×

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

images

काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

१- प्रधानमन्त्री केपी शर्मा ओलीसँग चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि उपप्रधानमन्त्रीद्वय, मन्त्रीहरु र मुख्यसचिवबीच आज कार्यसम्पादन सम्झौता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रालयगत वार्षिक प्रगति समीक्षाका साथै अगामी कार्यक्रमको कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भई आदानप्रदान भएको हो । ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न थालिएका पूर्वाधार निर्माण तथा सेवा प्रवाहमा सुधारका कार्यहरु तोकिएको समयमा सम्पन्न गर्न कार्यसम्पादन सम्झौताको अभ्यास प्रधानमन्त्री ओलीको विगतको कार्यकालमा आरम्भ गरिएको हो । प्रधानमन्त्रीसँग मन्त्रीहरुले कार्यसम्पादन सम्झौता गरेपछि मन्त्रीहरुले सम्बन्धित सचिवहरुसँग कार्यसम्पादन सम्झौता गर्नुपर्नेछ ।

२- भारतको जम्मू कश्मीरको किश्तवारको चाशोती गाउँमा बिहीबार दिउँसो बादल फुटेपछि आएको बाढीमा मृत्यु हुनेको संख्या ३८ पुगेको छ । अचानक आएको बाढीबाट २०० जनाभन्दा बढी बेपत्ता रहेको स्थानीय प्रशासनलाई उदृत गर्दै भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।  धेरै मानिसहरू पहाडको पानी र भग्नावशेषमा फसेको बताइएको छ भने अहिलेसम्म ६५ जनाको सकुशल उद्धार गरिएको छ । माचैल माता यात्राको लागि हजारौं भक्तजन किश्तवारको पद्दार उप-डिभिजनको चाशोती गाउँ पुगेको बेला अचानक बाढी आएको बताइएको छ । यो यात्राको पहिलो गन्तव्य रहेको र यात्रा सुरु हुने ठाउँमा बादल फुटेको रिपोर्टमा उल्लेख छ । यहाँ भक्तजनहरूको बस, पाल, लङ्गर र धेरै पसलहरू थिए । सबै बाढीको पानीमा बगेको बताइएको छ ।

३-  काठमाडौँ महानगरपालिकाको सुन्धारास्थित धरहरा टपरी म: मलाई खाद्य स्वच्छता मापदण्ड उल्लङ्घन गरेको पाइए पछि २ लाख रुपैयाँ जरिवाना तोकिएको छ । महानगरको नियमित अनुगमनका क्रममा उक्त व्यवसायले बिक्री–वितरणका लागि तयार गरेको म: ममा धातुको औँठी फेला परेको र खाद्य पदार्थको गुणस्तर मापदण्डअनुरूप नरहेको पाइएपछि यस्तो कारबाही गरिएको हो । काठमाडौँ महानगरपालिकाको कृषि तथा खाद्य विभागका प्रमुख एवं निरीक्षण अधिकारी नुरनिधि न्यौपानेका अनुसार धरहरा टपरी म: मले पटक–पटक महानगरको निर्देशन उल्लङ्घन गर्दै खाद्य स्वच्छता र गुणस्तर कायम नगरेको पाइएको बताएका छन् । बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७७ को दफा १०, २९ र ३० (१) ख बमोजिम २ लाख जरिवाना तोकिएको बताइएको छ  । महानगरले व्यवसाय सञ्चालकलाई उक्त जरिवाना रकम ७ दिनभित्र बैङ्क मार्फत जम्मा गरी सोको जानकारीसहित महानगरपालिकाको कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ । साथै, आगामी दिनमा खाद्य स्वच्छता र मापदण्ड पूरा हुने गरी उत्पादन र बिक्री–वितरण व्यवस्था मिलाउन पनि व्यवसायीलाई  निर्देशन दिइएको छ । 

