×

रास्वपा उपसभापतिसहित २० जनाविरुद्ध अवहेलना मुद्दा, मङ्सिर तीन गतेलाई पेसी

images

काठमाडौँ ।  उपसभापति स्वर्णिम वाग्लेसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय नेताहरूविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ।  उपसभापति वाग्लेलगायत नेताले अदालतको अवहेलना हुने गरी बोेलेको भन्दै उनीहरूविरुद्ध सर्वोच्च अदालतमा बुधबार  अवहेलना मुद्दा दर्ता गरिएको छ। मुद्दामा सर्वोच्चले मंसिर  ३ गते प्रारम्भिक सुनुवाइका लागि पेसी तोकेको छ। 

अधिवक्ता अनुपम भट्टराईले दायर गरेको रिटमा उपसभापति वाग्लेसहित कार्यवाहक प्रवक्ता मनीष झा, सुमना श्रेष्ठ, विराजभक्त महर्जन, तोसिमा कार्की, सोबिता गौतमलगायत रास्वपा सांसदलाई विपक्षी बनाइएको छ। 

निवेदनमा अनुसन्धान चलिरहेका बेला अदालतलाई दबाब दिने उद्देश्यले अभिव्यक्ति दिने, आन्दोलन गर्ने र जनमासलाई उचाल्दै न्याय प्रक्रियामा अवरोध गर्न खोजेको आरोप लगाइएको छ। सांसदहरूले नै अदालत र  न्यायाधीशको विषयमा अनर्गल प्रचार  गरेकाले अदालतको अवहेलना भएको निवेदकको दाबी छ। संघीय संसद् पदमा रहेका व्यक्तिले अदालतको अवहेलना हुने काम गरेको निवेदकको दाबी छ। 

उनीहरूलाई हदैसम्मको कार बाही गरी सजाय दिलाउन माग गरिएको छ। अदालतलाई स्वतन्त्र र  निष्पक्ष रूपमा न्याय निरूपण गर्नबाट वञ्चित गर्ने नियतले कसैले कुनै न्यायाधीशबारे अनर्गल प्रचार प्रसार  गर्दा न्यायाधीशको मनोबल गिरी आदेश वा फैसलामा प्रभाव पर्नसक्ने प्रबल सम्भावना हुने निवेदनमा उल्लेख छ। 

कात्तिक १४ गते सर्वोच्च प्रशासनले दर्ता गर्न अस्वीकार गर्दै दरपीठ गरेको उक्त निवेदनका विषयमा निवेदक भट्टराईले कात्तिक २१ गते इजलासमा निवेदन दिएपछि पहिलो सुनुवाइ गर्दै न्यायाधीश शर्माको इजलासले दरपीठ बदर गरिदिएको थियो। त्यसपछि सो मुद्दा दर्ता भएको हो।

बिहीबार २९ कात्तिक २०८१ ०१:५० PM मा प्रकाशित

प्रतिक्रिया