×

कांग्रेसको साथले दाहाललाई सहज

images

काठमाडौं। सत्ता गठबन्धनतर्फ गोरखा २ का उम्मेदवार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही कात्तिक १२ गते यहाँबाट निर्वाचन जित्न आफूलाई सहज भएको बताएका थिए।

‘अहिलेसम्मका निर्वाचनमध्ये मैले यसपटक सबैभन्दा सहज र एक हिसाबले रिल्याक्स फिल गरेको छु,’ उनले अजिरकोटको सभामा भनेका थिए। यसअघि देशका विभिन्न क्षेत्रबाट निर्वाचन लडेका दाहाललाई गोरखा २ मा सहज जित निकाल्न कठिनाइ नरहेको स्थानीय बुद्धिजीवीसमेत बताउँछन्। सभामा उनले पुरानो सम्बन्ध र स्मरण दोहोर्‍याउने अवसरका रूपमा आफूले यो निर्वाचनलाई लिएको उनले बताएका थिए।

दुईपटक प्रधानमन्त्री बनिसकेका दाहालले गोरखा २ रोज्नुमा उनको ठूलै चलाखी देखिन्छ। गोरखा र पृथ्वीनारायण शाहकोे ऐतिहासिक साइनो छ। त्यही साइनो गाँसेर राष्ट्रिय राजनीतिमा शक्तिशाली बन्ने महत्वाकांक्षा दाहालमा देखिन्छ। २०६३ सालमा शान्ति प्रक्रियामा आएपछि पनि दाहाल गोरखा दरबार पुगेका थिए। त्यहाँबाट उनले आफू शक्तिशाली भएको सन्देश दिएका थिए।

गोरखामा पञ्चायतकालमा सत्ता पक्ष र नेपाली कांग्रेसबीच द्वन्द्व सुरु भयोे। बहुदल आएपछि त्यो द्वन्द्व माओवादी र कांग्रेसमा परिणत भयो। काटमार नै भयो। २७ जना कांग्रेसका कार्यकर्ता माओवादीबाट मारिए। अहिले हिजोको मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेसको हात र साथले दाहाल यहाँबाट निर्वाचन जित्ने दाउमा छन्।

घरदैलो र चुनावीसभा सम्बोधनमा व्यस्त दाहाल दैनिक १४ घण्टा चुनावी काममा खटिरहेको उनको सचिवालयका रमेश मल्लले बताए। दाहालका सभा र घरदैलो निकै छोटो समयका हुने गरेका छन्। दाहाल विगत र वर्तमानका शुभेच्छुकहरूको भेटघाट र सम्बन्ध नवीकरणमा पनि व्यस्त रहेको मल्लले बताए। ‘चितवनबाट उठेको भए सत्ता गठबन्धनको भोट निर्णायक बन्थ्यो। गोरखामा चाहिँ माओवादी केन्द्रको भोटले नै उहाँलाई सहज बनाउने देखिन्छ। गठबन्धनका कारण त्यस्तो सहज बनेको चाहिँ होइन,’ मल्लले भने।

‘हिजो निर्वाचन जित्नेहरू र हार्नेहरू नै अहिले गठबन्धन गरी एउटै चिह्नमा लडेकाकाले प्रतिस्पर्धा नै छैन। गठबन्धनले गर्दा गोरखामा निर्वाचनको प्रतिस्पर्धा नै नदेखिएको हो,’ स्थानीय डण्डप्रसाद पुडासैनीले भने। जितका लागि गोरखा २ सहज भएको बताए पनि दाहालले आफूले जितेमा प्रधानमन्त्री बन्ने र गोरखाको विकासलाई अगाडि बढाउने भन्दै मतदाता रिझाउन भने छाडेका छैनन्।

धुले र कच्ची बाटो पक्की बनाउने, पालुङटार विमानस्थल सञ्चालन गर्ने, गोरखाली रबर उद्योग सञ्चालन गर्र्ने, बुढीगण्डकी जलविद्युत् आयोजना सञ्चालन गर्ने, आरुघाट–लार्के सडक निर्माण गर्ने दाहालको प्रतिबद्धताले आकर्षण गरे पनि चुनावैपिच्छे क्षेत्र परिर्वतन गरिरहने छवि बनाएका उनका वाचा कार्यान्वयन हुनेमा मतदाता त्यति विश्वस्त भने नदेखिएको आजको नागरिक दैनिकमा खवर छ ।

बुधबार ३० कात्तिक २०७९ ०९:१३ AM मा प्रकाशित

प्रतिक्रिया