×

डडेलधुरामा कांग्रेस चार र माओवादी केन्द्र दुई पालिका प्रमुखमा विजय

images

सातवटा स्थानीय तह रहेको डडेल्धुराको छ वटा स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ । छ वटा स्थानीय तहको मत परिणाम सार्वजनिक हुँदा नेपाली कांग्रेसले चार र माओवादीले दुई स्थानीय तहको प्रमुखमा जीत हात पारेको छ ।

परशुराम नगरपालिकाको अन्तिम मत परिणाम आउन बाँकी रहेको छ । अमरगढी नगरपालिका प्रमुखमा अमरगढी नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ । नेपाली कांग्रेस (विपी) र नेकपा एमालेको गठबन्धनका उम्मेदवारलाई हराउँदै नगरप्रमुखमा डिल्लीराज जोशी र उपप्रमुखमा पार्वती झुकाल निर्वाचित हुनुभएको हो ।

 कांग्रेस (विपी) र एमालेका गठबन्धनका उम्मेदवार हरि भट्टलाई हराउँदै प्रमुखमा जोशी र गठबन्धनकै उम्मेदवार यज्ञराज अवस्थीलाई हराउँदै झुकाल निर्वाचित हुनुभएको हो । 

प्रमुखमा निर्वाचित जोशीले तीन हजार ६१९ मत ल्याउनुभएको छ । उहाँका प्रतिद्वन्द्वी भट्टले तीन हजार ४२६ मत प्राप्त गर्नुभएको छ । उपप्रमुखमा विजयी झुकालले तीन हजार ६७८ मत ल्याउँदा उहाँका प्रतिद्वन्द्वी यज्ञराज अवस्थीले तीन हजार ८५ मत पाउनुभयो ।

    अजयमेरु गाउँपालिका प्रमुखमा भट्ट

अजयमेरु गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षमा माओवादी केन्द्रका उमेशप्रसाद भट्ट र उपाध्यक्षमा नेपाली कांग्रेसकी वसन्ती पाल निर्वाचित हुनुभएको हो ।

 नेकपा एमालेका उम्मेदवार पदम पाललाई हराउँदै माओवादी केन्द्रका भट्ट र माओवादी केन्द्रकी उम्मेदवार कलावती भाणलाई पछि पार्दै कांग्रेसकी पाल विजयी हुनुभयो ।

अध्यक्षमा निर्वाचित भट्टले दुई हजार ४६९ मत ल्याउँदा उहाँका निकटतम प्रतिद्वन्द्वी पालले दुई हजार २९७ मत ल्याउनुभयो । विसं २०७४ को स्थानीय तह निर्वाचनमा पनि माओवादी केन्द्रका भट्ट नै विजयी हुनुभएको थियो ।

नवदुर्गा गाउँपालिका प्रमुखमा अवस्थी

नवदुर्गा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षमा नेपाली कांग्रेसबाट निर्वाचित लक्ष्मीप्रसाद अवस्थीले दुई हजार ८७९ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका कविन्द्र बिष्टले दुई हजार ६०६ मत ल्याउनुभयो ।

 उपाध्यक्षमा कांग्रेसकी निर्मला बिष्टले तीन हजार २०८ मत ल्याई निर्वाचित हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीकी चन्द्रा रूपालीले दुई हजार ३६७ मत प्राप्त गर्नुभयो ।

आलिताल गाउँपालिका प्रमुखमा पार्की

आलिताल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । अध्यक्षमा माओवादी केन्द्रबाट निर्वाचित शेरसिंह पार्कीले दुई हजार ३८९ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवारले दुई हजार २२४ मत पाएका थिए ।

उपाध्यक्षमा निर्वाचित मैनाकुमारी रावलले दुई हजार ६०२ मत प्राप्त गरिन् । कांग्रेसकका उम्मेदवारले दुई हजार २४१ मत ल्याएकी थिइन् । 
    
गन्यापधुरा गाउँपालिका प्रमुखमा कार्की

गन्यापधुरा गाउँपालिकामा नेपाली कांग्रेसका अध्यक्ष र उपाध्यक्ष पदका उम्मेदवार निर्वाचित भएका छन् ।

कांग्रेसबाट अध्यक्षका उम्मेदवार इन्द्रबहादुर कार्कीले तीन हजार १८४ मत प्राप्त गरी विजयी भएका हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेस (विपी) का सुरेन्द्रबहादुर मालीले एक हजार ६०६ मत ल्याएका थिए । उपाध्यक्षका उम्मेदवार ज्ञानु सेटीले तीन हजार १३ मत प्राप्त गरी निर्वाचित हुँदा उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका इन्द्र महराले एक हजार ७०३ मत प्राप्त गर्नुभयो ।

भागेश्वर गाउँपालिका प्रमुखमा चटौत

डडेलधुराको भागेश्वर गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका हेमराज चटौत दुई हजार ३११ मतसहित पालिका अध्यक्षमा विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रामबहादुर शाहीले एक हजार ७८ मत ल्याउनुभयो । यस्तै उपाध्यक्षमा काँग्रेसकै पुष्पा ठकुराठी दुई हजार ३४८ मतसहित निर्वाचित हुनुभयो । उहाँका प्रतिस्पर्धी माओवादी केन्द्रकी गीता भट्टले ८३२ मत मात्र प्राप्त गर्नुभयो ।

मङ्गलबार ३ जेठ २०७९ ०९:४५ PM मा प्रकाशित

प्रतिक्रिया