×

कृषि प्राविधिक शिक्षालयका विद्यार्थी ‘पढ्दै, सिक्दै, कमाउँदै’

images

गलेश्वर (म्याग्दी), ४ फागुन : म्याग्दीको मालिका गाउँपालिका–७ बिमस्थित किसानी कृषि प्राविधिक शिक्षालयका विद्यार्थी अहिले च्याउखेतीमा व्यस्त छन् ।

    कहिले तरकारी र फलफूलबारीमा मल बीउ राख्दै, कहिले आलुको बीउ ग्रेडिङ गर्दै, कहिले च्याउखेतीको तालिममा व्यस्त रहने यहाँका विद्यार्थीले पढाइसँगै सिकाइ र कमाइ पनि गरिरहेका छन् ।

    कृषि प्राविधिक शिक्षालयका कृषि र पशु विज्ञानमा अध्ययनरत विद्यार्थी पढाइसँगै आफूले उत्पादन गरेका कृषिउपज, फलफूल र तरकारी बिक्री गरेर आम्दानी गर्न थालेपछि घरबाट पैसा मगाएर पढ्नुपर्ने बाध्यता हटेको बताउँछन् ।

    विद्यार्थीले पढ्दै, सिक्दै र कमाउँदै गर्न थालेपछि प्राविधिक शिक्षाप्रति विद्यार्थीको आकर्षण बढेको छ । साथै स्थानीयलाई सुविधा र विद्यार्थीलाई आम्दानी दुवै प्राप्त भएको छ ।

    विसं २०६८ मा जिल्लामा पहिलोपटक सञ्चालन भएको किसानी कृषि प्राविधिक शिक्षालयले १२ वर्षको अवधिमा पाँच सय बढी कृषि प्राविधिक उत्पादन गर्नुका साथै शिक्षालयको भौतिक पूर्वाधारमा उल्लेख्य सफलता प्राप्त गरेको छ ।

    शिक्षालयमा कृषि विषय अध्ययनका लागि १२ जिल्लाबाट विद्यार्थी आएका छन् । कृषि अध्ययनका लागि विद्यार्थीको आकर्षण बढ्दै गएपछि शिक्षालयमा भौतिक पूर्वाधार थप गरिएको शिक्षालयका प्रधानाध्यापक जङ्गबहादुर गर्बुजाले बताउनुभयो । उहाँका अनुसार विद्यार्थीले पढाइको साथसाथै विभिन्न प्रकारका तरकारी उत्पादन गर्दै आएका छन् । 

    कृषि बालीविज्ञानअन्तर्गत जेटिएदेखि आइएससी (एजी) मा अध्ययनरत विद्यार्थीले विभिन्न प्रकारका तरकारी उत्पादन, बेर्ना उत्पादन, च्याउखेती गर्दै बजारमा बिक्रीवितरण गरी आम्दानी गरिरहेका प्रधानाध्यापक गर्बुजाले बताउनुभयो । विद्यार्थीले नयाँ प्रविधि तथा आधुनिक औजारको प्रयोग गरी उत्पादन गर्दै आएका उहाँको धनाइ थियो । 

    नयाँ प्रविधि तथा आधुनिक औजारको प्रयोग गरी उत्पादनलाई वृद्धि गर्दै विद्यालय र विद्यार्थीलाई आर्थिकरुपमा सबल बनाउँदै जाने योजना रहेको प्रअ गर्बुजाले जानकारी दिनुभयो ।

    बालीविज्ञान अध्ययनरत विद्यार्थी सैद्धान्तिक ज्ञानका साथै प्रयोगात्मक सीपको विकास गरी उच्चस्तरको जनशक्ति निर्माण गर्नुका साथै विद्यार्थीलाई पढ्दै कमाउँदै गर्नका लागि विभिन्न रचनात्मक योजनाहरु निर्माण तथा कार्यान्वयन गरिरहेका उहाँको भनाइ थियो । 

    पढाई सकेपछि आफैँ कृषिका ठूलाठूला व्यवसाय तथा फर्म स्थापना गरेर सञ्चालन गर्नसक्ने आँट आएको विद्यार्थी रमेश पुनले बताउनुभयो । 

    सुविधासम्पन्न भवनमा सूचना र प्रविधिका अत्याधुनिक साधनको प्रयोग गरेर शिक्षा दिइँदै आइएको शिक्षालयका प्रअ गर्बुजाजानकारी दिनुभयो । विद्यार्थीलाई किसानका खेतबारी र पशुगोठमा नै लगेर प्रयोगात्मक शिक्षा दिइँदै आएको उहाँको भनाइ छ । शिक्षालयमा छात्रको तुलनामा छात्राको सङ्ख्या बढी रहेको कृषि प्राविधिक शिक्षालयले जनाएको छ ।

    विसं २०६८ मा सिटिइभिटीबाट सम्बन्धन प्राप्त गरी १८ महिने जेटिए, पाँच वर्षअघि (विसं २०७४ देखि) तीनवर्षे आइएस्सी (एजी) र २०७६ सालदेखि भेटेरिनरी (पशु रोगको चिकित्सा वा उपचारसम्बन्धी) शिक्षा अध्यापन हुँदै आएको छ ।

    शिक्षालयमा अहिले सुर्खेत, जुम्ला, हुम्ला, मुगु, कैलाली, चितवन, कास्की, बागलुङ, म्याग्दीलगायत १२ जिल्लाबाट अध्ययनका लागि विद्यार्थी आएका छन् । हाल शिक्षालयमा ९० छात्रा र ५१ छात्र अध्ययनरत रहेका जनाइएको छ ।

    हाल शिक्षालयमा विभिन्न जिल्लाका एक सय ४१ विद्यार्थी अध्ययनरत छन् । कृषि डिप्लोमा ५१, डिप्लोमा पशुतर्फ ६० र प्री डिप्लोमातर्फ ३० जना गरी एक सय ४१ विद्यार्थीले कृषि र पशुसम्बन्धी शिक्षा लिइरहेका छन् ।

    मासिक रु पाँच हजारमा आवासीय सुविधासहित गुणस्तरीय शिक्षा प्राप्त गर्न पाएकाले विद्यार्थीको चाप बढ्दै गएको शिक्षालयले जनाएको छ । शिक्षालयका प्रअ गर्बुजाका अनुसार शिक्षालयले कृषि तथा पशु क्षेत्रका समुदायसँग समन्वय गरी स्थानीयस्तरमाट नै पशु चिकित्साका बारेमा ज्ञान दिने उद्देश्यसहित विभिन्न कार्यक्रम गरिरहेको छ । 

    भौतिक पूर्वाधारले सम्पन्न किसानी शिक्षालयले पछिल्लो समय बाली र पशु विज्ञानमा राम्रो नतिजा प्राप्त गर्दै आएको स्थानीय टेकबहादुर जुग्जालीले बताउनुभयो ।

    आइएस्सी (एजी) तेस्रो सेमिस्टरमा अध्ययनरत छात्रा कामना मगरले कृषिप्रधान देश भए पनि अधिकांश जग्गामा व्यावसायिकरूपमा खेती नगरिँदा बाँझिएको र आफू कृषि प्राविधिक भएपछि किसानलाई परम्परागत तरिकाले होइन, आधुनिक प्रविधिको प्रयोग गरी व्यावसायिकरूपमा खेती गर्न सिकाउने उद्देश्यले यस विषयमा आकर्षित भएको बताउनुभयो ।
---

शुक्रबार​ ४ फागुन २०८० १२:५१ PM मा प्रकाशित

प्रतिक्रिया