×

निर्वाचनको अन्तिम नतिजा सार्वजनिक गर्दै आयोग

images

काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम नतिजा घोषणा गर्दैछ । आज मध्यान्ह साढे १२ बजे पत्रकार सम्मेलन गरेर अन्तिम नतिजा घोषणा गर्न लागिएको हो । आयोगले प्रतिनिधि सभाका ११० सिट र प्रदेशका २२० सिटमा सांसदहरू निर्वाचित भएको घोषणा गर्ने र निर्वाचित भएकाहरूलाई प्रमाण पत्र दिने तयारी गरेको हो।

दलहरूले क्लस्टरअनुसार सांसद चयन गरेर आयोगमा पेश गरेका थिए। प्रतिनिधि सभातर्फ पेश गरेका सूचीमा त्रुटि नभेटिए पनि प्रदेश तर्फका सूचीमा त्रुटि भेटिएपछि सच्याउन दलहरूलाई समय दिइएको थियो।

आयोगले मंसिर ४ मा भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको अन्तिम मतपरिणाम प्रतिवेदन बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउने तयारीसमेत गरेको छ। प्रतिनिधि सभामा नेपाली कांग्रेस पहिलो दल बनेको छ । कांग्रेसले प्रत्यक्षमा ५७ र समानुपातिकबाट ३२ सहित कूल ८९ सिट जितेको छ । दोस्रो दल बनेको नेकपा एमालेले प्रत्यक्षमा ४४ र समानुपातिकमा ३४ सहित ७८ सिट जितेको छ । तेस्रो दल बनेको माओवादी केन्द्रले प्रत्यक्षमा १८ र समानुपातिकबाट १४ सहित ३२ सिट जितेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चौथो, राप्रपा पाँचौं, जसपा छैटौं र जनमत पार्टी सातौं दल बनेका छन् । रास्वपाले प्रत्यक्षमा ७ र समानुपातिकमा १३ सहित कूल २० सिट जितेको छ । प्रत्यक्ष र समानुपातिकमा समान ७/७ जितेको राप्रपाका कूल १४ सांसद रहने छन् । जसपाका प्रत्यक्षमा ७ र समानुपातिकबाट ५ गरी कूल १२ तथा जनमत पार्टीका प्रत्यक्षमा १ र समानुपातिकबाट ५ गरी कूल ६ सदस्य प्रतिनिधि सभामा रहने छन् ।

प्रत्यक्षमा १० सिट जितेको एकीकृत समाजवादी, ४ सिट जितेको लोसपा र १ सिट जितेको राष्ट्रिय जनमोर्चाले थ्रेसहोल्ड नकटाएकाले समानुपातिकबाट एक सिट पनि पाएनन् ।

बुधबार २८ मंसिर २०७९ ११:२५ AM मा प्रकाशित

प्रतिक्रिया