×

नीति तथा कार्यक्रमले आशा जगाएको छः पर्यटन व्यवसायी

images

काठमाडौँ, २ जेठः सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत मुलुकको पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि पर्यटन क्षेत्रका कार्यक्रमको पुनःबजारीकरण गरिनुका साथै पर्यटकीय पूर्वाधारलाई प्राथमिकता दिने नीति लिएको छ । 

नेपाललाई प्राथमिक र आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य लिएको सरकारले यस क्षेत्रलाई पुनःबजारीकरण गरेर बढीभन्दा बढी विदेशी पर्यटकलाई नेपालमा आकर्षण गर्ने उल्लेख गरेकोछ । 

परम्परागत शैलीमा पर्यटन प्रवद्र्धन गरेर विदेशी पर्यटकको सङ्ख्या बढाउन नसकिने निष्कर्ष निकाल्दै सरकारले पर्यटनलाई पुनःबजारीकरणको नीति लिएको हो । राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा मङ्गलबार प्रस्तुत सरकारको आगामी आवको नीति तथा कार्यक्रममा समावेश पर्यटन क्षेत्रका कार्यक्रमको पुनः बजारीकरण, पर्यटकीय गन्तव्यको प्रोफाइल तयार गरी ती गन्तव्यकोे पहिचान, विकास र प्रवद्र्धन गर्नेलगायतका नयाँ कार्यक्रमले पर्यटन व्यवसायीलाई पनि उत्साहित बनाएको छ । यसले समग्र पर्यटन क्षेत्रमा आशाको सञ्चार जगाएको व्यवसायीको बुझाइ छ ।
 
“पर्यटन क्षेत्रका कार्यक्रमको पुनः बजारीकरण गर्ने सरकारको नीति निकै सराहनीय छ”, होटल सङ्घ नेपाल (हान) का अध्यक्ष विनायक शाहले भन्नुभयो, “नेपालको पर्यटन पुरानै तौरतरिकाले चलिरहेको छ । पर्यटन ऐन नै २०३५ सालको छ । त्यसैले पर्यटनलाई पुनःसंरचना गर्ने नीतिले मौजुदा तौरतरिकाले पर्यटन प्रवद्र्धन नहुने भएकाले नयाँ तवरलै जैजानुपर्नेछ ।”
     
टाकुरा पर्यटन प्रवद्र्धन नेपालको पर्यटनका निम्ति निकै महत्वपूर्ण रहेको भन्दै अध्यक्ष शाहले धार्मिक सर्किटलगायत विषय पनि राम्रो भएको बताउनुभयो । उहाँले समग्रमा नीति तथा कार्यक्रमले पर्यटनका धेरै कुरा समेटेको भन्दै कार्यान्वयन पक्षमा जोड दिनुपर्ने खाँचो औँल्याउनुभयो । उहाँले भन्नुभयो, “जुन कुरा कार्यक्रममा आएको छ, त्यो कार्यान्वयन गर्नेतर्फ सरकारले ध्यान दिनुपर्छ त्यसमा निजी क्षेत्रको पनि सक्रिय साथ सहयोग रहन्छ ।”
     
आगामी बजेटमा पर्यटन दशकलगायत छुटेका विषयलाई समेट्नुपर्ने व्यवसायीको जोड छ । सरकारले मुलुकको आर्थिक समृद्धिको महत्वपूर्ण आधारको रुपमा पर्यटन क्षेत्रलाई लिएको छ । ऊर्जा, कृषिपछि पर्यटनलाई अर्थतन्त्रको आधार मानिएको छ । यस हिसाबले पनि पर्यटन क्षेत्रको विकास र प्रभावकारी प्रवद्र्धनका लागि रणनीतिक कार्यक्रम र बजेट आउन जरुरी भएको अध्यक्ष शाहको भनाइ छ ।

नेपालमा विगतका तुलनामा पर्यटक आगमनमा उल्लेख्य वृद्धि भएको छ । प्रतिपर्यटक औसत खर्चमा बढोत्तरी भएको छ । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०२३ मा १० लाख १४ हजार आठ सय ८२ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । 

यससँगै सरकारको वर्ष २०२३ मा १० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य पूरा भएको छ । अर्को वर्ष दोब्बर सङ्ख्यामा पर्यटक भित्र्याउने सरकारले घोषणा गरिसकेको छ । कोरोना महामारीपूर्व सन् २०१९ मा ११ लाख ९७ हजार ९१ जना पर्यटक नेपाल आएका थिए । सन् २०२४ मा विदेशी पर्यटक आगमन निरन्तर बढिरहेका छन् । पछिल्लो अप्रिल महिनामा मात्रै एक लाख ११ हजार तीन सय ७८ विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् ।
     