४- गृहमन्त्री रमेश लेखकको सचिवालयले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले न्याय परिषद्‌मा परेको उजुरी गृहमन्त्रीकै कार्यकक्षमा तयार पारिएको र सो उजुरीको प्रतिलिपि सचिवालयबाट पठाइएको भन्ने आरोपको खण्डन गरेको छ ।  विहिबार प्रतिनिधि सभाको बैठकमा रास्वपा सांसद डा. चन्दा कार्कीले गृहमन्त्रीकै कार्यकक्षमा तयार उजुरी तयार गरेर न्याय परिषद्‌मा दिइएको र रवि लामिछानेको मुद्दालाई प्रभावित पारिएको आरोप लगाएकी थिइन् । गृहमन्त्री लेखकको सचिवालयले रुपन्देही जिल्ला अदालतमा मुद्दा पेसी चढेको दिन न्याय परिषद्‌मा परेको उजुरी गृहमन्त्रीकै कार्यकक्षमा तयार पारिएको र सो उजुरीको प्रतिलिपि सचिवालयबाट पठाइएको भनी केही मानिसहरूले व्यक्त गरेको र सो विषयलाई लिएर विभिन्न सञ्चार माध्यममा प्रकाशित भएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

५- काठमाडौँ । पर्यटन विभागका निर्देशक सचिन्द्र कुमार यादवविरुद्ध  गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्धा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यादवको शुरू नियुक्ति भएको २०६६ को जेठ २४ गतेदेखि २०७९ साउन २९ गतेसम्मको जाँच अवधिमा यादव र उनको परिवारले २ करोड ६८ लाख १८ हजार ९ सय आम्दानी गरेको देखिएको तर उनको सो अवधिको कुल सम्पत्ति ३ करोड ६५ लाख ४ हजार ४५३ देखिएको उल्लेख गर्दै ९६ लाख ८५ हजार ५५३ को स्रोत नखुलेको पाइएको जनाएको छ । अख्तियारले यादवविरुद्ध ९६ लाख ८५ हजार ५५३ बराबरकै विगो कायम गरि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिमको कैद र बिगो बमोजिम जरिवानाको माग गर्दै विशेष अदालत, काठमाडौँआमा मुद्धा दायर गरेको जानकारी दिएको छ ।

६- प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तर भदौ ४ गते हुने भएको छ । सभामुख देवराज घिमिरेले विहिबारको बैठकमा भदौ ४ गते बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीसँग सांसदहरुको प्रश्नोत्तर हुने जानकारी दिएका हुन् । सभामुख घिमिरेले प्रधानमन्त्रीलाई प्रश्न सोध्न तोकिएका सांसदहरुले भदौ १ गते भित्र आफुले सोध्ने प्रश्न संसद सचिवालयमा उपलब्ध गराइदिन आग्रह गरेका छन् । प्रतिनिधि सभा नियमावली २०७९ को परिच्छेद ९ मा प्रतिनिधि सभामा सभामुखले प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि एक घण्टा समय निर्धारण गर्ने व्यवस्था गरिए अनुसार भदौ महिनाको प्रश्नोत्तर हुन लागेको हो ।

७- आज नेप्सेमा परिसूचकमा सामान्य वृद्धि भएको छ । नेप्से विहिबार २.६२ अंकले बढेर २७८८.३६ विन्दुमा पुगेको हो । आजको कारोबारमा विभिन्न ३२० कम्पनीका एक करोड ९२ लाख ५८ हजार ४४५ कित्ता शेयर ७ अर्ब ४६ करोड ४१ लाख ७७ हजार ७०४ मा किनबेच भएको नेप्सेले जनाएको छ ।  

८- प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज भएको चिकित्सा शिक्षा आयोगको २१औैँ बैठकले यस शैक्षिकसत्रका लागि चिकित्सा शिक्षाको विभिन्न तह र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदको पिसिएल तहको संख्यावृद्धिसहित सिट निर्धारणको निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको बैठकमा आयोगको सिट निर्धारण समितिको सिफारिस बमोजिम सो निर्णय भएको हो । गत असार ३२ गते भएको आयोगको २० औँ बैठकले प्राविधिक तथा व्यावसायिक तालिम परिषद्अन्तर्गत चिकित्सा शिक्षातर्फ प्रमाणपत्र तहका कार्यक्रमको सिट निर्धारण गर्न प्रक्रिया अघि बढाएको थियो ।

