×

चितवन २ मा फेरि रविले जिते दोस्रोपटक उपनिर्वाचन हुन्छ- योगेश भट्टराई

images

चितवन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव योगेश भट्टराईले चितवन क्षेत्र नं. २ मा गत मंसिरको जस्तो परीणाम आए, फेरि उपचुनाव हुनसक्ने बताएका छन् । एमाले सचिव भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति संकेत गर्दै फेरि पनि उनले जिते पुनः चुनाव गराउनुपर्ने अवस्था आउने टिप्पणी गरेका हुन्।

उनले भने ‘अहिले पनि चितवन २ मा विगतको जस्तो नतिजा आए, दोस्रोपटक उपचुनाव हुन्छ’। ‘यहाँका जनतालाई दुःख दिने काम गर्नु हुँदैन, मतदाताको केही दोष छैन, दोष त आफ्ना कागजात ठीकसँग नराख्नेको छ, जानीजानी गल्ती गरेको हो, समाजलाई ढाँटेको त उहाँले हो।’

गत मंसिर ४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा विजयी भई गृहमन्त्रीसमेत बनेका रवि लामिछाने नागरिकता मुद्दामा दोषी ठहर भएपछि दुवै पदबाट बर्खास्त भएका थिए। प्रक्रियाबमोजिम पुनः नेपाली नागरिकता लिएर उपचुनावमा पनि उम्मेदवार बनेका उनको दोहोरो राहदानी विवाद कायमै छ। यद्यपि महान्यायाधिवक्ताको कार्यालय भने यसमा मुद्दा चलाउनुनपर्ने देखिएको ठहर गरिसकेको छ। 

 चितवन–२ मा आगामी वैशाख १० गते उपनिर्वाचन हुँदै छ। जहाँ रविसहित सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ र नेकपा एमालेका रामप्रसाद न्यौपानेलगायत उम्मेदवार छन्। 

आइतबार​ ३ बैशाख २०८० ११:३२ AM मा प्रकाशित

प्रतिक्रिया