पूर्ण अन्त्य हुने उद्घोष गर्नुभयो।
पार्टी विधानमा गरिएको नयाँ व्यवस्था अनुसार अब तल्लो तहका सदस्यहरूको गोप्य डिजिटल मतदान (Digital Voting) मार्फत पारदर्शी रूपमा उम्मेदवारको चयन गरिने उहाँले स्पष्ट पार्नुभयो ।
सभापति थापाका अनुसार आगामी एक महिनाभित्र पार्टीको क्रियाशील सदस्यता तथा डिजिटल प्रणाली अद्यावधिक गर्ने काम सम्पन्न गरिनेछ। त्यस लगत्तै आगामी पुस र माघ महिनाभित्रै तल्लो तहका साथीहरूको गोप्य डिजिटल मतदान गराएर योग्य उम्मेदवारहरूको प्रारम्भिक सूची तयार पारिने कार्ययोजना कांग्रेसले बनाएको छ ।
"डिजिटल्ली मतदान हुन्छ, कसले कसलाई छान्नुभयो भन्ने कुरा पूर्ण रूपमा गोप्य रहन्छ," थापाले भन्नुभयो, "त्यस प्रणालीबाट आएको योग्य साथीहरूको प्रारम्भिक सूचीमा विभिन्न तहमा आवश्यक छलफल गरी चुनावभन्दा कम्तीमा दुई–तीन महिना अगावै अन्तिम उम्मेदवारको टुङ्गो लगाइनेछ । पहिला जस्तो केन्द्रबाट वा माथिबाट टिकट बाँड्ने र खोस्ने परिपाटी अब व्यवहारबाटै बदलिनेछ ।"
१५ औँ महाधिवेशनबाट निर्वाचित भएपछि पहिलो प्राथमिकता सङ्गठनलाई प्रभावकारी बनाउने र जनतासँगको सम्बन्ध सुधार गर्ने रहेको थापाले बताउनुभयो । कांग्रेसले केवल निर्वाचनमा गुमाएको मतको चिन्ता गर्नुभन्दा पनि जनताको भरोसा र विश्वास पुनःस्थापित गर्नु अहिलेको मुख्य आवश्यकता रहेको उहाँको तर्क थियो।
थापाले स्पष्ट पार्दै भन्नुभयो, "जब हामी जनताको विश्वास जित्छौँ, मत स्वतः पछि-पछि आउनेछ । त्यसैले पार्टीको छवि र जनधारणा सुधारका लागि प्रत्येक सदस्यले गाउँ-गाउँमा पुगेर मिहिनेत गर्नुपर्छ ।" उहाँले पार्टीको विगतको मत परिणामको गम्भीर समीक्षा गर्दै आन्तरिक तथा बाह्य कमजोरीहरू पहिचान गरिने समेत औँल्याउनुभयो ।
नेपाली कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको आधिकारिक शपथ ग्रहण कार्यक्रम आगामी कात्तिक १२ गते तय भएको छ । शपथ ग्रहण लगत्तै बस्ने केन्द्रीय समितिको पहिलो बैठकले पार्टीको आगामी ठोस योजना र मार्गचित्र तय गर्नेछ ।
सभापति थापाले आगामी मंसिर महिनालाई 'राजनीतिक चेतना तथा परिचालन महिना' का रूपमा मनाउने घोषणा गर्नुभएको छ । केन्द्रीय समितिको बैठकबाट विशेष महाअभियानका प्रस्तावहरू पारित गरी मंसिर महिनाभरि सम्पूर्ण पार्टी पङ्क्तिलाई गाउँ-गाउँ र घर-घरमा परिचालन गरिने रणनीति कांग्रेसले अख्तियार गरेको छ ।
प्रतिक्रिया