×

पाँच कम्युनिस्ट पार्टीको आज नेपाल बन्द, उपत्यकाबाट २३ जना बन्दकर्ता पक्राउ

images

काठमाडौं । एमसिसी सम्झौताविरुद्ध ५ वटा कम्युनिस्ट पार्टी र एउटा मोर्चाले आज नेपाल बन्दको घोषणा गरेका छन् । आजको प्रतिनिधि सभा बैठकमा एमसिसी टेबल हुने सम्भावना रहेको भन्दै ती दलहरुले बन्दको घोषणा गरेका हुन् ।

मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी तथा सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा नेपालले देशव्यापी बन्द आह्वान गरेका हुन् ।

बन्दको प्रभाव काठमाडौं उपत्यकामा खासै परेको छैन । बन्दकर्ताले गर्नसक्ने उच्छृङ्खल गतिविधिलाई रोक्न बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।  गृह मन्त्रालयले मंगलबार नै सर्कुलर जारी गरेर सुरक्षा व्यवस्था चुस्त बनाउन निर्देशन दिएको थियो । स्थानीय प्रशासनले सुरक्षाकर्मी परिचालन गरेको छ । लामो दूरीमा चल्ने गाडी भने फाट्टफुट्ट मात्रै छुटेका छन् ।

गृह मन्त्रालयले मंगलबार नै ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेर शान्ति सुरक्षा चुस्त राख्न निर्देशन दिइसकेको छ ।उपत्यकाबाट प्रहरीले २३ जना बन्दकर्तालाई पक्राउ गरेको छ । एमसिसिको बिरोधमा बन्द गराउन निस्केका २ महिला सहित २३ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता (एसपी) सन्तोष सिंह राठौरले रातोपाटीलाई बताए ।

पक्राउ पर्नेमा कोटेश्वर चोकमा पेट्रोल छर्केर ट्याक्सी जलाउन खोज्ने ५० वर्षीय मंगलबहादुर मोक्तान लगायत छन् ।

मङ्गलबार ३ फागुन २०७८ ०६:४४ PM मा प्रकाशित

प्रतिक्रिया