काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले, नेपाल टी–२० क्रिकेट लिगमा भएको स्पट फिक्सिङमा संलग्न १२ जनालाई कारवाहीको सिफारिस गरेको छ ।
स्पट फिक्सिङको अनुसन्धान सकेर केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले १२ जनालाई प्रतिवादी बनाएको प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाएको सिआइबीका प्रवक्ता एसपी सन्जयसिंह थापाले जानकारी दिए।उनले भने, ‘अनुसन्धानका १२ जनालाई दुई प्रकारको कसुरमा दोषि पाइएपछि, प्रतिवेदन तयार गरेका छौं ।’
सिआइबीले सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको अनुसन्धान प्रतिवेदनमा सेभेन थ्री स्पोर्टसका मालिक जतिन अलुवालिया मुख्य दोषि अभियुक्त बनाएको छ । त्यस्तै नितेश गुप्ता, पूर्वखेलाडी मेहबुब आलम, मोहम्मद आदिल आलम, अभिषेक सकलानी, राहुल शर्मा, एन्ड्रियू म्याकर्थी, रवि माझी, समिर शेख, वीरेन्द्र साह, विकास धामी र नवीन कँडेललाई प्रतिवादी बनाइएको छ ।
सिआइबीले लिगका खेलमा स्पट फिक्सिङ गरेको आरोपमा नितेश गुप्ता, पूर्व खेलाडी महबुब आलम र खेलाडी मोहम्मद आदिल आलम गरि तीनजना पक्राउ परेका छन् भने अरू प्रतिवादी फरार छन्। मेहबुब र आदिललाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएको छ। उनीहरु विरुद्ध प्रहरीले राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ अनुसार अनुसन्धान अघि बढाएको छ ।
उनीहरुविरुद्ध राष्ट्रिय खेलकुद विकाश ऐन २०७७ बमोजिम ३ वर्षसम्म कैद र ५० हजार रुपैयाँ जरिवानासम्म सजाय माग गर्न राय दिइएको छ।
नेपाल क्रिकेट संघले सेभेन थ्री स्पोर्ट्ससँग सम्झौता गरी लिग सञ्चालन गरेको थियो।
प्रतिक्रिया