×

इरानसँगको शान्ति सम्झौतामा पाकिस्तानमा हस्ताक्षर हुन्छ भने म इस्लामाबाद जान सक्छु-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प

images

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको शान्ति सम्झौता (पिस डिल) का लागि आफू स्वयं पाकिस्तानको राजधानी इस्लामाबाद जान सक्ने बताएका छन्। ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले इरानसँगको वार्ता र पाकिस्तान भ्रमणको सम्भावनाबारे उक्त धारणा राखेका छन्। “पाकिस्तानले निकै राम्रो गरिरहेको छ। यदि त्यहाँ (पाकिस्तानमा) सम्झौतामा हस्ताक्षर हुन्छ भने म इस्लामाबाद जान सक्छु,” ट्रम्पले भनेका छन्। उनले पाकिस्तानको नेतृत्वको प्रशंसा गर्दै त्यहाँका प्रधानमन्त्री र फिल्ड मार्शलले उत्कृष्ट काम गरिरहेको उल्लेख गरेका छन्।

यसैबीच, शान्ति प्रक्रियाकै सिलसिलामा पाकिस्तानका सेना प्रमुख फिल्ड मार्शल आसिम मुनिर र गृहमन्त्री मोहसिन नक़वी नेतृत्वको टोली इरानको राजधानी तेहरान पुगेको छ। पाकिस्तानी प्रतिनिधिमण्डलले बिहीबार राति इरानी राष्ट्रपति मसूद पेजेस्कियानसँग भेटवार्ता गरेको छ।

यसअघि गत शनिबार इस्लामाबादमा अमेरिका र इरानबीच २१ घण्टा लामो पहिलो चरणको वार्ता भएको थियो, जुन निष्कर्षविहीन टुङ्गिएको थियो। उक्त वार्तामा अमेरिकाका तर्फबाट उपराष्ट्रपति जेडी भान्स, स्टिभ विटकफ र जेरेड कुश्नर सहभागी थिए भने इरानी टोलीको नेतृत्व संसदका सभामुख मोहम्मद बगर गालिबाफले गरेका थिए।

राष्ट्रपति ट्रम्पले इरानसँगको युद्ध छिट्टै अन्त्य हुनुपर्नेमा जोड दिएका छन्। नेभाडामा आयोजित एक कार्यक्रममा बोल्दै उनले भनेका छन्, “इरानको युद्धसँग जोडिएको मुद्दामा राम्रो प्रगति भइरहेको छ र यो छिट्टै समाप्त हुनुपर्छ।” ह्वाइट हाउसले दोस्रो चरणको वार्ताका लागि छलफल जारी रहे पनि स्थान र समय भने तय भइनसकेको जनाएको छ।

इरानले यसै साता अमेरिकाले हर्मुज स्ट्रेटको नाकाबन्दी जारी राखे युद्धविराम तोडिन सक्ने चेतावनी दिएको थियो। अमेरिकी सेनाका अनुसार नाकाबन्दीका कारण ओमानको खाडीमा कैयौँ व्यापारिक जहाजहरू फर्कनुपरेको छ।

यद्यपि, फक्स न्युजसँगको अन्तर्वार्तामा ट्रम्पले हर्मुज स्ट्रेट खुल्दै गरेको र जहाजहरू फिर्ता आउन थालेको दाबी गरेका छन्। उनले इरानसँग “ठूलो सम्झौता” हुन सक्ने विश्वास व्यक्त गरेका छन्।

राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत इरान समर्थित सशस्त्र समूह हिजबुल्लाहलाई इजरायलसँगको युद्धविराम पालना गर्न अपिल गरेका छन्। “मलाई आशा छ यो महत्वपूर्ण समयमा हिजबुल्लाहले उचित व्यवहार गर्नेछ,” उनले लेखेका छन्।

लेबनान र इजरायलबीच १० दिने युद्धविराम लागू भइसकेको छ। ट्रम्पले लेबनानी राष्ट्रपति जोसेफ औन र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँगको संवादपछि यो सहमति भएको घोषणा गरेका छन्।

इजरायली अधिकारीहरूका अनुसार युद्धविराम अवधिमा हिजबुल्लाहले आक्रमण गरेमा मात्र इजरायलले सैन्य जवाफ दिनेछ। यद्यपि, प्रधानमन्त्री नेतान्याहुले स्थायी शान्तिका लागि हिजबुल्लाहको निशस्त्रीकरण अनिवार्य रहेको बताएका छन्।

शुक्रबार​ ४ बैशाख २०८३ ११:४१ AM मा प्रकाशित

प्रतिक्रिया