×

पोखरा विमान दुर्घटनाः मृत्यु भएका ६८ मध्ये २६ जनाको पहिचान, शव आफन्तलाई जिम्मा लगाइँदै

images

गण्डकी । पोखरामा आइतबार भएको यती एयलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकामध्ये २६ जनाको पहिचान खुलेको छ । बिहान करिब ११ बजे भएको दुर्घटनामा परेको विमानमा चालक दलका चारसहित ७२ जना सवार थिए ।

निधन भई पहिचान भएका व्यक्तिको शव आज आफन्तलाई जिम्मा लगाइने भएको छ । पहिचान नभएका, विदेशी नागरिक एवं काठमाडौँमा आफन्त भएका व्यक्तिको शव हेलिकप्टरमार्फत पठाउने तयारी गरिएको छ । जहाजमा सवार ७२ जनामध्ये हालसम्म ६७ जनाको शव सङ्कलन गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिसकिएको छ । 

सेती नदीको अप्ठेरो खोचमा विमान दुर्घटना भएको र रातको समय भएकाले उद्धारमा कठिनाइ भएसँगै आइतबार राति स्थगित उद्धार आज बिहानैदेखि सुरु गर्न लागिएको छ । जहाजमा चालक दलका चार जनासहित ७२ जना थिए। तीमध्ये ४ जना अझै फेला परेका छैनन्।

उनीहरूको खोजी जारी छ। दुर्घटनामा मृत्यु गुमाएर पहिचान खुल्नेमा पोखरा ११ बस्ने ३७ वर्षीय पत्रकार त्रिभुवन पौडेल, पोखरा १३, काहुँडाँडाका २७ वर्षका निशान्त आचार्य, पोखरा १७ घर भई अहिले बालाजु बस्ने संगीता शाही, पोखरा ४ का डा. सुशील श्रेष्ठ र उनकी श्रीमती डा. सोना दिवाकर  रहेका छन् ।


पर्वतको कुश्मा -१ का १० वर्षका रियान पौडेल, पोखरा १३ मियाँपाटनका सदाकत अलिमियाँ, पोखरा ७ की लक्ष्मी पौडेल, पर्वत कुश्मा -९ कटुवाचौपारीका ४६ वर्षका अरुण पौडेल, उनकी ११ वर्षकी छोरी प्रसिद्धी, पर्वत मोदी १ का ३९ वर्षका विजयकुमार गुरुङ, त्यही ठाउँकी रचना काफ्ले पौडेल, पोखरा २२ का रक्की गुरुङ छन् ।

यस्तै, रुपन्देही शंकर ८ का डा. गणेश थापा, काठमांडौंकी नतु परियार, रीता परियार, हरि परियार, पोखरा ८ की एसमिन गुरुङ, पोखराको बुद्धचोकका पूजन राना, बुटवल मुर्गिया घर भएकी एअर होस्टेज सृजना हुन्चिङ, कावासोती ६ का ३५ वर्षका मोहनप्रकाश श्रेष्ठ, पोखराको छोरेपाटनकी जीवनकला गुरुङ, कोरियन नागरिक यु क्युघुल, रसियन नागरिक जुरिज लेगिन र एलेनको पहिचान खुलेको प्रहरीले जनाएको छ ।

सोमबार २ माघ २०७९ १०:५४ AM मा प्रकाशित

प्रतिक्रिया