×

दैलेखमा ‘सेवाग्राहीसँग प्रजिअ’ कार्यक्रम

images

दैलेख, २ जेठ: नारायण नगरपालिका–३ का टीकाराम भट्टराई राष्ट्रिय परिचयपत्र बनाउन र नागरिकताको प्रतिलिपि लिन मङ्गलबार जिल्ला प्रशासन कार्यालय दैलेखमा पुग्नुभएको थियो । जब उहाँ प्रतिलिपिका लागि सम्बन्धित फाँटमा जानुभयो र फोटो प्रष्ट छैन भनेर त्यहाँबाट फर्काइयो । उहाँ घर जाने तयारीमा रहेकै बेला प्रमुख जिल्ला अधिकारी (प्रजिअ) खिमराज भुसाल सेवाग्राही भएकै ठाउँमा गुनासो सुन्न पुग्नुभयो । भट्टराईले आफ्नो समस्या प्रजिअ भुसाललाई दर्शाउनुभयो । प्रजिअ भुसाल राष्ट्रिय परिचयपत्र फाँटकी कम्प्युटर अप्रेटर चन्द्राकुमारी शाहीलाई सेवाग्राहीको समस्या समाधानका सहजता प्रदान गर्न निर्देशन दिनु भयो । त्यसपछि फाँटमा फर्किएका टीकारामको राष्ट्रिय परिचयपत्र विवरण दर्ता भयो । नागरिताको प्रतिलिपि लिने काम पनि भयो ।

दैलेखका प्रमुख जिल्ला अधिकारी भुसालले वैशाखदेखि हरेक दिन दिउँसो १ बजे सेवाग्राही भएकै ठाउँमा पुगेर गुनासो सुन्ने र सेवाप्रवाहमा सहजता ल्याउने उद्देश्यले कार्यतालिका नै बनाउनुभएको छ । 

प्रमुख जिल्ला अधिकारी खिमराज भुसालका अनुसार सेवाग्राहीले कार्यकक्षमा पुगेर समस्या सुनाउन भएकाले सम्बन्धित शाखामै गएर सेवाग्राहीको गुनासो सुन्न थालेको बताउनुभयो । उहाँले त्यसका लागि ‘सेवाग्राहीसँग प्रजिअ’ कार्यक्रम सुरू गरिएको र त्यसलाई निरन्तरता दिइने बताउनुभयो । 

यस्तै सेवाग्राहीको स्वास्थ्यलाई ध्यानमा राखेर सेवाग्राही स्वास्थ्य परीक्षण कक्षसमेत सञ्चालनमा ल्याएको छ । हरेक दिन दिउँसो १२ बजेदेखि २ बजेसम्म कार्यालयमा उपस्थित भएका सेवाग्राहीको स्वास्थ्य परीक्षणका लागि  जिल्ला अस्पतालबाट एकजना स्वास्थ्यकर्मीको व्यवस्था गरी निःशुल्क औषधि दिने काम पनि भइरहेको छ । 

‘सेवाग्राहीसँग प्रजिअ’ अभियानका क्रममा आफ्नो कार्यालयले दिने सेवामात्र नभई समग्र विकास गतिविधिबारे पनि सहजीकरणको प्रयास गरिरहनुभएको छ । “हाम्रो कार्यालयसँग सम्बन्धित समस्याबारे हाम्रो चासो त हुने नै भयो, अन्य कार्यालय र जिल्लासँग सम्बन्धित समस्या समाधानका लागि पनि सहजकीरणको प्रयास गरिरहेका छौँ”, भुसालले भन्नभयो । 

व्यवसायी एवम् सेवाग्राही मीनबहादुर थापाले ‘सेवाग्राहीसँग प्रजिअ’ अभियान प्रभावकारी देखिएको भन्दै यसको दिगो व्यवस्थापन र निरन्तरतामा ध्यानदिन जरूरी रहेको बताउनुभयो । उहाँ भन्नुहुन्छ, “गुनासो सुनाउन जाँदासमेत कुने सुनुवाइ नभइरहेको अवस्थामा प्रमुख जिल्ला अधिकारी आफैँ सेवाग्राहीकहाँ पुगेर गुनासो सुन्नु सराहनीय कार्य हो । यसको प्रभावकारिता र दिगो व्यवस्थापनमा ध्यानदिनु हाम्रो आग्रह छ ।” 
जिल्लामा हुने लैङ्गिक हिंसा, छाउपडी प्रथा, बालविवाह, जातीय विभेद्लगायतका सामाजिक समस्या समाधानका लागि पनि सबै सरोकारवालासँगको समन्वयमा सचेतना कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको  प्रजिअ भुसालले जानकारी दिनुभयो । 

बुधबार १ जेठ २०८१ १२:२० PM मा प्रकाशित

प्रतिक्रिया