९- मुग्लिन नारायणगढ सडक खण्डमा गुडिरहेको ट्रकमा माथिबाट ढुंगा खस्दा दुई जना घाइते भएका छन् । विहिबार दिउसो करिब २ बजे मुग्लिन नारायणगढ सडक खण्डको तुईन पुल नजिकै माथिबाट ढुंगा खस्दा ईन्डियन नम्बर प्लेटको ट्रकमा सामान्य क्षति हुनुका साथै २ जना घाइते भएका छन् । 

१०- सरकारले नागढुङ्गा सुरूङ मार्गको दस्तुर तोकेको छ । निर्माणको अन्तिम चरणमा रहेको नागढुङ्गा सुरूङ मार्गको दस्तुर मन्त्रिपरिषद्को बैठकले तोकेको हो । जसअनुसार कार/भ्यानहरू काठमाडौं आउँदा ६५ रुपियाँ र जाँदा ६० रुपैयाँ तोकिएको छ भने मिनी बस-ट्रक काठमाडौं आउँदा ११५ र बाहिर जाँदा ८० रूपैयाँ व्यवस्था गरिएको छ । त्यसैगरी बस र ट्रकको काठमाडौं आउँदा २६० रुपैयाँ तोकिएको छ भने बाहिर जाँदा २०० तोकिएको छ । त्यस्तै भारी उपकरणसहितका सवारी साधन काठमाडौं आउँदा ६०० र बाहिर जाँदा २५० रुपैयाँ तोकिएको छ । त्यस्तै सुरुङमार्गबाट मोटरसाइकल चलाउन भने नपाइने भएको छ । २.६ किमि लम्बाइको नागढुंगा सुरुङमार्गको कुल लागत २२ अर्ब रहेको छ, जसमा जापान सरकारको १६ अर्ब सहुलियतपूर्ण ऋण र नेपाल सरकारको ६ अर्ब रुपैयाँ लगानी रहेको छ ।

११- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. चन्दा कार्कीले संसदमा प्रधानमन्त्रीको भाषण सुनेर जनता दिग्भ्रमित भएको टिप्पणी गरेकी छन् । विहिबार प्रतिनिधि सभाको बैठकमा आफ्नो धारणा राख्दै डा. कार्कीले अदालतमा आफ्नै पार्टीका न्यायाधीश बनाउँछौं र निर्णय वफादारीमा हुन्छ भनेका प्रधानमन्त्री ओलीले अदालतको फैसलाको जिम्मा सरकारले लिन नसक्ने बताएको उल्लेख गर्दै यस्ता भाषण सुनेर जनता दिग्भ्रमित भएको टिप्पणी गरेकी हुन् । उनले हिजो संसदको रोस्ट्रममा उभिएर व्यक्तिगत तहमा उत्रिएर प्रधानमन्त्रीले कुण्ठाको पोको खोलेर गएको बताउदै संसद र प्रधानमन्त्री पदको गरिमाको समेत मानमर्दन भएको बताइन् । साथै उनले ३८ लाखभन्दा बढी नागरिकले हस्ताक्षर मार्फत आफ्नो प्रतिक्रिया दिइसकेको बताइन । सांसद कार्कीले प्रधानमन्त्रीले देशमा सुशासन छ भनेको तर मन्त्रीहरू निरन्तर भ्रष्टाचार र काण्डमा मुछिएका छन् भने पुराना काण्डहरू छिनोफानो नहुँदै नयाँ नयाँ - लिचीबारी काण्ड, विधेयक छेड़खानी, फर्जी कार्यक्रममा विदेश भ्रमण काण्ड हरु एक पछि अर्को—सार्वजनिक भइरहेको बताइन । 

