×

माओवादी आसन्न निर्वाचनमा कम्युनिस्टहरु मध्ये पहिलो राजनीतिक शक्ति - प्रचण्ड

images

काठमाडौं । नेकपा माओवादी पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताले अझै पनि माओवादी पार्टीको हातमा नै देशको चाबी दिन चाहेको बताएका छन् । पोस्टबहादुर बोगटीको स्मृति दिवसमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले  यस्ताे बताएका हुन् । ‘जनता अहिले पनि माओवादीको हातमा देशको चाबी दिन चाहन्छन्,’ उनले भने, ‘देशको राजनीति कता जाने माओवादीले चाहेजस्तो हुने देखिन्छ।’ उनले  देशको राजनीति कता लैजाने भन्ने फैसला माओवादीले गरोस भन्ने चाहना जनताको रहेको  भन्ने सन्देश स्थानीय तहको निर्वाचनबाट  दिएकाे बताए ।  उनले पार्टी एकतावद्ध भई नेताहरू जनताका बीचमा जानुपर्ने पनि बताए। ‘यसो गरियो भने हामी देशको एक नम्बर कम्युनिष्ट पार्टी हुन्छौं,’ उनले भने। 

कार्यक्रममा प्रचण्डले भने, ‘कहिलेकाहिं त म सौभाग्यशाली हो कि, अभागी हो कि जस्तो लाग्छ । तपाईंले हेर्नुभयो भने कांग्रेस पनि त्यहीँ हुन्छ, एमाले पनि त्यहीँ हुन्छ, अरु पार्टी पनि त्यहीँ हुने जो स्थिति बनेको छ । तपाईं हामी सबैले यो ठूलो कुरा छ, यसको रक्षा गर्नुपर्छ भनेर भनिदिनुभयो, बुझिदिनुभयो भने र मैले जत्तिकै सबैले मिहिनेत गरिदिनुभयो भने ठूलो कुरा हुन्छ भन्ने लाग्छ । कार्यक्रमलाई सम्बोधन गर्दै उनले  आन्तरिक व्यवस्थापनमा सबैले इमान्दारीपूर्वक काम गर्नुपर्ने बताए । व्यक्तिगत हितलाई भन्दा पनि पार्टी र देशको हितलाई केन्द्रमा राखेर पार्टीभित्रका सबैले इमान्दारीपूर्वक काम गर्ने हो भने आसन्न निर्वाचनमा नेकपा माओवादी केन्द्र कम्युनिस्टहरुमध्ये पहिलो शक्ति बन्ने दाबी उनले गरे ।

‘माओवादी आन्दोलन र क्रान्तिकारी कम्युनिस्टहरुको प्रयास नभएको भए देश आज संघीय लोकतान्त्रिक गणतन्त्रमा जान सम्भव थिएन, समानुपातिक र समावेशी प्रतिनिधित्व पनि सम्भव थिएन,’ उनले भने, ‘माओवादी आन्दोलनको जगमा निर्मित जनयुद्ध र जनआन्दोलनको समायोजनबाट मात्र यो सम्भव भएको हो ।’ माओवादी कमजोर भयो भने, माओवादी र जनताको सम्बन्ध सुमधुर हुन सकेन भने प्राप्त उपलब्धि उल्ट्याउन षड्यन्त्र हुने उल्लेख गर्दै उनले गत वर्ष त्यो परिस्थिति देखिएको पनि प्रस्ट पारे ।

स्थानीय तहको निर्वाचनमा पार्टीभित्रको व्यवस्थापन राम्रो गर्न सकेको भए देशको एक नम्बर कम्युनिष्ट पार्टी बन्ने बस्तुगत आधार क्लियर देखिएकाे  बताए ।   उनले थपे,’ त्यो कुनै मनोगत मूल्याङकनको कुरा होइन हामीले पहिला जितेका ५० भन्दा बढी स्थानीय तह जहाँ जनमत हाम्रै पक्षमा  थियाे तराई मधेश पहाड सबैतिर  । अझ मुख्यत हेर्दा तराई मधेशको जनमत हाम्रै पक्षमा हुँदा हुँदै पनि पार्टीको व्यवस्थापन राम्रोसँग गर्न नसक्दा त्यति गुम्यो हाम्रो । यदि त्यो नगुमेको भए आज हामी देशको पहिलो कम्युनिष्ट पार्टी बनिसकेको हुन्थ्यो ।’साथै उनले 

सबैले इमान्दारीपूर्वक मेहनत गरेमा माओवादी आसन्न निर्वाचनमा कम्युनिस्टहरु मध्ये पहिलो राजनीतिक शक्ति हुने दाबीसमेत उनले गरे । हालसम्मको राजनीतिक परिवर्तनको रक्षाका लागि पनि माओवादी पार्टी बलियो हुनुपर्ने र चुनाव जित्नुपर्ने प्रचण्डको भनाइ छ । उनले भने, ‘यो परिवर्तनको रक्षा गर्न र यसलाई अगाडि बढाउने माओवादी पार्टी बलियो बनाउन जरुरी छ । माओवादी कमजोर भयो अब भन्ने दिन परिवर्तनको रक्षा गर्न धेरै गाह्रो हुन्छ ।’

बिहीबार ३० भदौ २०७९ ११:१० AM मा प्रकाशित

प्रतिक्रिया