×

काठमाडौं महानगरपालिकाले प्राचीन नाम पुनरुत्थान गरेर प्रचलनमा ल्याउने

images

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो मातहतमा रहेका स्थानका प्राचीन नाम पुनरुत्थान गरेर प्रचलनमा ल्याउने प्रक्रिया थालेको छ । धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व भएका टोल, बस्ती, मठ, मन्दिर, बहाल, बही, धारा, सत्तल, पाटीहरुको अध्ययनबाट प्राचीन नाम खोजेर संस्कृतिविद्, पुरातत्वविद्, भाषाविद् तथा इतिहासविद्सँग नाम पुष्टि गर्ने काम सुरु भइसकेको कामपाले जनाएको छ ।

उक्त कार्यको सुरुआत पाँचवटा वडाबाट सुरु भएको कामपा सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान सङ्गतले जानकारी दिए । उनका अनुसार वडा नं ५ हाँडीगाउँ (प्राचीन नाम नरः), वडा नं. ६ बौद्ध (प्राचीन नाम खस्योरःरखास्ती), वडा नं ७ चाबहिल (प्राचीन नाम चावहीः), वडा नं १८ नरदेवी (प्राचीन नाम न्येतः) र वडा नं २४ मखन (प्राचीन नाम मखं) को नाम खोजी भइसकेको छ ।

संयोजक सङ्गतले भने, “सांस्कृतिक सहरको नाम मेटिने गरी ठाउँको नयाँ नामकरण भएपछि नामबाट झल्किने सहरको सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक पहिचान मेटिँदै गयो । काठमाडौंको पहिचान जोगाउन यो कार्यक्रम अगाडि बढाइएको हो ।” विभागले एकीकृत शहरी विकास केन्द्र (सिआइयुडी) सँगको सहकार्यमा विभिन्न स्थानको प्राचीन नाम अध्ययन गरेको हो । अध्ययनमा सङ्कलन भएको प्रारम्भिक सूचनालाई लिखित अभिलेख, शिलालेख, सरकारी कागजात (जग्गा नामसारी वा पास गर्दा वा चार किल्ला प्रमाणित गर्दाको नाम), संस्कृतिविद्, इतिहासविद्, पुरातत्वविद्, स्थानीय पाका मानिस, जनप्रतिनिधिसँग समेत सोधिएको सङ्गतले जानकारी दिए ।

विभिन्न कारणले अर्कै स्वरुपमा पुगेका नामलाई पुनरुत्थान गर्दा रञ्जना लिपि, देवनागरी लिपि र अङ्ग्रेजी भाषा नाममा पाटी राखिनेछ । नाम अनुसन्धानकर्ता आर्किटेक्ट अस्मिता श्रेष्ठले भनिन्, “नेवार समुदायका महिलाले प्रयोग गर्ने परम्परागत पोसाक हाकुपटासीमा भएको रातो र कालो रङको पृष्ठभूमिमा ‘नाम पाटी’ (नेम प्लेट) राखिनेछन् । ढुङ्गेधारा, सत्तलका नाममा यही रङ सङ्केतलाई फरक देखिने बनाउने प्रस्ताव गरिएको छ ।”

बोर्डमा क्युआर कोर्ड राखिने श्रेष्ठको भनाइ छ । कोड स्क्यान गरेपछि मूलवासीले प्रयोग गरेको नाम, नाम रहन गएको धार्मिक, सांस्कृतिक, भाषिक तथा ऐतिहासिक कारण, नामको अर्थ, मौलिक नाम, नामसँग सम्बन्धित ऐतिहासिक कालखण्डका बारेमा जानकारी प्राप्त हुने उनले जानकारी दिए ।

शुक्रबार​ २ चैत २०८० ०३:१६ PM मा प्रकाशित

प्रतिक्रिया