१२- नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालसँग बिभिन्न वामपन्थी पार्टीका नेताहरुबीच छलफल भइरहेको छ । छलफलमा खनालसहित स्थायी कमिटी सदस्य साध्यबहादुर भण्डारी, केन्द्रीय सदस्य केदार सन्जेल र रामेश्वर श्रेष्ठ सहभागी भएका छन् भने अन्य वाम पार्टीको तर्फबाट अखिल नेपाल कम्युनिस्ट पार्टीका नेता नारायण शर्मा, अखिल नेपाल कम्युनिस्ट पार्टीका नेता लक्ष्मण उप्रेती, क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेता रामबहादुर बुढा, क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेता सन्तबहादुर नेपाली लगायतका वामपन्थी  नेताहरू सहभागी थिए ।

१३-  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाले आज पनि प्रतिनिधि सभाको बैठक बहिस्कार गरेका छन् । प्रतिनिधि सभाको बैठकमा रास्वपाका सांसद डा. चन्दा कार्की र राप्रपाका सांसद ध्रुब बहादुर प्रधानले आफ्नो धारणा राखेपछि आजको बैठक बहिष्कार गरेका हुन् । सांसद कार्कीले प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार प्रतिनिधि सभामा गरेको टिप्पणी आपत्तिजनक रहेको भन्दै आफुहरुको आन्दोलन जारी रहने बताएकी थिइन् ।  त्यस्तै राप्रपा सांसद प्रधानले छानबिन समिति गठन नगरेसम्म आफुहरुको आन्दोलन जारी रहने बताए ।  रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणमा आफुहरुको विरोध जारी रहेको बताउदै उनीहरुले छानबिनका लागि उच्चस्तरीय आयोग बनाउनुपर्ने माग राख्दै आएका छन् । दुवै दलले भिजिट भिसा प्रकरणमा गत जेठ १३ गतेदेखि नै संसदमा विरोध गर्दै आएका छन् ।

१४- नेपाल–भारत जोड्ने बनबासा पक्की पुलमा चारपांग्रे सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–११, गड्डाचौकीस्थित महाकाली नदीमा पानीको बहाव बढेपछि उक्त पुलमा चारपांग्रे सवारीको आवतजावत बन्द गरिएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले भनेको छ- बिहान १०:३०  बजेको  मापन  अनुसार महाकाली नदीमा  पानीको  बहाव  १,२६,००० क्युसेक  पुगेको  छ, पानीको बहाव बढदो क्रममा छ र चार पाङ्ग्रे सवारी साधन चलाउन रोक लगाइएको अवस्था छ ।

१५- प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जाने भएका छन् । सांघाई सहयोग संगठनको सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली भदौ १४ गते चीन जाने कार्यक्रम तय भएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री ओली भदौ १५ र १६ गते सांघाई सम्मेलन हुने कार्यक्रम तय भएको छ । यस सांघाई सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि सहभागी हुने कार्यक्रम रहेको छ । यस भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जीनपीङ र भारतीय प्रधानमन्त्री मोदीसँग पनि भेटवार्ता गर्ने बताइएको छ । प्रधानमन्त्री ओली चीनबाट फर्किएपछि भारत भ्रमणमा जाने कार्यक्रम यस अघि नै तय भएको छ ।

१६- यम शेर्पाको निर्देशनमा तयार भइरहेको फिल्म ‘मिरमिरे’को छायांकन सकिएको छ । ३५ दिनमा चलचित्रको छायांकन सकिएको हो । काभ्रेका विभिन्न स्थान र मकवानपुरको चित्लाङमा चलचित्रको छायांकन भएको हो । अब एउटा गीतको छायांकन गर्न बाँकी छ । 'अब एउटा गीतको छायांकन गर्न बाँकी छ । समय अनुकुल पारेर बाँकी एउटा गीत खिच्नेछौँ' निर्देशक शेर्पाले भने । फिल्म ‘मिरमिरे’ माघ १ गतेलाई रिलिज हुँदै छ । नायिका सिर्जना निङलेखुको जन्म दिनको अवसर पारेर केही दिनअगाडि निर्माणपक्षले रिलिज डेट घोषणा गरेको थियो । यार्सा फिल्म्सको प्रस्तुति रहेको फिल्मको मुख्य भूमिकामा दयाहाङ राई, प्रकाश सपूत र सिर्जना निङलेखु छन् । अन्य कलाकारमा माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटालगायत छन् । चलचित्रको बाल–कलाकारमा शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेल छन् ।

