×

चुनाव आइसक्यो, अन्योलमा मतदाता

images

काठमाडौं । ललितपुर कोन्ज्स्योसम गाउँपालिका–४ नल्लुकी टुकुमाया तामाङ ‘४ मंसिरमा निर्वाचन आउँदै छ’ भन्ने सुनेको तर ‘कसरी मतदाान गर्ने?’ भन्नेबारे जानकारी नभएको बताउँछिन् ।


४२ वर्षको उमेरमा गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा उनले पहिलोपटक मतदान गरेकी थिइन् । ‘४ गते चुनाव छ भन्ने वडाध्यक्षले भन्नुभयो तर कसरी भोट हाल्ने थाहा छैन, कति जनालाई भोट दिने भन्ने पनि थाहा भएन,’ उनले भनिन् ।

सोही वडाअन्तर्गत तल्लो नल्लुका हर्क गोले राजनीतिक दलका नेताकार्यकर्ता चुनावी प्रचारमा आए पनि मतदान गर्ने तरिकाबारे भने कसैले नसिकाएको बताउँछन् । उनी वैदेशिक रोजगारीबाट केही समयअघि मात्रै स्वदेश फर्किएका हुन् ।

‘राजनीतिक दलका नेताकार्यकर्ता प्रचारप्रसारमा आइरहेका छन्, बाटोबाटै आउँछन्, जान्छन्, कसरी मत हाल्ने?’ भन्ने कसैले पनि सिकाएका छैनन्,’ गोले भन्छन् ।

काठमाडौंकै उत्तरी क्षेत्रमा पर्ने तारकेश्वर नगरपालिका–४ का ८१ वर्षीय सीताराम लामिछाने आगामी निर्वाचनमा ‘चारवटा मतपत्रमा मतदान गर्नुपर्ने’ भन्नेबारे रेडियोबाट जानकारी पाएको बताउँछन् । ‘रेडियोले भनेको सुनेको हुँ, चारवटा मतपत्र हुन्छ रे ’ लामिछाने भन्छन्, ‘घरघरमा सिकाउन कोही आएका छैनन् ।’

आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोगले ‘मतदाता शिक्षा कार्यक्रम’ लागू गरे पनि समुदायमा भने त्यसको प्रभाव न्यून देखिएको छ । कतिपय स्थानमा खटाइएका मतदाता शिक्षा कार्यकर्ता नै पुगेका छैनन् ।

आयोगले गत १८ कात्तिकबाट मतदाता शिक्षाका लागि देशभरका ६ हजार ७ सय ४३ वडामा कार्यकर्ता परिचालन गरे पनि प्रभाव भने न्यून देखिएको छ । खटाइएका कार्यकर्ता काठमाडौं आसपासकै ग्रामीण वस्तीमा समेत पुगेका छैनन् ।

आयोगले सामाजिक सञ्जाल र सञ्चारमाध्यममार्फत भने मतदाता शिक्षालाई आक्रामक रूपमा अघि बढाएको छ । तर, मतदाताका घरदैलोमा भने कार्यकर्ता पुगेका छैनन् । मतदाता शिक्षा कार्यक्रममार्फत मतदान गर्ने सही तरिका सिकाइने बताउँदै आइरहेको छ । राजधानी दैनिकबाट

मङ्गलबार २९ कात्तिक २०७९ ०६:३४ AM मा प्रकाशित

प्रतिक्रिया