बोर्डका निर्देशक मणिराज लामिछानेले पर्वतारोहण अनुमति प्रणालीलाई स्वचालित बनाइने, पर्यटक उद्धार केन्द्रसहित पर्यटकीय पूर्वाधारको निर्माण तथा विकास गरिनेजस्ता विषयलाई नीति तथा कार्यक्रममा समेटिनु सकारात्मक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “पर्यटनका जति पनि विषय आएका छन् ती राम्रा छन् छुटेका विषयलाई पनि आगामी बजेटमा सम्बोधन  गर्नुपर्छ ।”

“संरचना सहज पहुँचको व्यवस्था गरी नेपाललाई गन्तव्यका रूपमा विकास गरिनेछ । पर्यटकीय सम्भावना भएका पहाडी भू–भागमा स्थानीय स्रोतसाधनको प्रयोग तथा रोजगारी सिर्जना हुने गरी तीनै तह र निजी क्षेत्रको समन्वयमा टाकुरा पर्यटकीय गन्तव्यको विकास गरिनेछ”, नीति तथा कार्यक्रममा भनिएको छ । ग्रेट हिमालयन ट्रेललगायतका पर्यटकीय पदमार्ग पूर्वाधार निर्माणलाई तीव्रता दिइने उल्लेख छ ।
     
पर्यटन व्यवसायी राजेन्द्रप्रसाद सापकोटाले समग्रमा नीति तथा कार्यक्रममा पर्यटनका विषय राम्रा रहे पनि कार्यान्वयन पक्षलाई प्रभावकारी बनाइनुपर्ने खाँचो औँल्याउनुभयो । “पर्यटक आगमनमा सुधार आएको छ, पर्यटकीय गन्तव्यको प्रवद्र्धन गर्ने नीति छ, तर, पर्यटन प्रवद्र्धनका विषय आएको छैन आगामी बजेटमा समेटिनुपर्छ ।

उहाँले विगतमा नीति तथा कार्यक्रममा राम्रा कार्यक्रम पर्ने गरे पनि बजेटमा नसमेटिने गरेको दृष्टान्त प्रस्तुत गर्दै पर्यटन व्यवसायलाई सहजीकरण र पर्यटकले सहजरुपमा नेपाल आएर निर्वाधरुपमा भ्रमण गर्न पाउने व्यवस्थाप्रति सरोकारवाला निकायको ध्यान जान जरुरी भएको बताउनुभयो ।
     
हलिउड तथा बलिउडलगायतका अन्तर्राष्ट्रिय चलचित्र निर्मातालाई नेपालमा चलचित्र छायाङ्कनका लागि आकर्षित गरी चलचित्र पर्यटन प्रवद्र्धन गरिने जनाइएको छ । पर्वतारोहण अनुमति प्रणालीलाई स्वचालित बनाइने छ । पर्यटक उद्धार केन्द्रसहित पर्यटकीय पूर्वाधारको निर्माण तथा विकास गरिने नीति तथा कार्यक्रममा समेटिएको छ ।
    
     ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) का अध्यक्ष नीलहरि बास्तोलाले नीति तथा कार्यक्रममा पर्यटनका सबै विषय नआएको भन्दै आगामी बजेटमा छुटेका विषय समावेश हुने विश्वास व्यक्त गर्नुभयो । “समग्रमा पर्यटनका विषय राम्रा छन् तर पनि कतिपय कार्यक्रम छुटेका छन् आगामी बजेटमा ती विषय समेटिनुपर्छ”, उहाँले भन्नुभयो ।
     
पदयात्रा र पर्वतारोहण तथा कृषि, जलयात्रालगायत पर्यटनका विधालाई समेटिनुपर्नेमा अध्यक्ष बास्तोलाको जोड छ । दुई अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति गरी पूर्ण क्षमतामा सञ्चालन गर्ने, ती विमानस्थल सञ्चालनका लागि विशेष प्रोत्साहन प्याकेजको व्यवस्था गर्ने सरकारको नीति उपयुक्त रहेको व्यवसायीको प्रतिक्रिया छ । 

मुलुकको हवाई नीति र कानुनमा समय सामयिक सुधार गर्ने, हवाई सेवालाई थप सुरक्षित, सुलभ र पहुँचयोग्य बनाउने नीति लिएको सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति गरी पूर्ण क्षमतामा सञ्चालन गर्ने भएको छ । नेपाली वायुसेवा कम्पनीको अन्तर्राष्ट्रिय बजार विस्तार गरिने नीति तथा कार्यक्रममा भनिएको छ ।
     
सांस्कृतिक तथा धार्मिकस्थलको पर्यटकीय विकासका लागि संस्थागत व्यवस्था गर्ने, बुद्ध परिपथ, विश परिपथ, रामायण परिपथ, किराँत सांस्कृतिक परिपथको मार्ग निर्धारण गरी पर्यटन प्रवद्र्धन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । 

बुधबार १ जेठ २०८१ ०९:३८ PM मा प्रकाशित

प्रतिक्रिया