१७- दरमखोला हाइड्रो इनर्जीको आईपीओ बाँडफाँट गरिएको छ । बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलका अनुसार आज बिहान आईपीओ बाँडफाँट गरिएको हो । कम्पनीको आईपीओमा २ लाख ४२ हजार ३१८ जनाले १०-१० कित्ताका दरले शेयर हात पारेका छन् । जसमा सोहि मध्यका ५ जनाले भने थप १ कित्ता गरी ११ कित्ता शेयर हात पारेका छन् । कम्पनीको आइपीओमा २३ लाख ७२ हजार ९२६ जनाले कुल २ अर्ब ८२ करोड ५२ लाख १५ हजार बराबरको २ करोड ८२ लाख ५२ हजार १५० कित्ताका लागि आवेदन दिएका छन् । जुन यो मागभन्दा साढे ११ गुणा बढी हो । आवेदकमध्ये २१ लाख ३० हजार भन्दा बढीको हात खाली भएको छ ।

१८- नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार छापावाल सुन तोलाको एक सयले बढेर तोलाको एक लाख ९६ हजार ८ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको एक लाख ९६ हजार ७ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १५ रुपैयाँले बढेर २३४० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको २३२५ मा कारोबार भएको थियो ।

१९- नेपाली राष्ट्रिय क्रिकेट टिमले अस्ट्रेलियामा पाँच अभ्यास खेल खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपालले टप इन्ड टी-२० सिरिजपछि ५ अभ्यास खेल खेल्ने भएको जानकारी दिएको छ । नेपाली क्रिकेट टिमले आइसीसी टी-२० विश्वकप एसिया- इएपी छनौट को तयारीका लागि यी अभ्यास खेल खेल्न लागेको क्यानले बताएको छ । नेपाली टिमले अस्ट्रेलियामा क्रिकेट एसिटी र साउथ अस्ट्रेलियासँग अभ्यास खेल खेल्न लागेको हो । नेपाली टीमले क्रिकेट एसिटीसँग अगस्त २६ मा दुई टी-२० खेल्ने छ बहने साउथ अस्ट्रेलियासँग अगस्त २८ मा दुई टी-२० खेल्ने छ । त्यस्तै अगस्त ३० मा साउथ अस्ट्रेलियासँग एक एकदिवसीय खेल खेल्ने क्यानले जनाएको छ ।

२०- फ्रेन्च च्याम्पियन पिएसजीले युइएफए सुपर कपको उपाधि जितेको छ । गएराती सम्पन्न युइएफए सुपर कपको फाइनलमा पीएसजीले टोटनह्यामलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै उपाधि जितेको हो । पिएसजीले पेनाल्टी सुटआउटमा ४-३ गोल अन्तरले जित हासिल गरेको थियो । यस अघि पिएसजीले खेलमा शानदार कमब्याक गर्दै खेल २-२ गोलको बराबरी गरेको थियो । खेलमा २-० ले पछि परेको पीएसजीले खेलको ८५औ मिनेट र ९४औं मिनेटमा गोल गर्दै खेलमा कमब्याक गरेको थियो । पिएसजीका लागि ली कांग इन र गोन्कालो रामोसले एक एक गोल गरेका थिए । त्यस्तै टोटनह्यामका लागि मिकी भान डे भेन र क्रिस्टियन रोमेरोले एक एक गोल गरेका थिए । युइएफए सुपर लिग गत सिजनमा च्याम्पियन्स लिग र युरोपा लिग विजेता क्लबबीच खेल्ने गरिन्छ । यस अघि १९९६ मा उपविजेता बनेको पीएसजीले पहिलो पटक युइएफए सुपर कपको उपाधि जितेको छ ।

बिहीबार ३० साउन २०८२ ०८:०४ PM मा प्रकाशित

प्रतिक्रिया