×

एनपीएलको तेस्रो संस्करण सुरु: प्रधानमन्त्री बालेन शाहद्वारा भव्य रूपमा उद्घाटन हुने, खेल क्षेत्रमा नयाँ उत्साह

images

काठमाडौं — नेपालकै सबैभन्दा ठूलो र प्रतिष्ठित फ्रेन्चाइज क्रिकेट प्रतियोगिता 'नेपाल प्रिमियर लिग' (एनपीएल) को तेस्रो संस्करण आजदेखि औपचारिक रूपमा सुरु भएको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा एक भव्य समारोहबीच प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

छोटो समयमै देशको खेलकुद जगत्मा ठूलो उत्सवको रूपमा स्थापित एनपीएलको यस संस्करणलाई लिएर खेलाडी, आयोजक तथा समग्र नेपाली क्रिकेटप्रेमीहरूमा अभूतपूर्व उत्साह देखिएको छ।

प्रतियोगिताको उद्घाटनअघि प्रधानमन्त्री बालेन शाहले सामाजिक सञ्जालमार्फत सम्पूर्ण खेलाडी, आयोजक नेपाल क्रिकेट संघ (क्यान) तथा देशविदेशका खेलप्रेमीहरूलाई हार्दिक शुभकामना व्यक्त गरेका छन्। उनले एनपीएलले छोटो अवधिमै हासिल गरेको लोकप्रियताको प्रशंसा गर्दै यसले नेपाली खेलकुदलाई नयाँ उचाइमा पुर्याएको बताएका छन्।

अङ्ग्रेजीमा जारी गरिएको आफ्नो सन्देशमा प्रधानमन्त्री शाहले प्रतियोगितामा सहभागी हुन आएका अन्तर्राष्ट्रिय स्तरका ख्यातिप्राप्त खेलाडीहरू तथा कमेन्टेटरहरूलाई समेत न्यानो स्वागत गरेका छन्। उनले आफ्नो सन्देशको अन्त्यमा "नेपाली क्रिकेट अमर रहोस्" भन्दै नेपाली खेल क्षेत्रको उज्ज्वल भविष्यको कामना गरेका छन्।

यसपटकको एनपीएलअन्तर्गत हुने प्रतिस्पर्धा अघिल्ला संस्करणहरूभन्दा अझ बढी रोमाञ्चक र व्यावसायिक बन्ने अपेक्षा गरिएको छ।विश्वभरका चर्चित टी-२० खेल्ने खेलाडीहरूको उपस्थिति र ठूला विदेशी नामहरूले प्रतियोगितालाई थप प्रतिस्पर्धी बनाएका छन्।

 नेपाली घरेलु क्रिकेटमा पहिलो पटक डिआरएस (DRS) प्रविधिको प्रयोग गरिँदैछ, जसले खेललाई अझ निष्पक्ष र न्यायसंगत बनाउनेछ। विजेता तथा उपविजेता टिमका लागि पुरस्कार राशिमा समेत वृद्धि गरिएको छ, जसले खेलाडीहरूको मनोबल उच्च बनाउनेछ। तेस्रो संस्करणको पहिलो उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिमबीच कडा प्रतिस्पर्धा हुनेछ।

प्रधानमन्त्री बालेन शाहले सरकारले खेलकुद क्षेत्रको विकासलाई उच्च प्राथमिकतामा राखेको बताउँदै आएका छन्। एनपीएल जस्ता ठूला प्रतियोगिताले नेपालमा खेलकुद पर्यटन (Sports Tourism) को ढोका खोल्नुका साथै युवा पुस्तालाई खेलकुदप्रति आकर्षित गर्न ठूलो भूमिका खेल्ने विश्वास गरिएको छ।

प्रधानमन्त्रीको आतिथ्यतामा भइरहेको यस उद्घाटन समारोहले नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रियस्तरमा थप परिचित गराउने र राष्ट्रिय गौरवलाई उचो राख्ने विश्वास लिइएको छ। आजबाट सुरु भएको यो क्रिकेट महाकुंभले आगामी केही हप्तासम्म सिङ्गो देशलाई खेलमय बनाउनेछ।

सोमबार १० कात्तिक २०८३ १०:२३ AM मा प्रकाशित

प्रतिक्रिया