×

नेपाली भू–भाग डुबानमा पर्ने गरी सीमा क्षेत्रमा भौतिक संरचना नबनाउन भारतलाई आग्रह

images

नेपाली भू–भाग डुबानमा पर्ने गरी सीमा क्षेत्रमा भौतिक संरचना नबनाउन नेपाल सरकारले भारतलाई आग्रह गरेको छ । 

परराष्ट्र मन्त्रालयका लागि विनियोजित बजेटसँग सम्बन्धित रहेर संसदमा सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिँदै परराष्ट्रमन्त्री डा. नारायण खड्काले नेपालको सहमतिविना सीमा क्षेत्रमा बनिरहेका संरचनाको निर्माण कार्य तत्काल रोक्न आग्रह गरिएको बताउनुभयो । 

यस्तै मन्त्री खड्काले कालापानी, लिपुलेक, लिम्पियाधुरा क्षेत्रमा एक पक्षीय ढङ्गबाट गरिने निर्णय नेपाललाई मान्य नहुने पनि बताउनुभएको छ । साथै उहाँले महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीको सम्बन्धमा आवश्यक सबै पहल भइरहेको जानकारी दिनुभयो । गएको वर्ष साउनमा दार्चुलाको व्यास गाउँपालिका मालघाटमा महाकाली नदी पार गर्दा भारतीय एसएसबीका सुरक्षाकर्मीले तुइन काटिदिँदा धामी महाकाली नदीमा खसेर बेपत्ता हुनुभएको थियो ।

यस्तै परराष्ट्रमन्त्री खड्काले नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन बुझ्न नेपाल सरकार तयार रहेको बताउनुभएको छ । नेपाल–भारत बीचमा रहेका सन्धि तथा समझदारीको पुनरावलोकन एवम् द्विपक्षीय सम्बन्धका समग्र पक्षमा अध्ययन गरी सुझाव दिने गरी सन् २०१६ मा ईपीजी गठन भएको थियो । ईपिजीले प्रतिवेदन तयार पारिसकेको छ । तर भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बुझ्न समय नदिँदा यो प्रतिवेदन तयार भएर पनि सार्वजनिक हुन सकेको छैन । 

यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न अमेरिका भ्रमणलाई शङ्काका रूपमा नलिन पनि मन्त्री खड्काले आग्रह गर्नुभएको छ ।

मङ्गलबार ३१ जेठ २०७९ ०६:०२ PM मा प्रकाशित

प्रतिक्रिया