×

मनाङमा धनुर्विद्या (मेथा) खेल सुरु

images


मनाङ, ३ वैशाखः उपल्लो मनाङमा धनुर्विद्या (मेथा) र तल्लो मनाङमा धाज्याङ खेल सुरु भएको छ । 

    मनाङ ङिस्याङ गाउँपालिका–६ मनाङगाउँमा धनुर्विद्या खेलमा युवाले कला, कौशल प्रदर्शन गर्दछन् । एक सातासम्म मनाइने यो खेललाई मनाङीले आफ्नो परम्परा र सम्पदाकारूपमा उल्लासका साथ मनाउने गर्दछन् । 
    
    विशेषगरी आफ्नो कला, पराक्रम, कौशलता प्रदर्शन गरी यहाँका गुरुङ, घले समुदायले एक सातासम्म मनाउने चलन छ । नेपाल बाइसेचौबिसे राज्यमा विभाजित हुँदा यो पर्वको उत्पत्ति भएको अनुमान गरिएको यहाँका बुढापाकाहरुको भनाइ छ । राजाहरू आपसमा लड्ने गर्दथे । त्यसैले उनीहरूले सत्रुमाथि विजय प्राप्त गर्नका लागि यस पर्वको सुरुआत भएकोे र यस पर्वलाई आजसम्म पनि निरन्तरता दिइराखेको पर्यटन व्यवसायी सङ्घ मनाङका अध्यक्ष विनोद गुरुङले जानकारी दिनुभयो ।
    
    उहाँले भन्नुभयो, “हाम्रा सांस्कृतिक तथा प्राकृतिक र परम्परालाई जोगाउनुपर्छ । यसको संरक्षणमा युवालाई प्रोत्साहन गरिरहेका छौँ । यहाँ मनाइने विभिन्न संस्कृतिको प्रदर्शनबाट नै पर्यटनसँग जोडी आयस्रोत बनाउन सक्नुपर्छ ।” युवालाई यसतर्फ आकर्षित गर्नुपर्नेमा जोड दिएका उहाँले बताउनुभयो ।

    वसन्तऋतुको आगमनसँगै नयाँ वर्षको पूर्वसन्ध्यामा मनाइने यस पर्वलाई तल्लो मनाङमा ‘धाज्याङ’ पनि भनिन्छ । पूजा आराधनासँगै तल्लो मनाङमा पनि आजदेखि यस पर्व सुरु भएको छ । माथिल्लो मनाङमा सुरु भएपछि तल्लो मनाङ सुरु हुने गर्दछ । यस पर्वमा गाउँका दुवै छेउका गाउँले तोकिएको ठाउँमा भेला भएर दुई समूहमा विभाजित हुन्छन् । पर्व व्यवस्थापन समितिले दुवै समूहबाट पैसा उठाउँछ । धनुर्विद्या प्रतियोगिता गराउँछन् । 

    पर्वमा विजेता समूहलाई नगद पुरस्कारसहित फूलमाला र खादाले सम्मान गर्ने चलन रहेको अध्यक्ष गुरुङले जानकारी दिनुभयो । चाडपर्वको अन्तिम दिन लामाहरूको अनुष्ठान नृत्य गरिन्छ । नृत्य प्रदर्शनपछि दानवरुपी पुरुष र महिलाका दुईवटा तस्बिर जोड्छन् । यिनीहरूलाई गाउँको शत्रु मानी जसले तिनीहरूलाई प्रहार गर्छ उसैलाई त्यस वर्षको ‘नायक’ उपाधि दिइने चलन छ । 
    
    पर्वको अन्त्यमा, गाउँलेद्वारा स्याब्रु नाच नाचिन्छ । यस पर्वको मुख्य उद्देश्य भनेको दुष्ट आत्मा र दानवको विनाश गरी मानिसको समृद्धि, स्वस्थ र सुखी बनोस् भन्ने रहेको छ । यसबाहेक यसपर्वमा एकता, मेलमिलाप कायम गर्ने जनविश्वास रहेको छ । यस पर्वका अवसरमा सांस्कृतिक कार्यक्रम गरी नाचगान, भोजभतेर, आपसी मित्रता कायम गर्ने गरिन्छ ।
 

सोमबार ३ बैशाख २०८१ ०३:०० PM मा प्रकाशित

प्रतिक्रिया