×

झापामा सत्तारुढ गठबन्धन र एमाले नेतृत्वको गठबन्धनबीच प्रतिस्पर्धा

images

झापा । मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको लागि झापामा प्रभावशाली नेताहरुको प्रतिस्पर्धा हुने भएको छ । सत्तारुढ गठबन्धन र एमाले नेतृत्वको गठबन्धनबीच प्रतिस्पर्धा हुने भएको हो ।

झापाबाट एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली,,राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेन ,नेपाली काँङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा ,काँङ्ग्रेसकै पूर्व महामन्त्री कृष्णप्र्रसाद सिटौला जस्ता प्रभावशाली नेता चुनावी मैदानमा उत्रिएका छन् ।

झापाको क्षेत्र नम्बर १ मा सत्तापक्षीय गठबन्धनबाट काँङ्ग्रेसका महामन्त्री शर्माले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका छन्। शर्माले नेकपा एमाले स्थायी कमिटी सदस्य अग्नि खरेलसँँग प्रतिस्स्पर्धा गर्ने निश्चित भएको छ । शर्माले सोही क्षेत्रबाट २०७० र २०७४ मा दुई पटक निर्वाचनमा उपविजेता भइसकेका छन् ।

एमालेका खरेल भने पहिलो पटक झापा १ मा उम्मेदवार बनेका हुन् ।। उनी झापाको क्षेत्र नम्बर २ मा उठ्ने चर्चा भएपनि यहाँ देबराज घिमिरेलाई छोडर– १ मा उम्मेदवार बनेका हुन् । क्षेत्र नम्बर–१ को प्रदेशसभाको (क) मा भने एमालेबाट रविन कोइरालाले उम्मेदवारी दिएका छन् । पार्टी कमिटीले कोइरालाको नाम प्रतिनिधिसभामा एकल सिफारिस गरेको भएपनि उनले खरेललाई क्षेत्र छोडर प्रदेशसभाको उम्मेदवार बनेका हुन । कोइरालाले काँङ्ग्रेसका नेता गोपाल तामाङसँग प्रतिस्पर्धा गर्नेछन् । यस्तै गठबन्धन दलको तर्फबाट क्षेत्र (ख) मा श्यामविर लिम्बुको राप्रपा नेतृ सविना बजगाँइसँग प्रतिस्पर्धा हुने निश्चित भएको छ ।

झापा २ मा एमालेका प्रदेश इन्चार्ज तथा स्थायी कमिटी सदस्य देबराज घिमिरे , एमालेकै प्रदेश कमिटीका पूर्व सदस्य हरिकुमार रानासँग प्रतिस्पर्धा गर्दैछन् । मनोनयन भन्दा एकदिन अघिमात्र एमाले छोड्नु भएका रानाले गठबन्धन दलको नेकपा माओवादी केन्द्रको चुनाब चिन्हबाट निर्वाचन लड्ने सहमति भएको छ ।

क्षेत्र नम्बर २ को (क) मा नेकपा एकिकृत समाजवादीका पुष्प पोखरेल र एमालेका एकराज कार्कीको प्रतिस्पर्धा हुनेछ । कार्की भने बर्तमान प्रदेशसभाका सदस्य हुन्। पोखरेल भद्रपुर नगरपालिकाका मेयर तथा झापा ३ बाट एक कार्यकाल सासद भइसकेका छन् ।

यस्तै प्रदेशसभा (ख) मा एमालेका प्रदेश सचिव समेत रहेका चिन्तन पाठक र काँङ्ग्रेसका खगेन्द्र मैनालीबीच प्रतिष्पर्धा हुने निश्चित भएको छ । झापा ३ मा नेपाली काँङ्ग्रेका पुर्व महामन्त्री सिटौलाको र राप्रपाका अध्यक्ष लिङदेनसँग प्रतिस्पर्धा हुनेछ । सत्ता गठबन्धनका सिटौला र एमालसँग तालमेल गरेका लिङदेनको प्रतिस्पर्धाका कारण यो क्षेत्र बढी चर्चामा छ । २०७४ सालमा तत्कालिन बाम गठबन्धनसँग तालमेलको निर्वाचनमा लिङदेनले १३ हजार मतले सिटौलालाई हराएका थिए ।

झापा ३ को प्रदेशसभा (क)मा नेकपा एमालेबाट अहिलेका प्रदेशससभा सदस्य बसन्त बाँनिया र नेपाली काँङ्ग्रेसबाट भूमि प्रसाद राजबंशीबीच प्रतिस्पर्धा हुने भएको छ । यस्तै (ख) मा नेकपा माओवादी केन्द्रका पूणसिं राजबंशी र एमालेका छवि चुँडालबीच प्रतिस्पर्धा हुने भएको छ ।

झापा ४ को प्रतिनिधिसभा सदस्य पदमा काँङ्गे्रसका जिल्ला सभापति देउकुमार थेवेले एमालेका एलपी साँवासँग दोस्रो पटक प्रतिस्पर्धा गर्ने भएका छन्। २०७४ मा तत्कालिन बाम गठबन्धनको समर्थनमा उम्मेदवारी दिएका साँवाले थेवेलाई ठुलो मत अन्तरले पराजित भएका थिए । झापा ४ को (क) मा सत्ताधारी दलको तर्फबाट माओवादीका झलकबहादर मगर उठेका छन् । उनी बर्तमान कृषिमन्त्रीसमेत हुन । उनको एमालेका राधाकृष्ण खनालसँग प्रतिस्पर्धा हुनेछ । (ख) मा काँङ्गे्रसका एकराज उप्रेती र राप्रपाका भक्ति सिटौलाबीच प्रतिस्पर्धा हुने भएको छ ।

झापा ५ पूर्व प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्र हो । यहाँ ओलीले काँङ्ग्रेसका डाक्टर खगेन्द्र पाण्डव अधिकारीसँग दोस्रोे पटक प्रतिस्पर्धा गर्दैछन् । ओलीले अधिकारीलाई २०७४ को निर्वाचनमा भारी मतअन्तरले पराजित गरेका थिए । झापा ५ को (क्र)मा कांग्रेसका जीवनकुमार राई र नेकपा एमालेका हिक्मत कार्कीबीच प्रतिस्पर्धा हुनेछ । कार्की प्रदशे नम्बर १ को पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्रीसमेत थिए । (ख) मा नेकपा माओवादी केन्द्रका रेवतराज पुरीको एमालेका होमबहादुर थापासँग प्रतिस्पर्धा हुने आजको राजधानी दैनिकमा खवर छ ।

आइतबार​ ३० असोज २०७९ १०:०३ AM मा प्रकाशित

प्रतिक्रिया