×

कस्तो छ आजको मौसम पूर्वानुमान ?

images

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा पश्चिममा नेपालको तराई आसपास र पूर्वमा तराइभन्दा केही दक्षिणतिर रहेकोले आगामी २४ घण्टा मनसुन नेपालको पुर्वी भू-भाग भन्दा पश्चिम नेपालतर्फ बढी सक्रिय रहने जानकारी दिएको छ ।

हाल देशभर पुर्णतया बदली रहेको छ भने कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षा भईरहेको छ ।

आज दिउँसो देशभर साधारणतया बदली रहनेछ भने कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागका केही स्थानहरूमा र मधेश प्रदेश लगायत देशका बाँकी तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

महाशाखाले आगामी २४ घण्टा गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशको तराई, सुदूरपश्चिम प्रदेशको तराई र कर्णाली प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी देखि  धेरै भारी वर्षाको पनि सम्भावना रहेकोले भू-क्षय, बाढी, पहिरो तथा गेग्रान बहाव साथै, शहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जन-जीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र आसपासका निर्माण कार्य, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन हुन र पछिल्लो मौसमी सूचनाको जानकारी लिन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध गरको छ ।

 

बिहीबार ३० साउन २०८२ ०८:५५ AM मा प्रकाशित

प्रतिक्रिया