×

निर्वाचन आयोगद्वारा निर्वाचित सदस्यको विवरण राष्ट्रपतिसमक्ष पेस, खुल्यो सरकार गठनको ढोका

images

काठमाडौं ।  निर्वाचन आयोगले मंसिर ४ मा भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको अन्तिम मतपरिणाम प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको छ। बिहीबार आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपतिलाई प्रतिवेदन बुझाएका हुन्।

आयोगले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ निर्वाचित १६५ र  समानुपातिकतर्फ निर्वाचित ११० गरी कुल २७५ सदस्यको विवरण पेस गरेको हो । सो अवसरमा राष्ट्रपति भण्डारीले लोकतन्त्रको सुदृढीकरणका निम्ति निर्वाचन महत्वपूर्ण रहेको बताइन् । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न भएकामा खुसी व्यक्त गर्दै उनले यसका निम्ति निर्वाचन आयोग, सुरक्षा निकाय, सरोकारवाला निकाय र आममतदाता सबैलाई धन्यवाद दिइन् । 

्कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले स्वच्छ, भयरहित वातावरणमा आमनिर्वाचन सम्पन्न भएको बताए । यस निर्वाचनबाट प्रतिनिधिसभामा दुई सय ७५ र प्रदेशसभामा पाँच सय ५० गरी आठ सय २५ जना निर्वाचित भएको नले जानकारी गराए । प्रतिनिधिसभामा ३३ दशमलव १० प्रतिशत र प्रदेशसभामा ३६ दशमलव ३६ प्रतिशत महिला सहभागिता भएको उनको भनाइ छ । निर्वाचनको परिणामसहितको प्रतिवेदन राष्ट्रपति भण्डारीलाई बुझाएपछि संघदेखि प्रदेशसम्म नयाँ सरकार गठनको ढोका खुलेको हो । 

आयोगले प्रतिवेदन बुझाएपछि राष्ट्रपतिबाट संघीय संसद सचिवालयलाई नवनिर्वाचित सांसदहरूको विवरण पठाउने व्यवस्था छ । सांसदको विवरण आएपछि वर्तमान सरकारले प्रतिनिधिसभा बैठक आव्हानका लागि मिति तोक्दै राष्ट्रपतिलाई सिफारिस गरेपछि संसद् बैठकको आह्वान हुने कानूनी व्यवस्था छ । बैठक आह्वानपछि संसद बैठकमा जानुअघि नै नवनिर्वाचित सांसदको सपथ गराउनुपर्छ । संविधानको धारा ८८ मा भनिएको छ, ‘संघीय संसदको प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनुअघि संघीय कानूनबमोजिम सपथ लिनु पर्नेछ।’

निर्वाचित भएर आएका ज्येष्ठ सदस्यले राष्ट्रपतिबाट सपथ लिएपछि उनले अन्य सदस्यलाई पद तथा गोपनीयताको सपथ गराउने व्यवस्था छ । अहिलेको सत्ता गठबन्धनबाटै नयाँ सरकार बनाउन नेपाली कांग्रेसले पहल गरिरहेको छ भने नेकपा एमालेले पनि सरकार बनाउनका लागि आफ्नो तर्फबाट पहल गरिरहेको छ। २७५ सदस्यीय प्रतिनिधि सभामा सरकार बनाउन १३८ जना सांसदको समर्थन चाहिन्छ। 

बिहीबार २९ मंसिर २०७९ १२:५७ PM मा प्रकाशित

प्रतिक्रिया