एमाले पोलिटब्युरो सदस्य सूर्य थापाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वलाई एमालेले स्वीकार नगर्ने बताएका छन् । उनले मुलुकमा स्थिरताका लागि कांग्रेस–एमाले मिलेर सरकार चलाउनुपर्ने धारणा समेत व्यक्त गरेका छन् ।
आज बुटवलमा पत्रकार भेटघाट कार्यक्रमका बोल्दै थापाले माओवादी अध्यक्ष प्रचण्डको नेतृत्व सरकार बन्न नहुने बताएका हुन् । उनले एमालेले प्रचण्डको नेतृत्व कुनै पनि हालतमा मान्न नसक्ने भन्दै बरु नेपाली काँग्रेससँग तालमेल गरेर सरकार जान सक्ने बताए ।
थापाले बामपन्थी एकता वा कुनै पनि मोर्चाको मुरली बजाउने नाममा प्रचण्डलाई प्रधानमन्त्री बनाउने काममा एमाले नलाग्ने बताए । ‘प्रचण्डलाई प्रधानमन्त्री बनाउने नाममा कुनै एकता वा मोर्चा बनाउने काममा एमाले लाग्दैन । एमाले सकेसम्म आफ्नै नेतृत्वमा सरकार बनाउँछ, नभए कांग्रेसलाई समर्थन गरेर प्रतिपक्षमा बस्छ,’ बुटवलमा बिहीबार पत्रकारहरूसँगको कुराकानीमा थापाले भने।
थापाले अहिले भएको गठबन्धनले देशलाई सही दिशामा लैजान कठिन हुने भएकाले बरु नेपाली काँग्रेस र एमालेले आधा आधा सरकार चलाउन सक्नेमा आफू सहमत रहेको बताए ।
साना दलहरूको च्याँखे थाप्ने मात्र काम गरेकोले देशको विकासको लागि नेपाली काँग्रेस र एमालेले मिलेर सरकार बनाउनु पर्ने उनको भनाई थियो । यदि एमालेले प्रचण्डलाई प्रधानमन्त्री बनाउने निर्णय गर्यो भने आफ्नो असहमति रहने र ‘नोट अफ डिसेन्ट’ लेख्ने थापाले बताए ।
विगतमा एकीकरणका नाममा प्रचण्डले पार्टी कब्जा गर्ने षड्यन्त्र गरेकोले उनलाई स्वीकार गर्न नसकिने थापाको तर्क छ ।
प्रतिक्रिया